आईतबार, मंसिर १८, २०७९   ०४:०१:०५

मतदाता शिक्षा गाउँघरसम्म पुगेन


नेपालगन्ज १ मंसिर : बाँकेको जानकी गाउँपालिका, ईन्द्रपुरकी केतकी कुसबन्ध्यालाई बाटोमा राजनैतिक दलको चुनावी प्रचार देखेर निर्वाचन नजिकिएछ भन्ने लागेको छ । तर, अहिलेको निर्वाचनमा मतदान गर्दा कति ठाउँमा छाप लगाउने भन्ने बारे उनलाई थाहा छैन । उनीसँग न मोबाईल छ, न त घरमा रेडियो टेलीभिजन नै । सँधै भान्साको काम सकेर सिलौटा ‘खोप्ने’ कामको खोजीमा घर–घर हिँडछिन् ।

मतदान गर्ने तरिका राम्रोसँग कसैले नसिकाएको उनले गुनासो गरिन् । बाँकेको डुडुवा गाउँपालिका –६ की सिमा माहुत पनि मतदान कसरी गर्ने भन्ने बारे अलमलिएकी छिन् । फरक दलका उम्मेद्वारहरुले चारवटा मत पत्रमा फरक–फरक चिन्हमा छाप लगाउन सिकाउँदा आफु अलमलमा परेको उनले बताईन् ।

उनले भनिन्– ‘बैशाखमा भएको निर्वाचनमा त एउटै मतपत्रमा, एउटै चुनाव चिन्हमा सात ठाउँ छाप लगाएको थिएँ, अहिले चारवटा मत पत्रमा फरक फरक चिन्हमा छाप लगाउने भन्छन्, बुझ्नै गाह्रो भयो ।’ गाउँपालिकामा नमुना मतदान भएको बारे थाहा पाएको तर, आफु जस्ता महिलाहरु सहभागी नभएको उनले बताइन् ।

मतदाता शिक्षा दिन निर्वाचन आयोगले देशभरीका वडास्तरमा महिला स्वाथ्य स्वयंस्ेविकालाई खटाएको जनाएको छ । तर, उनीहरु सबै घरमा पुग्न सकेका छैनन । बाँकेको राप्तीसोनारी, नवलपुरकी महिला वाथ्य स्वयंसेविका सीता चौधरीलाई पनि अहिले मतदाता शिक्षा दिन भ्याई नभ्याई छ । उनी आफ्नो वडामा एक्कलै खटिएकी छिन् । उनको वडामा हाल १३४७ घर छन् ।

जिल्ला निर्वाचन कार्यालयले गाउँटोलमा केही मानिस जम्मा गरेर पर्चा पम्पलेट देखाउने, नमुना मत पत्र देखाएर मतदान गर्न सिकाउने भनेपनि त्यो सम्भव नरहेको उनी बताउँछिन् । निर्वाचन नजिकिएपनि गाउँघरमा सबैजना धान थन्क्याउने काममा ब्यस्त छन् । उनी भनिछन्,– ‘घर दैलोमा जाँदा बृद्ध बृद्धा मात्र भेटिन्छन्, मतदान गर्दा गर्दा बुढो भईसक्यौं हामीलाई अब सिकाउनु पर्दैन भनेर उनीहरु सिक्नै चाहँदैनन् ।’

कतिपयलाई खेत बारीमै गएर मतदाता शिक्षा दिने गरेको उनले बताइन । अझै दुईवटा ठूला गाउँमा मतदाता शिक्षा दिन बाँकी रहेको सीताले बताईन् । उनी जस्तै अन्य वडाहरुमा पनि एक–एक जना मात्र महिला स्वाथ्य स्वयंसेविका खटिएकाछन् । एउटा वडामा एक हजार भन्दा माथि घर रहेकाले १५ दिनमा एक जना सबै घरमा पुग्न नभ्याउने सीता बताउँछिन् ।

निर्वाचन आयोगले देशका ७५३ वटै पालिकाहरुमा नमुना मतदान गराईसकेको जनाएको छ । तर, नमूना मतदानमा पालिका प्रमुख वा जानेबुझेका मात्रै सहभागी भए । नमुना मतदानमा धेरैले स्थानीय तहको निर्वाचन जस्तै एउटै मत पत्रमा ७ ठाउँमा छाप लगाएको पाईएको निर्वाचन कार्यालयका प्रमुखहरुको भनाई छ । मतदाता शिक्षा दिनु अघि बाँकेका आठ वटै स्थानीय तहमा गरिएको नमुना मतदानमा देखिएको बदर मतका आधारमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तको भनाई छ । ‘अहिले मतदाता स्वयंसेवक शिक्षकले सबैलाई सही तरिकाले मतदान गर्न सिकाईसकेका छन्, त्यो गल्ती मतदाताबाट देहरिँदैन ।’ जिल्ला देखि पालिकासम्म मतदाता शिक्षा संयन्त्र रहेको जानकारी दिँदै पन्तले यस निर्वाचनमा बदर मतको संख्या घटाउने प्रयास गरिरहेको बताईन् ।

मतदाता शिक्षाको अभ्यास

नेपालमा निर्वाचन हुन थालेको साढे ६ दशक भए पनि मतदाता शिक्षा कार्यक्रम २०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनको बेला शुरु भएको हो । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा भन्दा नगरपालिकामा धेरै मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा औसत १४ प्रतिशत, नगरपालिकामा १५ प्रतिशत, उपमहानगरपालिकामा २० प्रतिशत र महानगरपालिकामा २४ प्रतिशत मत बदर भएका थिए ।

ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा बढी मत बदर भएको भन्ने बारे मतदाता शिक्षा नपुगेर वा अन्य कारणले हो भनेर खोजीको विषय बनेको आयोगका प्रवक्ता पोडेलले बताए । स्थानीय तहको निर्वाचनमा मत पत्र अत्यन्त ठूलो र झन्झटिलो भएकाले बढी मत बदर भएको बताउँदै प्रवक्ता पौडेलले भने– ‘अहिले मतदाता शिक्षा घरदैलो मै सञ्चालन गरिएको छ, मत पत्र पनि स्पष्ट, छरितो र सानो रहेकोले यो निर्वाचनमा थोरै मात्र मत बदर आयोगले आँकलन गरेको छ ।’

मतदाता शिक्षामा फरकपन

संघीय ब्यवस्था लागू हुनुभन्दा पहिले आयोगले प्रत्येक गाविसमा सामुदायिक विद्यालयका दुई जना शिक्षकलाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा प्रशिक्षण दिई परिचालन गरेको थियो । यसका साथै रेडियो र टेलिभिजनमा नाटक, डकुमेन्ट्री, पोस्टर पम्पलेट आदि माध्यमबाट समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएका थिए । त्यस पछिका निर्वाचनमा पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

अहिले आधुनिक प्रविधिको अधिकतम उपयोग गरेर मतदाता चेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको निर्वाचन आयोगले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि आयोगबाट स्वीकृत सबै प्रकारमा सूचना, श्रव्यदृश्य सामग्री, नारा, संवाद, रेडियो तथा टेलिभिजन कार्यक्रम, छापा, सामाजिक सञ्जाल, अनलाइन पोर्टलबाट प्रसारण हुने सूचना, सन्देश तथा अन्य प्रवद्र्धनात्मक सामग्रीलाई ‘शिक्षा सामग्री’ मानिन्छ । मतदातालाई आयोगको फेसबुक पेज, वेबसाईट, भाइबर, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जालको उपयोग गरेर अझ प्रभावकारी रूपमा निर्वाचन र मतदान प्रक्रियाबारे चेतना फैलाइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

स्वयं सेवकमार्फत घरदैलोमा पुगेर पर्चा, पम्पलेट, ब्राउजर देखाएर नमुना मत पत्रमा प्रयोगात्मक रुपमा छाप लगाउन सिकाउने काम पनि पनि भइरहेको । समय नभएकाले नमुना मतदानलाई वडा स्तरमा लैजान नसकिएको सहायक प्रवक्ता भट्टराईले बताए । पालिका स्तरमा जन प्रतिनीधि वा जानेका ब्यक्तिहरुवीचमा मात्र नमुना मतदान भएको भन्ने सत्य हो ।

मत बदर कम गर्ने चुनौती

सबै मतदाताको मत सदर गराउन राजनैतिक दलहरुको भूमिका पनि महत्वपूर्ण रहेको निर्वाचन आयोगको ठम्याई छ । निर्वाचनमा प्रचार प्रसारका क्रममा राजनैतिक दलहरुले सहि तरिकाले छाप लगाउन सिकाउने गरेका बदर मत कम हुने देखिन्छ ।

निर्वाचन प्रचार प्रशारमा हिँडिरहेका उम्मेद्वारहरुले मतदाता शिक्षामा पनि ध्यान दिनुपर्ने देखिन्छ । बाँकेमा दलहरुले मतादाता शिक्षामा बढी समय खर्चिरहेको बताएका छन् । बाँके क्षेत्र नम्बर–२ मा गठबन्धन गरेका राप्रपा र नेकपा एमालेका उम्मेद्वारको लागि संयुक्त र एकल रुपमा प्रचार–प्रसारमा खटाईएको नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष दत्त प्रसाद आचार्यले बताए । गठबन्धनबाट संयुक्त रुपमा घरदैलोमा भोट माग्न जाँदा मतदाता अलमलमा पर्नु हुन्छ । उनले भने –‘हामीले दुबै पाटीका कार्यकर्तालाई मतदान गर्ने तरिका सिकाउनकालागि छुट्टा–छुट्टै समुह बनाएर घर दैलोमा पठाएका छौं । तर, अझै चुनौतीपूर्ण नै छ ।’

नेपाली काँग्रेस बाँकेका सभापती नारायणप्रसाद गौडेलले पनि गठबन्धन भएका निर्वाचन क्षेत्रमा मतदातालाई मतदान गर्ने तरिका सिकाउन अलि गाह्रो भएको बताए । गठबन्धनका साथिहरु सँगै घरदैलोमा पुगेपनि एउटै चुनाव चिन्हमा छाप लगाउन सिकाउने गरिएको छ, उनले भने –‘प्रदेश र प्रतिनीधि सभा सदस्य उम्मेद्वारको चुनाव चिन्ह र मत पत्र पनि अलग छ, अलमलमा पर्ने अवस्था छैन ।’

दलहरु आफ्ना योजना र विकासका प्रतिवद्धता बाँड्नुका साथै मतदाताहरुलाई मत पत्रमा सहि तरिकाले छाप लगाउन र पट्याउन सिकाउने गरे मात्रै बदर मत कम हुने जानकारहरुको भनाइ छ । बर्दिया क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनीधि सभा सदस्यका उम्मेद्वार ठाकुरसिंह थारुले प्रचार–प्रसारसँगै घरदैलोमा पुगेर मतदातालाई मत पत्र देखाएर स्वस्तीक छाप लगाउने तरिका पनि सिकाउने गरेको बताए ।
उनले भने –हाम्रा मतदाताले सहि तरिकाले मत पत्रमा छाप लगाउन जानेनन् भने हामीलाई नै घाटा हुन्छ, त्यसैले हामी मतदाता शिक्षा प्रति एकदमै सचेत छौं, र मतदाताहरुलाई सचेत गराइरहेका छौं ।’