बालविवाह न्यूनिकरणका लागि युवाले चलाए नमूना संसद


बालविवाह न्यूनिकरणका लागि युवाले चलाए नमूना संसद

बर्दिया १ असार : बिहान ७ बजे हलको ढोका खुल्ने बित्तिकै जनाउ घण्टी बज्यो र सबै युवा सांसदहरु संसद भवनभित्र प्रवेश गरी आ–आफ्नो स्थानमा बसे । एकछिन पछि दायाँतिरको ढोकावाट युवा सभामुख दीक्षा ढकाल प्रवेश गर्ने बित्तिकै सबै युवा सांसदले उठेर राष्ट्रिय धुनसँगै स्वागत गरे ।

सभामुखले संसद सञ्चालन गर्दा सांसदहलाई शून्य समय र विशेष समयमा बोल्ने पालो र मन्त्री, प्रधानमन्त्रीलाई प्रश्न र उत्तर दिने अनुमति दिए ।

सार्वजनिक महत्वका बिषयमा छलफल, संकल्प प्रस्तावमाथी छलफल, युवा राष्ट्रपति रिना कुमारी थारुबाट नीति तथा कार्यक्रम प्रस्तुत, प्रतिपक्षी दलका युवा नेता अस्मिता चौधरीलाई विशेष समयमा बोल्ने पालोको दृश्य पनि युवा संसद भवन भित्र देखियो । यो दृश्य हेर्दा एक सभ्य र भव्य तरिकाले सदन चलिरहेको अनुभूती गरायो ।

बर्दियाको बारबर्दिया नगरपालिकामा युवाहरुमा नेतृत्व विकास गर्नमा सहयोग पु¥याउनका लागि नमुना युवा संसद कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावारणीय विशिष्टिता समुह (बि ग्रुप) नेपालगन्ज, बाँकेको साझेदारीमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजना अन्तरगत नमुना युवा संसद कार्यक्रम भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

वालविवाह न्यूनिकरण गर्ने भूमिकामा सहभागि युवाहरुले स्थानीय तहमा अगुवाई गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सहभागि सरोकावालाहरुले बालविवाह अन्त्य गर्नमा प्रतिबद्ध रहेको बताए ।

नमुना युवा संसद सञ्चालन गरिएपछि युवाहरु संसदीय प्रक्रिया र पद्दतीमा अभ्यस्त भएकोले उनीहरुमा नेतृत्व गर्ने क्षमताको विकास भएको छ । साथै युवाहरुले नमुना संसदमा बालविवाह अन्त्य सम्बन्धी विषयवस्तुमा छलफल गरि नीतिगत रुपमा निर्णय पारित गरिएकोछ ।

युवाहरुमा नेतृत्व लिने, अगुवाई गर्ने, भूमिका निर्वाह गर्ने, आदी शीपमा विकास भएको कार्यक्रमपछि प्रतिक्रिया दिने सहभागिहरुले बताए । महत्वपुर्ण विषयमा काम गर्दा, अनुशासन, तयारी, अभ्यास र लगनशीलता हुनुपर्छ भन्ने कुराको महशुस भएको सहभागी युवाहरुको भनाईछ ।

नमुना युवा संसद समापन कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले बालविवाह न्यूनिकरण अभियानमा युवाहरुले नै महत्वपुर्ण सहयोग गर्ने बताइन् । साझेदार संस्थाहरुले बारबर्दिया नगरपालिकाको २०८३ सालभित्रमा बालविवाह मुक्त पालिका घोषणा गर्ने र यो वर्ष २ वटा वडालाई बालविबाहमुक्त वडा घोषणा गर्ने अभियानमा सहयोगको अपेक्षा गरे ।

बी ग्रुप बाँकेका अध्यक्ष टेकबहादुर पुनले बालविवाह न्यूनिकरणमा निरन्तर सहयोग रहने बताए । प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले नमुना युवा संसदका सहभागि युवाहरु बालविवाह अन्त्य गर्ने अभियानमा अगुवाई गर्ने अपेक्षा राखे ।

कार्यक्रममा परियोजना सञ्चालन भएको बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिकाका ४७ जना युवाहरुको सहभागिता रहेको थियो । जेठ २९ देखि ३२ गतेसम्म ४ दिन सञ्चालन भएको कार्यक्रममा ४ वटै पालिकाका १६ देखि २४ वर्ष उमेर समुहका युवाहरु सहभागि थिए । कार्यक्रमको सहजिकरण सामाजिक अभियन्ता तथा स्थानीय शासन बिज्ञ प्रकाश उपाध्ययले गरेका थिए ।