गरगहना टल्काउँदा ‘उपहार पाइने’ प्रलोभनमा पर्दा ‘ठगिए’ बाँकेका महिला


बिमला चौधरी बिमला चौधरी   शुक्रबार, जेठ २५, २०८१
गरगहना टल्काउँदा ‘उपहार पाइने’ प्रलोभनमा पर्दा ‘ठगिए’ बाँकेका महिला

उपहार पाउने प्रलोभनमा परेर अपरिचित महिलालाई आफ्ना गरगहना दिने महिलाहरूले प्रहरीलाई गुहारेका छन् ।

नेपालगन्ज २५ जेठ : घटना गत जेठ १४ गतेको हो । बाँकेको राप्तीसोनरी–६ पद्नाहा गाउँमा बाहिरबाट आएकी एक अपरिचित महिलाले पुराना चाँदीका गरगहना नयाँ बनाएर त्यसको साथमा नयाँ भाँडा पनि उपहार ल्याइदिने कुरा बताइन् ।

हेरौँ न त भनेर सोही गाउँकी नेपाली चौधरीले एउटा चाँदीको औँठी दिएपछि ती अपरिचित महिलाले त्यसको भोलिपल्ट उनको औँठी टल्काएर एउटा स्टीलको कमण्डलु उपहारसहित फिर्ता ल्याइदिइन् । औँठी सफा गरेर त्योसँगै भाँडा उपहार पाएपछि चौधरी दङ्ग परिन् ।

फेरि उनले चाँदीको पाउजु मागिन् र भोलिपल्ट नै पाउजु टल्काएर त्योसँगै एउटा कराही उपहार थपेर फिर्ता गर्न घरमै आइन् ।

काँस, तामा र पित्तलका पुराना भाँडाकुँडासँगै सुनका गरगहना मर्मत गर्न दिएमा फ्रिज उपहार दिने प्रस्तावमा महिलाहरू लोभिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

दुईचोटि विश्वास जितिसकेकाले चौधरीले धेरै सोधखोज नगरी आफूसँग भएको सुनको एउटा ‘कान्छी तिलहरी’, एउटा तामाको गाग्री र काँसको कसौँडी दिइन् ।

सोही दिन बेलुकासम्ममा ती सबै सामग्री मर्मत गरेर साथमा फ्रिज उपहार ल्याइदिने भनेर हिँडेकी अपरिचित महिला तीन दिनसम्म पनि फर्केर आइनन्। उनीहरूलाई आफू ठगिएको महसुस भयो ।

चौधरी भन्छिन्, ‘म मात्र भ्रममा परेर उपहार पाउने प्रलोभनमा ठगिएको होइन, पद्नाहा टोलका झन्डै २० महिला यसै गरी ठगिएका छौँ ।’

महिलाहरू निराश

गरगहना लगेकी ती महिलाप्रति शङ्का गर्नुपर्ने कारणहरू थिए । पीडितहरूका अनुसार उनी घरमा महिलाहरू मात्र भएको मौका छोपेर आउने गर्थिन्। आफ्ना पतिलाई पनि यसबारे नसुनाउन भन्थिन् ।
गरगहनासँगै भाँडाकुँडा दिने क्रममा फोटो, भिडिओ खिच्न ती अपरिचित महिलाले मनाही गरेको पनि पीडित महिलाहरू बताउँछन् ।

सोही गाउँका गोविन्द दहितले चौधरीले जस्तै पद्नाहा गाउँका अन्य १६ महिलाले थारू परम्परागत पुराना चाँदी र सुनका गहना उही अपरिचित महिलालाई दिएर पठाएको सुनाउँछन् ।

पद्नाहा गाउँमा मात्र नभएर उनै अपरिचित महिलाबाट सोही वडाको पनेहरिया गाउँमा समेत झण्डै एक दर्जन महिला त्यसरी ठगिएका बताइएको छ ।

राप्ती सोनारी–६ का वडाध्यक्ष लवराज खरेल आफ्ना टोलका महिलाहरू निराशामा डुबेको बताउँछन् ।

‘ठगिएका पीडित महिलाहरूको समूहलाई तुरुन्त प्रहरीमा उजुरी गर्न सल्लाह दिएको छु, कतिपय पीडित महिलाहरू ठगी गर्ने महिलालाई खोज्न गर्न नेपालगन्जतर्फ हिँडेका छन् ।’ प्रहरी गुहार्न गत शनिवार नेपालगन्ज आएका नौ महिलाले एकजना बराबर छ आनादेखि डेढ तोलासम्म सुन र काँस, तामाका पुराना भाँडाकुँडा दिएको बताएका छन् ।

पचपन्ने सुन्तली थारूले आफूसँग भएको छ आनाको ‘माइली तिलहरी’, डेढ आनाको ‘कान्छी तिलहरी’, छोरीको एक तोला बराबरको सिक्रीसँगै एक जोडा पाउजु र काँसको थाल, लोटा, टुक्की लगायतका भाँडाकुँडा दिएको बताइन् ।
‘आफ्नो गहना लुटाएँ, सँगै छोरीको सिक्रीसमेत लुटाएँ भन्ने पीरले निदाउन सकेकी छैन,’ उनले भनिन् ।

घरका धेरैको लगे

ठूलो संयुक्त परिवारमा रहेका महिलाहरूले सासूबुहारी कसैको गहना बाँकी नराखेर दिएको बताउँछन् ।

आफ्नो घरपरिवारको नेतृत्व गरेर न्याय खोज्न प्रहरीसमक्ष आएकी आशा थारूले परम्परागत चाँदीको पैसाको माला पाँच वटा, नौ जोडा पाउजु, चाँदीको सिक्काको पाँचवटा औँठीसँगै काँसका थाल, लोटा, कचौरा लगायतका सामान दिएको बताइन् ।

उनले भनिन्ः ‘जेठानीहरूले पुराना गहना टल्काएर नयाँ बनाउने भनेर दिएपछि मेरो मन पनि मानेन। अनि बिना कुनै सङ्कोच दिएँ, आफ्नै बुद्धि नपुगेर आज प्रहरी गुहार्न आउनुपरेको छ ।’

सुन्तली र आशासँगै प्रहरीमा उजुरी दिन नेपालगन्ज आएका पीडित महिलाहरू चेरिया थारू, भउनी थारू, सुगन्या थारू, उषाकुमारी थारू, सग्या थारू, बेलमती थारू र शारदा थारूले ‘माइली तिलहरी’, कानको झुम्का, नाकको फुलीलगायत एक जनाबराबर झण्डै १० आनासम्मको सुन, चाँदी र भाँडाकुँडा दिएको बताउँछन् ।

पीडितहरू विभिन्न गाउँका

पद्नाहा र पनेहरियामा मात्र नभई राप्ती सोनारी–६ जोरैया, बम्लह्वा र वडा नम्बर ७ को सर्री गाउँमा समेत दर्जनौँ महिला अपरिचित महिलाहरूबाट ठगिएको स्थानीय बासिन्दा कालुराम थारूले जानकारी दिए । पाँच गाउँमा फरकफरक अनुहारका अपरिचित महिलाहरू प्रवेश गरेर गरगहना ठगी गरेर लगेको उनले बताए ।

पहिले लगेको गहनासँगै उपहार, नयाँ भाँडा दिन आएको समयमा बालबालिकाले लुकेर खिचेका फोटो र सानो भिडिओ मात्र प्रमाणका रूपमा रहेको उनीहरूको भनाइ छ । सोही फोटोमा देखिएकी महिलालाई नेपालगन्ज बसपार्क क्षेत्रमा केही समयअघि ओहोरदोहोर गरेको देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

कारबाहीको आश्वासन

बाँकेका ग्रामीण भेगमा ठगी गर्न जानेहरू नेपालगन्जमा विभिन्न समूहमा आउनेजाने गरेको एक स्थानीय बासिन्दा कमलप्रसाद चौधरी दाबी गर्छन् । ‘यो फोटोमा देखिएकी महिलालाई कालो कपडाको ठूलो झोला बोकेर हिँडेको कैयौँ पटक मैले देखेको थिएँ,’ उनले फोटो देखाउँदै भनिन् ।

‘त्यो महिलाको समूह झण्डै तीन दिनअघि यहाँबाट उठेर गइसक्यो, अर्को नयाँ समूह आएर बसेको छ ।’ पाल टाँगेर बसेकाहरूमध्ये पुरुषहरू जोगीको भेषमा र महिलाहरू गरगहना मर्मत गरिदिने बहानामा गाउँतर्फ जाने गरेका देखेको नेपालगन्ज–६ फुल्टेक्राकी इन्दिरा थारूले दाबी गरिन् ।

तर, प्रहरीले भने ‘कुनै ठोस प्रमाणबिना मानिसहरूको कुनै पनि समूहलाई कारबाही अगाडि बढाउन नसकिने’ जनाएको छ ।

पीडित महिलाहरूलाई प्रलोभनमा पारेर गरगहना ठगी गरेको प्रमाण फेला परेमा कानुनबमोजिम कारबाही गरिने भन्दै उनीहरूलाई सम्बन्धित ठाउँकै प्रहरी चौकीहरूमा उजुरी दर्ता गर्न भनिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । -विविसी नेपालीबाट