नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँले बिचौलियालाई आफ्नो गाडी दिएर सघाउँथे


नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँले बिचौलियालाई आफ्नो गाडी दिएर सघाउँथे

नेपालगन्ज ४ जेठः नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा शमशेर मियाँ पक्राउ परेकाछन् ।

गृह मन्त्रालय अन्तर्गतको केन्द्रिय हज समितिका अध्यक्ष रहेका मियाँलाई सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरिएको हो । यसअघि १४ जना पक्राउ परेका थिए । मियाँ पक्राउ परे सँगै १५ पुगेका छन् ।

भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष मियाँ प्रहरीको खोजी सूचीमा थिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका उनी बिहीबार बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परे । ऊर्जा मन्त्रालय पुगेको सूचना पाएको प्रहरीले उनलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको हो ।

हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् ।

मियाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासम्मले रुचाएका व्यक्ति रहेको पाइएको छ ।

मियाँलाई ओली सरकारको पालामा पहिलो पटक २०७५ पुस २९ मा मन्त्रिपरिषदले हज समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । गृह मन्त्रालय मातहत रहने हज समितिमा मियाँको यो पहिलो इन्ट्री थियो । त्यतिबेला गृहमन्त्री भने एमाले उपाध्यक्ष रामबहादुर थापा बादल थिए ।

नेपाल हज समिति कार्यविधि २०७२ को दफा ३ को उपदफा २ (क) अनुसार हज समितिको अध्यक्षको पदावधि २ वर्षको हुनेछ। पदावधि सकिएपछि पुनः मियाँको दोस्रो कार्यकाल २०७७ माघ ७ गते थपियो। त्यतिबेला पनि ओली नेतृत्वकै सरकार थियो ।

२०७८ वैशाख असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भए । राजनीतिक नियुक्ति हुने हज समितिको अध्यक्षमा देउवा सरकारले पनि मियाँलाई रुचायो । र, उनलाई निरन्तरता दियो ।

त्यतिबेला गृहमन्त्री भने बालकृष्ण खाण थिए । उनकै मातहतमा रहेर मियाँले काम गरेका थिए । अहिले खाणसँगै मियाँ पनि हिरासत पुगेका छन् ।

मिया अर्घाखाँचीका हुन् । अर्घाखाँचीकै सांसद तथा एमालेका सचिव टोपबहादुरसँग मियाँको राम्रो सम्बन्ध रहेको बताइन्छ । हिरासतमा रहेका टोपबहादुरसँगै नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग पनि मियाँ निकटस्थ छन् । पाण्डेको घर पनि अर्घाखाँची नै हो ।ओलीले नियुक्त गरे पनि देउवा सरकारको पालामा गृहसचिव बनेका पाण्डेसँग आफ्नो गृहजिल्लाको साइनो जोड्दै मियाँले आफ्नो नियुक्तिलाई निरन्तरता दिइएको बताइन्छ।

थप समाचार

रायमाझी, खाँणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखिने

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति

खाणलाई ४ दिन हिरासतमा राख्न अनुमति, काँग्रेसबाट निलम्बन गर्ने तयारी

भुटानी शरणार्थी काण्ड: थप दुई जना विचौलिया पक्राउ