‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट

नेपालगन्ज म्याराथनमा धारा तेल र शिखर प्लाईको निरन्तरता


‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट

नेपालगन्ज २१ कार्तिक : नेपालन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफु प्रतिबद्ध रहेको बताएका छन् । नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुशी र गौरवको अनुभुति भएको बताउँदै प्रमुख बिष्टले नेपालगन्ज म्याराथन सहरको परिचय भएको हुँदा यसलाई अन्तर्राष्ट्रियकरण गर्न उपमहानगरपालिकाले अभिभावकत्व लिन तयार रहेको बताए ।

‘आर्थिक, नैतिक र प्राविधिक हरेक पक्षमा साझेदारी गर्न उपमहानगरपालिका तयार छ ।’ प्रमुख बिष्टले भने–‘म्याराथनलाई सामान्य दौडका रुपमा मात्र लिएको थिएँ, तर यसको दायरा निकै फराकिलो रहेछ, सम्भावना रहेछ, हामी हरेक पाटोमा साझेदारी गर्न तयार छौं ।’

केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले टाइटल स्पोन्सरका रुपमा धारा तेलको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताए । ‘हामीले उत्पादनको बजारी प्रवद्र्धनका कारण मात्र जोडिएका छैनौं, आयोजकले स्तरोन्नति गर्दै गएको हुँदा हरेक सुखदुखमा साथमा रहेका छौं ।’ सिइओ छाजेडले भने–‘नेपालगन्ज म्याराथनको सहयात्रा निरन्तर दिने सोंचमा छौं ।’

सहप्रायोजक शिखर प्लाईका प्रबन्ध निर्देशक चम्पालाल बोथराले धारा नेपालगन्ज म्याराथनको चर्चाले नेपालगन्जको प्रतिष्ठा बढेको अनुभुति हुने भएकाले आफुले सहयात्रालाई निरन्तरता दिइरहेको चर्चा गरे । शिखर प्लाई आजैदेखि वैदेशिक निर्यात हुँदै गरेकोमा खुशी हुँदै उनले भने–‘मेरो २६ बर्षदेखि सपना आज पुरा भएको छ, नेपाली उत्पादन निर्यात गर्दै छौं । धारा नेपालगन्ज म्याराथन पनि हरेक बर्ष स्तरोन्नति भइरहेको छ । यसमा गौरव छ ।’

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

पत्रकार भेटघाटमा उपमहानगरपालिका प्रमुख बिष्ट, धाराका सिइओ छाजेड, शिखर प्लाईका प्रबन्धनिर्देशक बोथरा र नेपालगन्ज म्याराथन संस्थापक/अध्यक्ष टीएस ठकुरीले टिसर्ट सार्वजनिक गरे । आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिवार हुनेछ । हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

यसबर्ष बिभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि संसारका प्रतिष्ठित म्याराथनमा भाग लिन नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहने आयोजकले जनाएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ ।

होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका लगायत जिल्लाका स्थानीय तहहरु, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।

थप समाचार

एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा

नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

आठौं नेपालगन्ज म्याराथनको तयारी शुरु

दौडको महाकुम्भः नेपालगन्ज म्याराथन