खाणलाई ४ दिन हिरासतमा राख्न अनुमति, काँग्रेसबाट निलम्बन गर्ने तयारी

सांसद टोपबहादुर अझैं फरार


खाणलाई ४ दिन हिरासतमा राख्न अनुमति, काँग्रेसबाट निलम्बन गर्ने तयारी

File Photo

नेपालगन्ज २७ वैशाख : नेपाली काँग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठक खाणको पक्राउमा केन्द्रित थियो ।

करीब तीन घण्टा बसेको बैठकमा पूर्वगृहमन्त्री तथा पार्टीका नेता बालकृष्ण खाणको बारेमा छलफल भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण बुधबार बिहान पक्राउ परेपछि देउवाले अपराह्न पदाधिकारी बैठक राखेका हुन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाणको पक्राउपछिको पार्टीको रणनीतिबारे ब्रिफिङ गरेका थिए ।

बैठकपछि काँग्रेसका कुनै नेताहरुले पत्रकारलाई प्रतिक्रिया दिन चाहेनन् । खाणलाई निलम्बन गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । कुनै निर्णय नभएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

ती पदाधिकारीका अनुसार भोलि(बिहीबार) फेरि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने सल्लाह भएको छ । भोलि दिउँसो २ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बस्नेछ । उक्त बैठकले निलम्बनका बारेमा निर्णय लिने उनले सुनाए ।

यसअघि नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि बुधबार बिहान पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएकोछ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई ४ दिनको म्याद थप गरेर अनुसन्धान गर्न समय प्रदान गरेको हो ।

खाणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको हो । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने अझैँ फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।

खाण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२ पुगेको छ । यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । यस्तै खाणकै सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।

थप समाचार

भुटानी शरणार्थी काण्ड: थप दुई जना विचौलिया पक्राउ