नेपालगन्ज : विगत ६ महिनादेखि बेपत्ता दुई बालकको भारत देहरादुनबाट उद्धार गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मदनापुरका दुई बालक साउनमा रुपैडिया हुँदै सिम्ला पुगेर जोखिमपूर्ण काममा संलग्न रहेका थिए ।
पत्थर फोड्ने काममा संलग्न १४ वर्षिय निशान्त गिरी र १५ वर्षिय कालु विकलाई शान्ति पुनसर््थापना गृह कपिलवस्तु शाखामार्फत देहरादुनबाट उद्धार गरि परिवारको जिम्मा लगाइएको छ । पत्थर फोड्ने काममा संलग्न उनीहरुलाई त्यहाँको राजकीय बाल गृह हरिद्वारले उद्धार गरि राखेको थियो । शान्ति पुनसर््थापना गृहका प्रतिनिधी भूमिराज भट्टराई नेतृत्वको टोलीले बाल कल्याण समिति देहरादुनको समन्वयमा ती बालकलाई उद्धार गरि नेपाल ल्याएको हो ।
उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीको रोहवरमा गीरीलाई आमा कालि गीरी र विकलाई हजुर आमा मनकला सार्कीले बुझेर लिएका हुन् । वडा अध्यक्ष कार्कीले आफना बालबालिकाले के कस्तो गतिविधी गरिरहेका छन् भन्ने हेक्का प्रत्येक अभिभावकले राख्नु पर्ने बताएका छन् । उद्धारकर्ता भट्टराईले सो क्षेत्रमा अन्य नेपाली बालकहरु समेत रहेको तर तिनको विस्तृत विवरण नभएका कारण समस्या भएको बताएका छन् ।