प्रहरी गुहार्दै बाँकेका घरेलु ‘हिंसापीडित’ पुरुष

मुद्दा दिँदै घर जग्गा रोक्का, श्रीमतीसँगै सम्पत्ति गुमाएँ : डन्दवीर


बिमला चौधरी बिमला चौधरी   आइतबार, पुस २२, २०८०
प्रहरी गुहार्दै बाँकेका घरेलु ‘हिंसापीडित’ पुरुष

नेपालगन्ज २२ पुष : बाँकेको एक गाउँपालिकाका कुरेश (नाम परिवर्तित) की श्रीमती मोटरसाइकलबाट लडाएको निहुँमा माइतीबाट घर नफर्कने निधो गरिन् ।
श्रीमतीकी हजुरआमाको निधन भएपछि अन्तिम संस्कारमा सहभागी हुन भारत जाने क्रममा मोटरसाइकलबाट लडेर श्रीमतीको टाउकोमा सामान्य चोट लागेको घटना उनी सुनाउँछन् ।
उनी भन्छन् ‘‘आफ्नै मोटरसाइकलबाट लडेर टाउकोमा हल्का चोट लागेको थियो अरू कुनै कारण थिएन, उनी त अब म घर जाँदै जान्नँ भन्न थालिन् ।’’
विवाह भएको आठ महिनामै यति सानो कुरामा मन दुखाएर श्रीमतीले भारतस्थित माइतीमा बस्ने अडान लिएपछि कुरेश मानसिक तनावमा परे ।
श्रीमतीलाई घर फर्काउन अनेक प्रयास गरे पनि महिनौँ दिन बितिसक्दा समेत श्रीमती घर फर्कने सङ्केत नदेखेपछि उनले जिल्ला प्रहरी कार्यालय बाँके,महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा निवेदन दर्ता गराएको बताउँछन् ।
निवेदनको आधारमा प्रहरीले उनकी श्रीमतीलाई बोलाएर गत मङ्सिरमा मिलापत्र गराएर पठाएपछि अहिलेसम्म मिलेर बसिरहेको उनी बताउँछन् ।
मानसिक तनावपछिको मिलापत्र
नेपालगन्ज उपमहानगरपालिकाका सनम धोबीले ९नाम परिवर्तित० पनि नजिकैको गाउँबाट विवाह गरेको छ महिना मात्र भयो। सुरु सुरुमा सम्बन्ध राम्रै भए पनि करिब दुई महिनादेखि श्रीमतीका कारण आफू मानसिक तनावमा रहेको सनम बताउँछन् ।
घरमा दाजुभाउजू, आमाबुवा, भतिजाभतिजी सहितको संयुक्त परिवार रहेको बताउने उनले श्रीमतीलाई सबैसँग मिलेर बस्न आग्रह गर्दै आएको सुनाए ।
परिवारका सदस्यसँग श्रीमती जहिले पनि झर्केर बोल्ने, रिसाउने, कहिले बोल्दै नबेलेर बस्ने गरेपछि तनाव झेलिरहेको उनको दुखेसो छ ।
‘‘भनेको नमान्ने, परिवारमा बसिसकेपछि सबैसँग मिलेर बस्नुपर्छ तर रिसाउने, ठुस्किने, झगडा गर्ने, सधैँ किच किच गर्ने भएपछि त तनाव हुन्छ ।’’
घरायसी झगडाकै क्रममा आफ्नी आमालाई समेत श्रीमतीले कन्चटमा हानेको भन्दै सनम र उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँके,महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा यही पुसमा निवेदन दर्ता गराए ।
श्रीमतीले सहायता कक्षमा कार्यरत प्रहरी अधिकारीसमक्ष परिवारसँग मिलेर बस्ने प्रतिबद्धता जनाएपछि मिलापत्र गरेर अहिले सँगै बसिरहेको तर घर परिवारप्रति श्रीमतीको व्यवहार अझै परिवर्तन नभएको सनम गुनासो गर्छन् ।
मुद्दा दिँदै घर जग्गा रोक्का
नेपालगन्ज उपमहानगरपालिकाकै अर्को वडाका सेवकराम (नाम परिवर्तित) को समस्या अलि फरक छ। उनी पढाइमा निरक्षर भए पनि श्रीमती पढेलेखेकी छन् ।
सेवकरामले वर्षौँदेखि टेन्ट व्यवसाय गर्दै आएका छन्। व्यवसायमा घाटा भएपछि श्रीमतीले अंशबन्डा गरेर बस्ने धम्की दिँदै आएको उनी दुखेसो पोख्छन् ।
गत मङ्सिरमा त श्रीमती माइत गएर उतैबाट दुई छोरा, एक छोरी सहित आफूले अलग अलग अंश पाउँ भनेर जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराएपछि न्याय खोज्न बालकराम जिल्ला प्रहरी कार्यालय बाँकेको,महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुगेको बताउँछन् ।
उनी भन्छन्, ‘‘माइत गएर अदालतमा मुद्दा हाल्दै घर जग्गा रोक्का गरिदिइन्, छोराछोरी सबैलाई अहिले नै सब थोक दिएर बुढो भएँ भने मलाई कसले खान दिन्छ? भनेर महिला सेलमा निवेदन दिएको हुँ ।’’
छोराछोरीको उमेर ११ वर्ष भन्दा कम भएकाले मुद्दा चले पनि श्रीमतीसँग मिलेर बस्ने निर्णय प्रहरीसमक्ष गरेको सेवकरामले बताए। उनले भने, अंशबन्डाको मुद्दा जारी नै छ तर हामी अहिले सँगै बसिरहेका छौँ ।
उजुरीकर्ता सेवकरामसँगै रहेकी उनकी श्रीमती सलिनाले (नाम परिवर्तित) व्यापारको सिलसिलामा श्रीमानले घर सम्पत्ति बेच्न थालेपछि अंश माग गरी मुद्दा दर्ता गरेको बताइन् ।
उनले प्रश्न गरिन् ‘‘श्रीमानलाई पढ्न, हिसाब किताब गर्न आउँदैन व्यापारमा घाटा भएर एउटा घर बिकिसक्यो, पछि केही बाँकी रहेन भने के गर्ने?’’
श्रीमतीसँगै सम्पत्ति गुमाएँ
कुरेश, सनम र सेवकरामले केही समय मानसिक हिंसा खेपेको बताए पनि प्रहरीको सहायतामा मिलापत्र गरेर उनीहरूका दम्पती अहिले सँगै बसिरहेका छन् ।
तर बाँकेकै डन्दबीर (नाम परिवर्तित) पनि श्रीमतीकै कारण विक्षिप्त अवस्थामा पुगेको बताउँछन् करिब १२ वर्ष सम्म खाडी मुलुक साउदी अरबमा पसिना बगाएर कमाएको सम्पत्ति सहित श्रीमती पनि गुमाएको उनको पीडा छ ।
वैदेशिक रोजगारका क्रममा कमाएको पैसाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा किनेको १७ धुर घडेरी श्रीमतीले आफूलाई थाहै नदिई बेचेर अर्कैसँग गएको उनको भनाइ छ ।
‘‘घडेरी बेचिसकेपछि जिल्ला अदालत बाँकेमा श्रीमानसँग अंश नलिई सम्बन्ध विच्छेद गरिपाऊँ भनेर निवेदन दिएको रहेछ,’’ उनले भने, ‘‘म नहुँदा पनि उसले एकतर्फी रूपमा फैसला आफ्नो हातमा पारेर कानुनी रूपमा नै अलग भएर गएको मलाई थाहा नै भएन।’’
श्रीमती सम्पर्कविहीन भएपछि मात्र विदेशबाट फर्किएर खोजीनिती गर्दा न श्रीमती न त सम्पत्ति हुँदा छाँगाबाट खसेझैँ भएको उनी सुनाउँछन् ।
वकिलहरूको सल्लाह अनुसार फैसला बदर गरिपाऊँ भनेर जाहेरी दिए पनि जिल्ला अदालतले फैसला बदर गर्न नगरेपछि न्याय खोज्दै उच्च अदालत पुगेको उनले बताए ।
अब फेरि वैदेशिक रोजगारीमा जाने योजनामा रहेका उनी भर्खर १० कक्षामा पढिरहेको छोराको भविष्यबारे चिन्तित हुँदै भन्छन्, म त जहाँ गए जाउँला, छोरा र उसको पढाइ कसले हेर्ला? उसको भविष्यका लागि आवश्यक पर्ने सम्पत्ति र पैसा सबै उडाएर गएकाले झन् बढी दुःख लागेको हो ।
महिलाहरूमाथि हुने हिंसाबारे चर्चा भइरहे पनि पुरुषहरूनै पत्नीबाट पीडित बनेका विषय कमै प्रकाशमा आउने गर्छन्।
जिल्ला प्रहरी कार्यालय बाँके, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्ट भन्छिन, तर पुरुषको तर्फबाट पनि उजुरी आइरहेकाले पीडित पुरुषको छुट्टै रेकर्ड राख्न सुरु गरेका छौँ ।
श्रीमती माइत बस्दा प्रहरीसँग गुहार
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ४० जना पुरुषहरूले घरेलु हिंसामा परेको भन्दै निवेदन दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कमा उल्लेख छ ।
यसै अवधिमा घरेलु हिंसामा परेका महिलाको निवेदन दर्ता सङ्ख्या २९२ छ । पुरुषको तुलनामा महिलामाथि हुने हिंसाको प्रकृति गम्भीर प्रकारको हुने गरेको प्रहरीको भनाइ छ ।
प्रहरी निरीक्षक विष्टका अनुसार उजुरी गर्ने अधिकांश पुरुषहरू श्रीमती रिसाएर माइतीमा गएर बसेको समस्या लिएर आउने गरेका छन्, श्रीमती रिसाएर लामो समयसम्म माइत गएर बसेकोले बोलाएर मेलमिलाप गरी पाऊँ भन्ने निवेदन आउने गर्छ ।
प्रहरी कार्यालय
कतिपयले श्रीमती माइत गएर बसिदिँदा खाना पकाउन, लुगा धुन, साना छोराछोरीलाई रेखदेख गर्न र घरधन्दा चलाउन समेत समस्या भएको भनेर निवेदन दिने गरेको प्रहरीको भनाइ छ ।
भारतबाट विवाह गरेकाहरूका श्रीमती माइतीमा गएर बस्दा झिकाउन समस्या हुने गरेको प्रहरीको अनुभव छ । प्रहरी निरीक्षक विष्ट भन्छिन्, फोन गर्दा कतिपयले श्रीमानले गाली गरेर माइत आएको, अब म फर्किन चाहन्नँ, सँगै बस्न पनि सक्दिनँ भन्छन् । धेरै पटक फोन गरेर प्रहरी कार्यालयमा उपस्थित हुन अनुरोध गरेपछि मात्र आउने गरेको प्रहरी बताउँछन् ।
एक पटक मात्र प्रहरी कार्यालयमा आई दिनुस् तपाईँहरूको समस्या हामीले समाधान गर्ने प्रयास गर्छौँ, दुवैको चित्त बुझे मिलेर बस्नुहोला नभए अदालत जानुहोला भनेर अनुरोध गर्छौँ, प्रहरी निरीक्षक विष्टले भनिन्, अनि आउनुहुन्छ र छलफलपश्चात मेलमिलाप गराएर पठाउँछौँ ।
घरेलु हिंसा कसलाई बढी ?
प्रहरी निरीक्षक विष्टका अनुसार महिलाहरू भने खान लाउन नदिएको, गाली गलौज गरेको, घरबाट निकालिदिएको, श्रीमान् अर्कै केटीसँग लागेको, मानसिक यातना दिएको र कुटपिट गरेको लगायतका समस्या लिएर पुग्ने गरेका छन् ।
हिंसा मानिसको शरीर र मन दुबैसँग सम्बन्धित हुने बताउँदै मनोसामाजिक परामर्शदाता भोजराज शर्मा अनुभव सुनाउँछन्, ग्रामीण भेगमा पुरुषहरू पुरुषत्व देखाएर बढी शारीरिक रूपमा हिंस्रक जस्तो देखिन्छन् भने सहरी क्षेत्रमा पुरुषहरू मानसिक तथा भावनात्मक हिंसाबाट पीडित देखिन्छन् ।
पुरुषहरू बढी सामाजिक प्रतिष्ठा र इज्जतसँग डराएर आफूले भोग्ने घरेलु हिंसा बाहिर ल्याउन नचाहेका कारण उनीहरू हिंसापीडित नभएको जस्तो देखिएको उनको भनाइ छ । घरेलु हिंसाका उजुरीलाई प्रहरीले सकेसम्म मेलमिलापको माध्यमबाट टुङ्ग्याउने गरेको पाइन्छ । मिल्नै नचाहने अवस्थामा मात्र अदालतमा पठाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

निवेदन
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले कुटपिटबाट गहिरो चोटपटक लागेको घटनासँग सम्बन्धित उजुरी सिधै कारबाहीको लागि पठाउने गर्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगी भन्छन्, हामीले घरेलु हिंसाका कतिपय उजुरीमा घरको कुरा घरबाटै मिलाउने भनेर एउटा मेलमिलापको मध्यमबाट समाधानको प्रयास गर्छौँ ।
मेलमिलाप गराएर पठाइसकेपछि पनि मासिक रूपमा करिब तीन महिनासम्म फोन गरेर अवस्था बुझ्ने गरेको गरेको प्रहरीको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

स्रोत : बिबिसी नेपाली सेवा