नेपालगन्ज : बाँकेका आठवटै स्थानीय तह बाढीको जोखिममा देखिएका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार अघिल्ला वर्ष बाढीको जोखिम नभएका गाउँपालिका पनि यस वर्ष उच्च जोखिममा परेका हुन ।
राप्तीसोनारी गाउँपालिकाका नौवटै वडा बाढीको उच्च जोखिममा रहेको केन्द्रले बताएको छ । राप्तीसोनारी गाउँपालिका–१, कुसुमअन्तर्गतका सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी, तितेनघारीलाई बाढीको उच्च जोखिम क्षेत्रमा राखिएकोे छ ।
गाउँपालिका दुईका बेलवास, राजपुर तल्लो बस्ती र गुरुवाखोला तथा राप्तीसोनारी गाउँपालिका–३ का शाहीपुर, नवलपुर, बैसा, गर्लावास, सिनावास र जंगपुर बाढीको उच्च जोखिममा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल बताउँछन् ।
राप्तीसोनारी गाउँपालिका–४, बैजापुरअन्तर्गत लालपुर, धामपुर, भगवानपुर, परसामपुर, माहुटोलको उत्तर बाटोको बस्ती पनि जोखिममा छन् । राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ का ललही, आलीनगर, गोरीधोई, रिहारडाँडा, बिनौनागाउँ, खल्लाटेपरी, गोडिनपुरवा, ढलैया, महिमानपुर, लक्ष्मीराजपुर, सिधनवा, गुलरी, खल्ला झगडिया, वसन्तपुर, भवानियापुर, पहाडीपुर, देउपुरा, पिप्रहवा, गेदवाभर्था उच्च जोखिममा छन् ।
त्यसैगरी, सोही वडाका सोनपुर, भरथा, मैलोहरनिया, कोरी सर्यापुर, लालपुर, ननकौपुर, सर्राका केही भाग, सिसलघारी, बालापुर, पेरानी (खल्लागाउँ), ओबरीको वनखेत र जिरो बजारपछाडि एवं रोडसँगैको बस्ती तथा ढकेरी, महादेवा, ढकेरी पनि बाढीको उच्च जोखिममा छन् । नेपालगन्ज उपमहानगरपालिका–२० का केही बस्ती पनि डुबानको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए ।
उनले डुडुवा खोलाले मनिकापुरको मदनापुरका बस्ती बाढीको जोखिममा रहेको बताए । उनका अनुसार खजुरा गाउँपालिकाका वडा नम्बर २, ५ र ६ का गिजरा, पुरैना, दशविघा, आठविघा, बाह्रविघा, शान्तिनगर, सल्यानीटोल, नयाँ गुँरासपुर, सताइसधुरी, गौघाट, मानकिनार र बर्मेलीटोल बाढीको उच्च जोखिममा छन् ।
डुडुवा गाउँपालिकाको वडा ६ बाहेक सबै वडाका अधिकांश बस्ती डुवानको उच्च जोखिममा भएको केन्द्रले तयार पारेको बाढी खतरा नक्सामा उल्लेख छ । डुडुवाका पिप्रहवा, कृषिचौफेरी, छोटीचौफेरी पाझा, खडैँचा, टेपरी, सन्तलिया, अमृतपूर्वा, भेलोरपूर्वा, दासपूर्वा, खालेपूर्वा, बाबागाउँ, कैरातीपूर्वा, कोहली, रमपूर्वा, कटैह्या, हल्कारापूर्वा, लोधपूर्वा र राजापूर्वा, खालेमसाहा, लालापूर्वा, खजुरागौडी, लडियाघाट, सिधनिया तल्लो बस्ती, लिबांगीटोल र शिवराजपुर बाढीको उच्च जोखिममा छन् ।
कोहलपुर नगरपालिकाका धेरै बस्ती बाढीको उच्च जोखिममा छन्। कोहलपुरको कालिकानगर, मुक्तकमैया बस्ती, चप्पारगौडी, बजार टोल बाढीको जोखिममा रहेको भनिए पनि नगरका अन्य क्षेत्र पनि डुबानमा परेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत बताउँछन् ।
बैजनाथ गाउँपालिकाको वडा १ बाहेक सबै बाढीको उच्च जोखिममा छन् । बैजनाथको मकैबारी, जबदह्वा, दक्षिण लढौरा, रामपुर, कलरामपुर, दाङपूर्वा, जनमतटोल, सिमलघारी, चिल्लेटा, छमनिया, कुसेडाँडा, निमनगर, रामपुर, बनखेत भज्जेगौडी र सिंहभवानी बाढीको जोखिममा छन् ।
जुम्लीटोल, गुरुवागाउँ, गरही, मौवाघारी, सम्झना बजार, प्रशुरामपुर, पलौटीपुर, पेडारी, गुरुदयालपुर, रिहारपुर, थपुवा, पिपरी झिँगौरा, फत्तेनगर, करेलीभाग्रा गाउँलाई बाढीको उच्च जोखिम क्षेत्रका रूपमा लिइएको छ ।
नरैनापुर गाउँपालिकाको मटेहिया, भगवानपुर, निवाजी गाउँ, सोनवर्षा, कुदरबेटवा, गंगापुर र भोजपुर पनि डुबानको उच्च जोखिममा रहेको केन्द्रले बताएको छ ।
नरैनापुर गाउँपालिकाका वडा नम्बर १ र ४ का बस्ती भारतले निर्माण गरेको बाँधरूपी सडकका कारण डुबानमा पर्ने सम्भावना छ ।
वडा नम्बर १ र ४ का बानीयागाउँ र महतनिया, नरैनापुर टोल र घोरदौरिया क्षेत्रलाई बाढीको उच्च जोखिम क्षेत्रमा राखिएको प्रमुख जिल्ला अधिकारी भुजेल बताउँछन् । भारतले बाँध बनाउनेक्रममा निर्माण गरेका पुल र कल्भर्टको प्वाल सानो बनाएको र आवश्यकताभन्दा थोरै कल्भर्ट निर्माण गरेका कारण सीमा क्षेत्रका गाउँ डुबानमा पर्ने गरेको प्रमुख जिल्ला अधिकारी भुजेलको भनाइ छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा