File Photo
नेपालगन्ज २० चैत्र : बाँकेको अगैयास्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले पूर्वी मुल नहरमा पानी छाडेकोछ । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाको पूर्वी नहरको ३७ किलोमिटर नहर निर्माण कार्य सम्पन्न गरी पानी छोडिएको हो । सिक्टाबाट नहरमा पानी छाडिएको यो दोस्रो पटक हो ।
यसअघि गत साउन २ गते बाँकेको अगैयास्थित हेडवर्कस्बाट राप्ती नदीको पानी पूर्वी नहरमा खसालेर परीक्षण गरिएको थियो । परीक्षण गर्दा पूर्वी मुल नहरलाई कर्मचारी, प्राविधिकले उच्च निगरानीमा राखेका थिए ।
यसअघि सो आयोजनाको ४२.२५ किलोमिटरको पश्चिमी मूल नहर र यसका ५ वटा शाखाहरू (अकलघरवा, गोहवा, प्रसेनीपुर, पिडारी शाखा, सिधनिया शाखा) को खण्डगत रूपमा निर्माण सम्पन्न भएर पानी छोडिसकेको छ । करिब पाँच वर्षअघि सामान्य पानीले सिक्टाको पश्चिम मुल नहर भत्किएको थियो । मुल नहर परीक्षणमै भत्किएपछि आयोजनाको गुणस्तरमाथी प्रश्न उठेर उक्त मुद्दा अदालत पुगेको थियो ।
अगैयामा रहेको आयोजनाको मुख्य बाँधबाट पूर्वी मूल नहरको ३७ किलोमिटरको निर्माण कार्य हाल सम्पन्न भई पानी परीक्षण गरेर किसानका लागि ३९ किलोमिटरसम्म नियमित पानी बगाइएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ ।
सिक्टा सिँचाइ आयोजनाको ३७ किलोमिटर पूर्वी नहर र सो अन्तर्गतका ६ वटा शाखा नहरको निर्माण कार्य सम्पन्न भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिए ।
उनले आयोजनाको पूर्वी नहरमा पर्ने फत्तेपुर, राजकुलोका साथै एस–१ देखि एस–४ सम्म गरी ६ वटा शाखा नहरको निर्माण कार्य निर्धारित समयमै पूरा भई किसानको खेतबारीमा वर्षभर पानी पुग्ने गरी पानी बगाइएको बताए ।सो नहरमा पानी छोडिँदा पूर्वी क्षेत्रको राप्तीसोनारी र नरैनापुरका ४२ सय हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुगेको आयोजनाका सूचना अधिकारी समेत रहेका डिभिजनल इन्जिनियर यादवले बताए ।
उनले आयोजनाबाट पश्चिममा ३३ हजार ७६६ र पूर्वमा नौ हजार हेक्टर गरी जम्मा ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेकोमा हालसम्म पश्चिममा १६ हजार र पूर्वमा ४२ सय गरेर २० हजार २ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको बताए ।
पूर्वी नहरको निर्माण पूरा भई पानीसमेत बगेको देख्दा निकै खुशी लागेको प्रतिक्रिया दिँदै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले अब सिँचाइ सुविधा नभएको ४२ सय हेक्टर जग्गामा वर्षभर सिँचाइ पुगेकाले किसानलाई ठूलो राहत हुने बताए । पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालिका–कुमार जेभिसँग तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार २५९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
कोरोनालगायत विभिन्न प्रकारका बाधा अड्चनका बाबजुद पनि कालिका–कुमार जेभिले म्याद थप गरेको निर्धारित समयमै गुणस्तरीय निर्माणका साथ नहरको ३७ किलोमिटरको काम सम्पन्न गरेर पानी छोडिएको कुमार कन्स्ट्रक्शनका निर्देशक सुजित श्रेष्ठले बताए ।
बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी पश्चिम नहरतर्फको ३३ हजार ७०० हेक्टर र पूर्वी तर्फको ९ हजार हेक्टर खेतीयोग्य जमिनलाई सुख्खा लाग्नबाट बचाउने उद्देश्यले आर्थिक वर्ष ०६१÷०६२ देखि सिक्टा सिँचाइ आयोजना शुरु गरिएको थियो ।
थप समाचार
सिक्टाको पूर्वी नहरमा पानी छाडियो, ईन्जिनियरसहितको प्राविधिक टोलीले निगरानी गर्दै
सिक्टा सिंचाइ : १६ वर्षमा १९ अर्ब खर्च, पैसा बग्यो पानी बगेन
सिंचाई अभावका कारण नरैनापुरबासीको चेत खुल्यो, सिक्टा नहर निर्माणका लागि सर्वेक्षण गर्न दिने
पानी विनाको सिक्टा: किसानका खेत बाँझै
सिक्टाको आठ अर्ब भ्रष्टाचार, मुद्धामा बिचौलिया हाबी
सिक्टाको पानी खेतमा पुगेपछि किसान हर्षित
सिक्टा सिँचाई आयोजना: १४ वर्षमा ६० प्रतिशत काम