प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन...।’


दुईसाता पहिले प्रधानमन्त्री बालेन शाहले लगभग राति ११ बजेतिर आफ्नो व्यक्तिगत फेकबुक वालमा ‘एक्लो’ भावको एउटा सन्देश लेखेका थिए। 

उसै पनि प्रधानमन्त्री धेरै बोल्दैनन्। भाषण गर्दैनन्। कसैको कुरा पनि सुन्दैनन्। धेरैलाई भेट्दा पनि भेट्दैनन्। केही बोले पनि त्यो लामो समयसम्म चर्चाको विषय बनिदिन्छ। प्रधानमन्त्री भएको यो करिब पाँच महिनाकाबीच उनि एकपटक संसदमा गएर बोलेका छन् अनि एकपटक ‘राष्ट्रका नाममा’ सम्बोधन गरेका छन्। त्यो पनि आफ्नै निजी फेसबुक एकान्टबाट। तथापि उनका यी दुबै भनाईहरू उत्तिकै आलोचित भए। 

संसदमा बोल्दा ९त्यो बेला उनि सांसदहरूले गरेका प्रश्नहरूको जवाफ दिँदै थिए० उनले ‘नेपालले पनि त भारतको सिमाना मिचेको छ‘’ भन्ने अभिव्यक्ति दिए। त्यो नेपालमात्रै होइन छिमेकी भारतमा पनि उत्तिकै चर्चाको विषय बन्यो। त्यो राजनीतिकमात्रै थिएन बरु बर्षौंदेखिको नेपाल(भारतबीच नटुङ्गिएको एउटा विवाद र निकै महत्वपूर्ण कुटनीतिक अभिव्यक्ति पनि थियो। 

कुटनीतिकरुपमा यो ‘अपरिपक्वता’लाई उनिमात्रै होइन, उनका मन्त्रिहरू, स्वंय पार्टी सभापति र रास्वपाका समर्थकहरूले समेत पटक पटक बचाउ गर्दै स्पस्टीकरण दिए। त्यतिमात्रै होइन। सांसदहरूले उसै त प्रधानमन्त्रीलाई संसदमा खोजिरहेका थिए। उनि संसद जान त गए र आउँछु भनेर जानकारी नै दिएनन्। त्यो निकै आकष्मिक र ‘आश्चर्यजनक’ थियो। अर्थात् उनको संसद प्रस्थान यति आकष्मिक भयो कि सभामुखलाई समेत थाहै नभइ उनि अचानक संसदमा देखिएपछि प्रश्न सोध्ने भनेर त्यसअघि चर्को स्वरले बोल्ने सांसदहरूले समेत आफ्नो प्रश्नहरू बिर्सिए। त्यसमा पनि उनि आलोचित भए। लामो समयसम्म पार्टी सभापति रवी लामिछानेले उनको त्यस्तो हर्कतको बचाउको लागि धेरै हदसम्म कोसिस गर्नुपर्‍यो। 

त्यसपछिका दिनमा उनि संसदमा झुल्किएका छैनन्। अहिले पनि प्रतिपक्षका सांसदहरूले विभिन्न प्रश्नहरू गर्दै प्रधानमन्त्रीको जवाफ खोजिरहेका छन्। त्यसबीचमा सभामुख डोलप्रसाद अर्यालले पटक पटक प्रधानमन्त्रीलाई भेटेर त्यसबारे कुरा पनि गरेका थिए। तर केही उपाय नलागेपछि भदौ १ गतेको बैठकमा सभामुख अर्यालले मिति नै तोकेर भदौ १० गते संसदमा आउन र सांसदहरूले सोधेका सवालका जवाफ दिन ‘रुलिङ’ नै गरे। सामान्य संसदीय परम्पराअनुसार सांसदहरूले खोजेपछि प्रधानमन्त्री संसदमा आउनुपर्छ। र उनिहरूको सवालको जवाफ दिनुपर्छ। त्यसमा सभामुखले रुलिङ गरिरहनुपर्दैन। तर नेपाली संसदीय परम्पराको इतिहासमा यस्तो पहिलोपटक भयो जब सभामुखले नै आफै मिति तोकेर प्रधानमन्त्रीलाई संसद आउनका लागि ‘निर्देशन’ जारी गर्नुपर्‍यो। 

त्यसअघि पनि उनले त्यस्ता धेरै हर्कतहरू देखाइसकेका छन्। जसलाई निरन्तररुपमा पार्टी सभापति रवी लामिछानेले बचाउ गर्दै आएका छन्। त्यही कारण प्रतिपक्षीहरूले लामो समयसम्म संसद अवरोध गरिरहे। अन्तिममा केही उपाय नलागेपछि सभापति लामिछानेले पटक पटक सर्वदलीय छलफल बोलाएर समस्या समाधान गर्नतर्फ अग्रसर भए। 
कसैलाई सित्तिमित्ति भेट्नै नमान्ने प्रधानमन्त्री बालेनसँग पार्टी सभापति लामिछानेको पनि बिरलै भेट हुन्छ। केही दिनअघि तराईमा सांप्रदायिक दंगा भएको कैयौ दिनसम्म प्रधानमन्त्रीमात्रै होइन सरकारसमेत आधिकारिकरुपमा केही बोलेन। चौथो दिनपछि बालेनले गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा महेता र मधेसको प्रतिनिधित्व गर्ने केही सांसदहरूलाई मधेसका जिल्ला पठाए। अनि आफूले राति अबेर ‘राष्ट्रका नाममा सम्बोधन’ गरे। त्यो पनि सरकारी मिडियाहरूलाई लत्याउँदै उनले आफ्नै निजी सामाजिक सञ्जालबाट ‘लाइभ’ गरे। त्यतिञ्जेल पार्टी सभापति लामिछानेले दुई पटक सर्वदलीय बैठक बोलाइसकेका थिए।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री बालेनले ‘नबोलौं भन्छु बोल्नुपर्ने भइहाल्छ‘’ भन्दै आफूले छोटो मन्तब्य दिएका थिए। उनले त्यो बेला आफ्नो सरकारलाई ‘एक्सप्रेस वेमा दौडिएको भन्दै गन्तब्यमा पुगेरमात्रै ब्रेक लाग्ने’ बताएका थिए। 

त्यहिँ रवी लामिछानेले राजनीतिक कोर्टमा ‘आफ्नो खुट्टामा बल आए पनि त्यो पास गरिदिने’ अभिव्यक्ति दिएका थिए। त्यो बेलासम्म रवी र बालेनबीचको सम्बन्ध अनि त्यसको दूरी नाप्दै भइरहेका टिकाटिप्पणीहरूलाई मत्थर पार्ने हिसाबले रवीले कुनै कारण आफूले सरकार सम्हाल्ने स्थिति आइहाले पनि पाँच वर्षसम्म फेरि बालेनलाई नै त्यो मौका दिने अर्थमा त्यसो भनेका थिए। त्यही महाधिवेशनबाट बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको बरिष्ठ नेतामा कायमै रहे। उनि पार्टीको संसदीय दलको नेताको हैसियतमा पनि छन्। 

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संसदहरूको संसदीय दलको बैठक बोलाएको थियो। उसो त संसदीय दलको नेताले नै संसदीय दलको बैठक बोलाउने नेपाली राजनीतिक परम्परा छ। तर अहिलेसम्म बालेन न संसदीय दल छिरेका छन् न त्यो जिम्मेवारीको एक अंश पनि उनले निभाएका छन्। त्यो सब पार्टी सभापति आफैले गर्दै आएका छन्। 

यहाँसम्म कि बालेनले आधारातमा लेखेका हरेक शब्दहरूको जवाफसमेत पार्टी सभापतिले नै दिनुपरिरहेको हुन्छ। अर्थात् बालेनका हरेक क्रियाकलाप र सरकारका बारेमा प्रधानमन्त्री आफूले होइन बरु पार्टी सभापति, सांसद र पार्टीका नेताहरूले आफ्नै तरिकाले दिनुपरिरहेको छ। 

बुधबार संसदीय दलको बैठकपछि सभापति लामिछानेलाई पत्रकारहरूले सरकार र प्रधानमन्त्रीका बारेमा विभिन्न जिज्ञासाहरू राखेका थिए। त्यसमा सकेसम्म रवीले जवाफ दिने कोसिस गरे। सभापति लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताए। 

 ‘आज यो हाम्रो छलफल हो, संसदीय दलको बैठक होइन। राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कुनै न कुनै विषयमा कसैको कुरा बोल्दा चिप्लिन सक्ला। धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ। त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ, त्यस्तो केही छैन।’
लामिछानेले संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र छलफल गरिएको बताए। संसदमा प्रस्तुत हुने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले पार्टीभित्र समीक्षा आवश्यक भएको उनको भनाइ थियो।

उनका अनुसार सरकार, मन्त्रालय र मन्त्रीहरूका विषयमा पार्टी पंक्तिभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्नेबारे पनि आन्तरिक छलफल गरिएको थियो।

‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ। त्यसअर्थमा संसदमा मर्यादित ढंगले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषय हुनेलगायत सबै कुरामा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्यौं ,’ उनले भने।

यसैगरी प्रधानमन्त्री बालेन शाहसँग सम्बन्ध विग्रीएको चर्चालाई उनले खण्डन गरे। प्रधानमन्त्रीले एक्लै लडिरहेको भनेर लेखेको स्टाटसबारे पनि पत्रकारले सोधेका थिए। लामिछानेले त्यस स्टाटसमा प्रधानमन्त्रीको कवि भावना पोखिएको टिप्पणी गरे।

उनले भने,‘दुईजनाबीच झगडा पर्‍यो भनेर लेख्नुहुन्छ हामीलाई रमाइलो लाग्छ। तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ। त्यसैले समाचार लेख्न नरोक्नुहोला, प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो। यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन। यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छरु’