सिंचाई अभावका कारण नरैनापुरबासीको चेत खुल्यो, सिक्टा नहर निर्माणका लागि सर्वेक्षण गर्न दिने


सिंचाई अभावका कारण नरैनापुरबासीको चेत खुल्यो, सिक्टा नहर निर्माणका लागि सर्वेक्षण गर्न दिने

नरैनापुर ३१ साउन : सिंचाई अभावका कारण यस वर्ष धान खेती गर्न नपाएपछि नरैनापुर गाउँपालिकाबासीले सिक्टा नहरलाई सम्झिएका छन् । २ वर्ष पहिलेदेखि नै सिक्टा सिंचाई आयोजनाले नरैनापुर क्षेत्रमा नहर निर्माणका लागि सर्वेक्षणको काम सुरु गर्न चाहे पनि केहि जग्गाधनीले अवरोध गर्दै आएकोमा अव सर्वेक्षण गर्न दिने सहमती जनाएकाछन् ।

प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको संयोजकत्वमा मंगलबार नरैनापुर गाउँपालिकामा बसेको बैठकले सर्वेक्षणलाई अगाडि बढाउने निणर्य गरेको हो । सकेसम्म किसानका नम्बरी जग्गा नकाटिने गरि उत्तर तर्फबाट जंगलको छेउ भएर नहर ल्याउने, केही जग्गा काटीएपनि चलन चल्तीको मूल्य अनुसार मुआब्जा दिने आयोजनाका अधिकारीले प्रतिबद्धता जनाएपछि स्थानीयले सर्वेक्षणलाई अगाडी बढाउनेबारे सहमती जनाएका हुन् ।

स्थानीय जनप्रतिनीधि, जग्गाधनीबीच गरिएको छलफल पश्चात प्रतिक्रिया दिँदै सिक्टा सिंचाई आयोजनाका निर्देशक डाक्टर सन्तोष कैनीले अबको एक साताभित्र सर्वेक्षणको काम सुरु गरिने बताए । उनले भने– ‘अब स्थानीयको अवरोध भएन भने केहि महिनाभित्र सर्वेक्षण सकेर निर्माण कार्य अगाडि बढाउँछौं, आगामी ३ वर्षभित्रमा यस क्षेत्रका किसानले सिचाई सुविधा पाउनुहुन्छ तर, अवरोध भयो भने वर्षौं वर्ष पनि लाग्न सक्छ ।’

यस वर्ष प्रयाप्त वर्षा नहुँदा र सिंचाई सुविधा नहुँदा यतिबेला नरैनापुर गाँउपालिकाका किसानले लगाएको धान, विउ र मकै सुकेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि आयोजनाले यस क्षेत्रमा नहर निर्माणका लागि सर्वेक्षणको काम सुरु गर्न चाहेपनि स्थानीयले जग्गा दिन नमान्दा पटक पटकको प्रयास असफल भएको थियो ।

स्थानीयको अवरोधले पुर्वी मुल नहरको ९ किलोमिटर क्षेत्रमा काम अघि बढ्न नसकेको हो । पुर्वी मुल नहरको कुल ५३ किलोमिटर मध्ये ४४ किलोमिटरमा नहरको संरचना निर्माण भइरहेको छ । राप्तीसोनारीको फत्तेपुरसम्मको २४ किलोमिटर क्षेत्रमा गत असारमा ७ क्युमेक्स पानी सञ्चालन गरिएको थियो ।

यस क्षेत्रको भूभाग अग्लो होँचो भएकाले प्राविधिक रुपले नहरको सतह मिलाउनुपर्ने हुन्छ । यसरी यहाँकै स्थानीयले सोझै खेतमा नहरको पानी लगाउन सक्ने अवस्था नहुन सक्छ । यस्तो अवस्थमा लिफ्ट सिंचाइ आवश्यक पर्ने भएकाले यसलाई योजनामा समावेश गरिदिने आयोजनाका निर्देशक कैनीले प्रतिवद्धता जनाए ।

छलफलमा प्रदेश सभा सदस्य केसी, गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, सिक्टा सिंचाई आयोजनाका निर्देशक डाक्ट कैनी, डिजि रणधिर झा, सिक्टा सिंचाई आयोजनाको उपोभोक्ता समितिको अध्यक्ष शालिकराम डाँगी, स्थानीय किसान, वडाध्यक्षहरु, वडा सदस्य लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरका किसानहरुले यसवर्ष प्रयाप्त बर्षा नहुँदा रापाई गर्न नपाएको र केही मात्रामा रोपाई भएपनि सुकीसकेकाले ठुलो क्षति बेहोर्नुपरेको छ । सिंचाई सुविधा नहुँदा अझ विकराल अवस्था आउन सक्ने भन्दै यहाँका किसानहरुलाई नहरको पानीको आवश्यक्ता देखिएको डिजि रणधिर झाले बताए । नरैनापुर सुख्खा क्षेत्र घोषणा भइसकेको अवस्थामा सिंचाईको आवश्यक्ता देखिएकाले नहर निर्माण गर्नका लागि सहजीकण गरिदिन प्रदेश सभा सदस्य केसीले गाँउपालिकाका अध्यक्ष शाहसंग आग्रह गरिन् ।

‘जनप्रतिनीधि आएपछि सडक र बिजुली त आयो अव किसानको उत्पादन बढाउनु छ ।’ उनले भनिन् –‘अब सिँचाई सुविधा ल्याउन स्थानीय जनप्रतिनीधिले नै सहजीकरण गर्ने काममा अग्रसर हुनुपर्छ । गाँउपालिकाका अध्यक्ष शाहले अघिल्लो कार्यकालमा आफू विरामी परेका कारण स्थानीयसंग सहजीकरण गर्न नसेको बताउदै यसपटक सहजीकरण गर्ने र सिक्टाको पानी ल्याई छाड्ने प्रतिवद्धता जनाए । यसअघि सिँचाई अभाव र प्रयाप्त वर्षा नभएपछि नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको थियो ।

थप समाचार

नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा, छेउमै राप्ती बग्छ

आकाशे पानीको भर पर्दा नरैनापुरमा १५ प्रतिशत मात्र रोपाई