नक्कली भुटानी शरणार्थी प्रकरण: सरकारी वकिल कार्यालयमा प्रहरीले बुझायो प्रतिवेदन, ३२ जना प्रतिवादी


नक्कली भुटानी शरणार्थी प्रकरण: सरकारी वकिल कार्यालयमा प्रहरीले बुझायो प्रतिवेदन, ३२ जना प्रतिवादी

नेपालगन्ज ८ जेठ : प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज(सोमबार) प्रतिवेदन बुझाएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।

प्रहरीले केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

यो प्रकरणमा मुछिएका ३२ जनामध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

पीडितको उजुरीपछि अनुसन्धानको क्रममा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा राखेको छ ।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत भने फरार छन् ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल)को पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो । गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।

छुटपुट भन्दै उक्त कार्यदलले भुटानी शरणार्थीको रुपमा ४२९ जनाको नाम समेट्दै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन बादलकै पालामा गृहबाट मन्त्रिपरिषद्मा पेस गरिएको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार परिवर्तन भएपछि मन्त्रिपरिषद्ले पास गर्न सकेन । पछि उक्त प्रतिवेदन मन्त्रालयमै फिर्ता पठाइएको थियो । त्यही प्रतिवेदन गुपचुप राखिएको थियो ।

तर, अनुसन्धानका क्रममा वास्तविकता भने अर्कै रहेको खुल्यो । नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि प्रहरीले पन्थीको कार्यदलसँग पनि बयान लियो । उनीहरुले आफूले तयार पारेको प्रतिवेदन प्रहरीकहाँ पेस गरे । उनीहरुले पेस गरेको प्रतिवेदन र पछि गृहमन्त्री बनेका बालकुष्ण खाणले गुपचुप राखेको प्रतिवेदनमा मेल खाएन ।

पन्थी कार्यदलले पेस गरेको प्रतिवेदन कीर्ते गरी अनसूची थपेर खाँणको पालामा नक्कली नामहरु राख्दै रकम उठाएर ठगी भएको अनुसन्धानबाट खुलेको हो । यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरेर पास गराउने र त्यसपछि रकम लिएकाहरुलाई अमेरिका पठाउने तयारी थियो । यसका लागि उनीहरुले झापा तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को उपसमिति गठन गरेर नक्कली प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेका थिए । उपसमिति गठन समेत भइसकेको थियो ।

तर, तत्कालीन अवस्थामा उक्त विषय विवादमा आएपछि झापा र मोरङका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको उपसमितिले काम गर्न मानेन । यहीबीच नयाँ सरकार गठन भएपछि यो प्रकरणमा छानबिन सुरु भएको हो ।

यता पन्थी नेतृत्वको कार्यदलले नै तयार पारेको प्रतिवेदनमा समेत नक्कली नामहरु राखिएको हुनसक्ने आकलन गरिएको छ । सोहीअनुसार अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ । यो प्रकरणमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ ।

यता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान भइरहेकोछ । आईतबार जिल्ला अदालत काठमाडौँले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

थप समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित सबैलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँले बिचौलियालाई आफ्नो गाडी दिएर सघाउँथे

रायमाझी, खाँणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखिने

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति

खाणलाई ४ दिन हिरासतमा राख्न अनुमति, काँग्रेसबाट निलम्बन गर्ने तयारी

भुटानी शरणार्थी काण्ड: थप दुई जना विचौलिया पक्राउ