अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू 

काठमाडौं। छोरोलाई युरोपतिरका देशमा पठाउने भनेर रोमहर्ष कालाथोकी मलेसिया लागेका थिए। उनि पहिला पनि मलेसियातिरै बसेर कमाउँथे। घोराही उपमहानगरपालिका- १७ जनप्रिय टोलमा उनले आफ्नी श्रीमति अनि कान्छो छोरालाई छोडेर जेठो छोरालाई काठमाडौं पठाएका थिए। 

२२ वर्षीय बसन्त कालाथोकी फ्रान्स जाने तयारीमा थिए। र केही समयदेखि काठमाडौं बसेर भाषा सिक्दै थिए। उनि शंखमूलस्थित भ्लाली ब्वाइज होस्टेलमा बस्दै आएका थिए। शुक्रबार साँझ होस्टेलमा केही केटाहरूबीच विवाद चर्कियो। समान्य विवादलाई लिएर होस्टलमा ग्याङवार नै सुरु भयो। केही समयपछि एक हूल केटाहरू आएर कालाथोकीलाई धारिला हतियारले धमाधम हिर्काउन थाले।

धारिलो हतियारले चोट खाएर गम्भिर घाइते भएका कालाथोकीलाई बानेश्वरस्थित सिभिल अस्पतालमा लगियो। उपचार हुँदाहुँदै कालाथोकीको त्यहीँ मृत्यु भयो। अस्पतालमै रहेको प्रहरीले कालाथोकीको घरमा आमालाई फोन गरेर मृत्युको खबर दियो। सुक्कसुकाउँदै फोन काटेकी आमा बिना कालाथोकी सरासर कोठाभित्र छिरिन् र पासो लगाइन्। केही बेरमा उनको मृत्यु भयो। 

दाङको घोराहिस्थित जनप्रिय टोलको एउटा सुन्दर परिवार यसरी अनाहकमै उजाडिएको छ। छिमेकीले खबर गरेपछि प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो। शुक्रबार उता छोरा मारिए। शनिबार यता आमाले पासो लगाइन्। कान्छो छोरालाई अहिले हजुरबुवाले राखेका छन्। 

श्रीमान रोमहर्ष मलेसियाबाट नेपाल आउने तरखरमा छन्। उनि नआञ्जेल आमाछोराको शव अस्पतालमै हुनेछ। 

वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनाका श्रीमान् रोमहर्ष कालाथोकी मलेसियाबाट नेपालतर्फ हिँड्ने तयारीमा छन्। 
वसन्तको हत्या आरोपमा सोही होस्टलमा बस्दै आएका बारा, कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव प्रहरी नियन्त्रणमा छन्। प्रहरीका अनुसार उनीहरूले वसन्तको टाउको र घाँटीलगायतका भागमा कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते अवस्थामा उद्धार गरिएका वसन्तलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थिय । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि फरार रहेका प्रमित पटेललाई प्रहरीले शनिबार दिउँसो मकवानपुरबाट पक्राउ गरी काठमाडौं लगेको छ। अर्का आरोपी शेखर यादवलाई भने प्रहरीले काठमाडौंमै नियन्त्रणमा लिएको थियो। वसन्तको हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौंका होस्टेलहरूमा यसअघि पनि यस्ता धेरै घटनाहरूका कारण विवादमा आउने गरेका छन्। खासगरी केटाहरू बस्ने होस्टेलमा लागु औषधको प्रयोग, होहल्ला र मारपिट हुने गरेका छन्। केही दिनअघि भक्तपुरको एउटा महिला होस्टेलमा खानाको विषयलाई लिएर सञ्चालक र होस्टलमा बस्नेहरूबीच ठूलै लफडा भएको थियो। 

होस्टलहरूमा निरन्तर यस्ता आपराधिक गतिविधि हुन थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तोकिएका मापदण्ड पूरा नगर्ने होस्टेलहरूलाई सिधै सिल गरेर जरिवानासमेत तिराउने चेतावनी दिएको छ। 

प्रशासनको चेतावनी 
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी रूपमा सञ्चालनमा रहेका छात्रावास (होस्टेल) हरूलाई एक महिनाभित्र सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

कार्यालयले जारी गरेको सूचनामा काठमाडौँ जिल्लाभित्र सञ्चालित छात्रावासबारे विभिन्न प्रकारका गुनासा प्राप्त भएकाले नियमित तथा आकस्मिक अनुगमनलाई तीव्र बनाइएको जनाएको छ। अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्ने केही छात्रावासलाई तीन लाख रुपियाँसम्म जरिवाना गरिनुका साथै सिलसमेत गरिएको प्रशासनले उल्लेख गरेको छ।

सूचनाअनुसार केही छात्रावासमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने, तोकिएकोभन्दा बढी शुल्क असुल्ने, कमजोर भौतिक पूर्वाधारमा सञ्चालन हुने, सरसफाइमा ध्यान नदिइएको, खाद्यान्न तथा खानेपानीको गुणस्तर कमजोर रहेको तथा सुरक्षा व्यवस्था अपर्याप्त रहेको पाइएको छ।

त्यस्तै, छात्रावासभित्र लागुऔषध तथा मदिराजन्य पदार्थको दुरुपयोग हुने गरेको, पर्याप्त अध्ययन कक्ष, पुस्तकालय तथा मनोरञ्जन कक्षको व्यवस्था नभएको लगायतका गुनासासमेत आएको प्रशासनले जनाएको छ। केही घटनामा छात्रावासभित्र झुन्डिएर विद्यार्थीको मृत्यु भएको घटनासमेत भएको सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले सबै निजी छात्रावास सञ्चालकलाई एक महिनाभित्र आवश्यक सुधार गर्न निर्देशन दिँदै तोकिएका मापदण्ड अनिवार्य रूपमा पालना गर्न चेतावनी दिएको छ।

प्रशासनले छात्रावास सञ्चालनका लागि सरकारी तथा स्थानीय तहले जारी गरेका मापदण्ड पूर्ण रूपमा लागू गर्न, विद्यार्थीलाई सुरक्षित र मर्यादित वातावरण उपलब्ध गराउन तथा आन्तरिक सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह गरेको छ।

यस्तै, छात्रावासमा लागुऔषध, मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री–वितरण रोक्न, सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्न, पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था गर्न, अध्ययन कक्ष र पुस्तकालय सञ्चालन गर्न तथा सरसफाइ र खाद्य गुणस्तर कायम राख्न पनि निर्देशन दिइएको छ।

साथै, स्वच्छ खानेपानी, विद्युत्, इन्टरनेट तथा वैकल्पिक सेवाको भरपर्दो व्यवस्था गर्नसमेत प्रशासनले छात्रावास सञ्चालकलाई आग्रह गरेको छ।