भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार

डेंगु विरुद्ध नेपालगन्जमा सचेतना कार्यक्रम गरिदैँ


भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार

नेपालगन्ज २४ भदौ : भेरी अस्पताल, नेपालगन्जले कोभिडका लागि छुट्याएको वार्डमा डेंगुलगायत बिरामी राखेको छ । कोभिडका बिरामी बढ्न थालेपछि अस्पतालले त्यसका लागि एउटा छुट्टै वार्ड छुट्याएको थियो । अहिले आएर कोभिडको भन्दा डेंगुलगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको हो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट (मेसु) डाक्टर बद्रीचापागाईले अस्पतालमा डेंगुलगायतका बिरामीलाई राख्ने ठाउँ नभएपछि कोभिडका लागि छुट्याइएको वार्डमा राखिएको जानकारी दिए ।

‘यो बिरामी बढ्ने सिजन हो । भेरीमा बिरामी बढेर राख्ने ठाउँ छैन,’ मेसु डाक्टर चापागाईले भने, ‘कतै राख्ने ठाउँ नभएपछि कोभिडका लागि छुट्याइएको वार्ड खोल्यौं । चार घण्टामै २२ बेड भरिए ।’ भेरी अस्पतालमा १ सय ५० बेड छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेञ्च, कुर्सीमा बिरामी बसेका छन् ।

देशभर डेंगुका बिरामी बढेका छन् । लुम्बिनीमा ९ सय ३३ जना संक्रमित रहेको चिकित्सकले बताएका छन् । डाक्टर राजन पाण्डेले सन् २००४ मा एक जना डेंगुको बिरामी फेला परेको नेपालमा २०१९ देखि ह्वात्तै बढेको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

डाक्टर पाण्डेका अनुसार, डेंगुका ९० प्रतिशत बिरामीमा लक्षण देखिँदैन । लक्षण देखिए पनि ९९ प्रतिशत गम्भीर हुँदैनन् । एक प्रतिशत बिरामी गम्भीर हुन्छन् । त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ ।

अस्पतालमा डेंगुलगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन् ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिकाले डेंगु संक्रमणविरुद्ध जनचेतना जगाउँदै सप्ताहव्यापी सरसफाइ कार्यक्रम गर्ने भएको छ ।

उपमहानगरपालिकाको आयोजनामा शुक्रबार भएको डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाबीचको बैठकमा उपमेयर कमरुद्दिन राईले माइकिङ, पम्प्लेटिङ र सप्ताहव्यापी सरसफाइ कार्यक्रम सञ्चालन गर्ने बताए ।

डेंगुबाट बच्ने उत्तम उपाय नै लामखुट्टेबाट बच्नुपर्ने भएकाले सोबारे नगरवासीलाई जानकारी दिँदै सबै वडामा माइकिङ, पम्प्लेटिङ र सप्ताहव्यापी सरसफाइ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

‘डेंगुबाट बच्ने उपाय लेखिएका पम्प्लेट घरघरमा पु¥याउँछौं, त्यो पढेर जनता सचेत हुन्छन्,’ उपमेयर राईले भने, उपमहानगरपालिकाले सबैको घरघरमा सरसफाइ गर्न सक्दैन । सार्वजनिक स्थलमा सरसफाइ अभियान चलाउँछौँ ।’

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको उपस्थिति रहेको कार्यक्रममा भेरी अस्पतालका मेसु डाक्टर बद्री चापागाई, डाक्टर राजन पाण्डे, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेल, उपनगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दलगायतले जनचेतना जगाउने, घरवरिपरि सफा राख्न सक्दा डेंगुबाट बच्न सकिने बताए ।

कार्यक्रममा डाक्टर पाण्डे, स्वास्थ्य कार्यालयका दुर्गा गौतमले डेंगुबारे जानकारी दिएका थिए । नेपालगन्जका ५ जनामा डेंगु देखिएको छ । जसमध्ये एक जनाको ट्राभल हिस्ट्री पाइएको छैन । अर्थात नेपालगन्जमै भएको अवस्थामा उनलाई डेंगु पुष्टि भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ४ बसपार्क स्थित ५३ वर्षिय ती पुरुषमा डेंगु देखिएको हो । यसअघि भेरी अस्पताल नेपालगन्जमा उपचाररत १२ वर्षिया बालिका सहित २ जनाको डेंगुबाट मृत्यु भएको थियो । मृत्यु हुने दुबै जना बर्दिया र कैलालीका हुन् ।

थप समाचार

डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो

नेपालगन्जका ५ जनासहित बाँकेमा ११ जनामा डेंगु पुष्टि

नेपालगन्ज बसपार्क क्षेत्रका एकजनामा डेंगु देखियो

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?