सीमामा उपभोक्तालाई सचेतना, पारी जाने बानी छुट्ला त ?


सीमामा उपभोक्तालाई सचेतना, पारी जाने बानी छुट्ला त ?

नेपालगन्ज ८ असोजः नेपालगन्ज उद्योग वाणिज्य संघले शनिबार बिहान जमुनाहा नाकामा स्वदेशमै सामान किनमेल गर्न आग्रह गर्दै उपभोक्तामा सचेतना फैलाए । नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा, बहराईचमा अत्यधिक मात्रामा किनमेल गर्न जादाँ स्वदेशी ब्यापार धरासायी बनेको भन्दै संघले सीमामै पुगेर उपभोक्तालाई जागरुक अनि सचेतना फैलाउने काम ग¥यो ।

नेपालबाट भारतीय बजार जादैँ गरेका उपभोक्ता र भारतबाट किनमेल गरेर फर्किने उपभोक्तालाई संघ आबद्ध यहाँका उद्योगी, ब्यवसायीले स्वदेशमै सामान किनमेल गर्न आग्रह गरेका थिए ।

नेपालगन्जमै सुपथ मूल्यमा गुणस्तरीय सामान पाइने, स्वदेशमै कमाएर स्वदेशमै खर्च गर्नुपर्ने, सीमावारीको बजार प्रवद्र्धन गर्नुपर्ने जस्ता प्लेकार्ड पनि उनीहरुले बोकेर उपभोक्तलाई सचेत गराइरहेका थिए ।

व्यापारीले सामान खरिद गर्न सीमापारी रुपैडिहा जान थालेका नेपालीलाई सस्तोको नाममा भारतमा खरिद गर्दा धोका हुने बताएका थिए । उनीहरूले सीमापारी सस्तो पाइन्छ की भन्ने भ्रममा नपर्न आग्रह पनि गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमावारी नै बजार प्रवर्द्धन गर्नका लागि स्वदेशमै खर्च गरेर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु आग्रह गरे । संघका महासचिव चिरञ्जिवी ओलीले सस्तोको नाममा रुपैडिहा पुगेका व्यापारी ठगिने गरेको बताउँदै स्वदेशमै खरिद विक्री गर्न आग्रह गरेका थिए ।

यसरी उनीहरुले आग्रह गर्दा नेपालबाट भारतको रुपैडिहा जाने र भारतबाट नेपाल आउने नेपाली उपभोक्तामा खासै प्रभाव परेन् । उपभोक्ता सचेतना फैलाइरहेका नेपाली उद्योगी ब्यापारिको फगतको प्रयासका अगाडी उपभोक्ताहरुले कुनै प्रतिक्रिया नदिएर नेपालबाट भारत(रुपैडिहा) तर्फ निर्वाधरुपमा गइरहे ।

नेपाली उपभोक्तालाई स्वदेशमै किनमेल गर्न सुझाएको यो घटना नयाँ थिएन । यसअघि पनि नेपालगन्ज उद्योग वाणिज्य संघले उपभोक्तामा सचेतना फैलाउन पटक–पटक प्रयास नगरेको भने होइन । उपोभक्ता सचेतनाका लागि विभिन्न प्रचारप्रसार, होर्डिङ बोर्ड तथा उपभोक्ता लोभ्याउनकै लागि सुपथ मूल्यको पसल खोलिए । तर, समस्या उही, अवस्था उही । यता(नेपालगन्ज)को ब्यापार ब्यवसाय सुकेको सुकै, उता(रुपैडिहा)को ब्यापार ब्यवसायलाई भ्याइ नभ्याई ।

केही वर्षअघि नेपालगन्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने उर्दी गरेपछि बीचमा केही समय रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो । तर, यो निर्णय दीर्घकालीन हुन नसक्दा रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको छ ।

भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगन्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ । नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन ।

भन्सार नतिरेरैै व्यक्तिगत उपभोक्ताले दिनहुँजसो रुपैडिहा बजारबाट चामल, दाल, चिनी, तेल, लुगाकपडा, विद्युतीय लगायतका सामग्री ल्याउने गरेका छन् ।

उपभोक्ताले दिनहुँ रुपैडिहा बजारबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरेरै ल्याउने गरेका छन् । यही कुराले नेपालगन्जमा व्यापारीलाई सधैँ चिमोट्ने गर्छ । भन्सार तिर्न नपरेपछि रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाँका व्यापारीका लागि थेगी नसक्नु छ भने नेपालगन्जका व्यापारी पसलमा ग्राहक पर्खी बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ ।

अझ चाडपर्व, बिहे, व्रतबन्धको समयमा त रुपैडिहा बजारका पसलमा नेपाली ग्राहकलाई खुट्टा राख्ने ठाउँ नै हुँदैन । हामी यतिबेला दशैंको मुखमा छौं । नेपालगन्जको ब्यापार ब्यवसाय सुकेकोछ । तर, भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको घुइँचो नै लागेकोछ । त्यसैले नेपाली उपभोक्तालाई ध्यानमा राखेर नै रुपैडिहामा सपिङ मल, सपिङ मार्टलगायतका ठूलाठूला पसल खुलिसकेका छन् ।

‘हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ तोड्न धेरै प्रयत्न ग¥यौं, तर सफल भने हुन सकेका छैनौँ,’ नेपालगन्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष नन्दलाल वैश्य बताउँछन् ।

भारतीय बजारबाट उपभोक्ताले ल्याउने सामानमा नेपालगन्ज भन्सार कार्यालयले कडाइ नर्दा पनि उपभोक्ताको रोजाइमा भारतीय बजार परेको उनको भनाइ छ । उनी भन्छन्–‘कमाई गर्छौं नेपालमा, खर्च गर्न विदेश जान्छौं । कसरी देशको आर्थिक उन्नती हुन्छ । नेपालमै कमाइ गरेपछि स्वदेशमै खर्च गर्नु प¥यो नी । यस्तो गर्नु उपभोक्ताको कर्तब्य पनि त हो ।’

प्रायः सबै उपभोक्ता भन्छन्, ‘नेपालगन्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भन्सार पनि तिर्नुपर्दैन ।’

घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोड बढीको कारोवार हुने नेपालगन्ज उद्योग वाणिज्य सङ्घको प्रारम्भिक तथ्याङ्क छ ।

अझ चाडपर्वका बेला त यो सङ्ख्या र रकम दोब्बर हुने अनुमान सङ्घले गरेको छ । नेपालगन्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसको दिमागमा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग वाणिज्य सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेकै कारण सीमापारि जानेको भीड कम हुनै सक्दैन ।

कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीबीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्न गरिरहेकै बेला नेपाल राष्ट्र बैंकले एकपछि अर्को प्रावधानहरू ल्याएर उद्योग व्यापार क्षेत्रमा त्रास नै सिर्जना गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले बताए ।

संघका अध्यक्ष मन्सुरीले ऋण लिएका ब्यवसायीको अवस्था दयनीय बनेको बताए । उनले भने, ‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ ।’

चाडबाडको समयमा समेत नेपालगन्ज बजार सुनसान रहेका कारण अहिले ८० प्रतिशतले ब्यापार घटेको अध्यक्ष अन्सुरीले बताए । बैंकले कारोबारको २०–२५ प्रतिशत लगानी गर्दा नेपालगन्जको ब्यापार, ब्यवसाय धरासायी भएको उनले जिकिर गरे ।

ब्यापार, ब्यवसाय नभएर मर्कामा परेको बेला नेपाल राष्ट्र बैंकले लगानी गरेको छैन । उनले भने –‘ब्याज तिर्न नसकेर धितो राखेको जग्गा, जमिन र घर लिलाम हुने अवस्था छ, राष्ट्र बैंकको नीतिका कारण ब्यापारीलाई मर्नु न बाच्नु बनाएको छ ।’

बैंकले लगानी र ब्याजदर बढाएर उद्योगी, ब्यवसायी मर्कामा परेको बेला नेपालगन्ज भन्सारले अवैध तस्करी रोक्न नसक्दा नेपालगन्जको ब्यापार झनै धरासायी भएको संघका महासचिव ओलीको टिप्पणी छ ।

घरायसी सामान ल्याउने नाममा दैनिक करोडौँको सामान भित्रिने गरेको दावी गर्दै महासचिव ओलीले १०–२० हजार रुपैयाँ बराबरका सामान पनि शुल्क नलिएर छोड्ने गरेको आरोप लगाए । उनले भने –‘यसले एकातिर राजस्व घाटा भइरहेको छ भने अर्कोतर्फ नेपालगन्जको ब्यापार, ब्यवसायलाई प्रत्यक्ष असर पारेको छ ।’

यही असोज १ गतेदेखि लागु हुने गरि बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने भन्दै संघले बिहीबार मात्र आन्दोलन घोषणा गरेको थियो ।

संघको अगुवाईमा यसअघि शुक्रबार बिहान १० बजे चर्को ब्याजदर विरुद्ध नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी धर्नासहित ज्ञापन पत्र बुझाएका थिए । उद्योगी, ब्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।

यसैबीच, नेपालगन्ज उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर रोक्न संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ज्ञापन पत्र बुझाएको छ ।

अर्थमन्त्री शर्मालाई संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेतृत्वको टोलीले शनिबार नेपालगन्जमा ज्ञापन पत्र बुझाएका हुन् ।

प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाको उपस्थितिमा संघमा महासचिव चिरञ्जीवी ओली प्रवक्ता टंक धामी, बरिष्ठ सदस्य वसन्त लामिछाने, सदस्यद्वय टंकप्रसाद शर्मा र श्याम सुन्दर अधिकारीले अर्थमन्त्री ‘प्रभाकर’सँग भेट गरेका थिए ।

अर्थमन्त्री ‘प्रभाकर’ले ब्याजदर पुनरावलोकनका सम्बन्धमा आईतबार छलफल गर्ने बताएका थिए । उनले भने, ‘मलाई धनगढीका साथीहरुले पनि व्याजदर बढेर व्यवसायी मारमा परे भनेका थिए । मैले तपाईहरुको समस्या बुझेको छु । यस विषयमा निकास दिन भोलि(आईतबार) नै काठमाडौंमा बैठक डाकेको छु । पक्कै केही सकारात्मक कुरा हुनेछ ।’

थप समाचार

राष्ट्र बैंक विरुद्ध नेपालगन्जका ब्यवसायी आन्दोलित

राष्ट्र बैंक विरुद्ध उत्रिए नेपालगन्जका उद्योगी–व्यवसायी