वर्षेनी बाँके डुब्नुको कारण लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध

वर्षेनी डुब्छ बाँकेका ३० हजार हेक्टर भूमि 


विजय मल्ल विजय मल्ल   सोमबार, असार २५, २०८१
वर्षेनी बाँके डुब्नुको कारण लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध

नेपाल–भारत सीमा नजिक भारतले बलमिच्याईँ गरेर बनाएको लक्ष्मणपुर बाँध ।

नेपालगन्ज २४ असार : बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र तटबन्ध बनायो । त्यसपछि शुरु भयो, बाँके राप्ती तटीय क्षेत्रका बासिन्दाको वर्षेनी बाढी र डुबानको पीडा । 

मनसुनको समयमा भारतले तटबन्धको ढोका त खोल्छ तर, आफु अनुकूल । जसका कारण बाँकेका हजारौं खेतीयोग्य जमिन डुबानमा पर्छ । नदी तटिय क्षेत्रका जनताको घरगोठ पानीमा डुब्छ, जनधनको क्षति पनि हुन्छ । 

भारतको यो प्रवृतिका कारण प्रत्येक वर्ष बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर, लक्ष्मणपुर, नरैनापुर, खडैचा लगायतका गाउँका झण्डै पाँच हजार घरधुरीका करिब २४ हजार नागरिकहरु प्रभावित हुन्छन् र बाढी पीडितको नियती भोग्न बाध्य हुन्छन् । अनि राज्यले वर्षेनी उही नियती भोग्दै आएका सो क्षेत्रका जनताका लागि भनेर परम्परागत उद्धार र राहतका लागि काम गर्छ ।

1562522614duban_banke_file.jpg
बाढी र डुबानपछि स्थानीय प्रशासन कार्यालयले उद्दार, राहत र अस्थायी पुर्नस्थापनाको व्यवस्था त मिलाउँछ, तर यो अवस्था कहिलेसम्म भन्ने प्रश्नको प्रष्ट जवाफ भने कोहिसँग पनि छैन ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

मनसुन चरम उत्कर्षमा भएको समयमा बाँके जिल्ला प्रशासन कार्यालयले नेपाली भूमि डुबान हुन नदिन भारतीय पक्षसँग तटबन्धको ढोका खोल्न यदाकदा आग्रह गरे पनि त्यसले पूर्णरुपमा सार्थकता भने पाउँदैन । 

२०७२ सालमा आएको बाढीबाट बाँके राप्ती नदी तटीय क्षेत्रका बासिन्दाले अहिलेसम्मकै ठूलो जनधनको क्षति भोगेका थिए । त्यो वर्षको बाढीलाई सम्झेर बाढी पीडितहरु अझै झस्किने गर्छन् । 

मनसुनको समय शुरु भएपछि बाँके राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढी र डुबानकै त्रासमै बाच्नु पर्ने नियती भोग्न बाध्य छन् । रातिको समयमा भारी वर्षा भयो भने उनीहरु सुत्न सक्दैनन् । सुरक्षित स्थानमा पुग्न भागाभाग हुन्छ । फेरी २०७२ सालकै नियती दोहोरिने त हैन भन्ने संन्त्रासले वर्षेनी उनीहरुलाई पिरोलीरहन्छ ।

गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सिङ्गो नरैनापुर गाउँपालिका डुवानमा प¥यो । नरैनापुरका महतिनिया, बनियागाउँ, सुइया, रोशनपुर्वा, गंगापुर, मियाँपुर्वा, लक्ष्मणपुर, बालापुर, कोटिया, पचपेडवा, जनतापुर, रेतहिया, गेगली, कोदिपुर्वा लगायतका गाउँ डुबानमा परे ।

यस्तै नरैनापुर, घोडदौरिया, जयरामपुर्वा, खोदावा, मटेहिया, नेवाजीगाउँ, भगवानपुर, मोतीपुर, महादेवनगर, नयाँबस्ती, गंगापुर, भोजपुर, कुदरबेटवा, सोनबर्षा, दोदरा लगायतका गाउँ डुबानमा परेको विपद व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्रले बताए ।

यसपटकको अविरल वर्षाले डुडुवा गाउँपालिकाका बेतहनी, उत्तरबाणी, कोल्ही, होलिया, पिप्रहवा, खडैचा, चौफेरी, पाँजा, बनकट्टी, कम्दी र सन्तलिया गाउँ डुवानमा परे । 
यतिमात्र होईन राप्तीसोनारीको बाघखोर, चुनाहा, सिक्टा, सौरी, बैरिया, तितिनघारी, कुसुम, भवनीयापुर, फत्तेपुर, विनौना लगायतका क्षेत्रमा बाढी र डुवान भयो । यी क्षेत्रमा ठूलो मात्रामा क्षती भएकोछ ।

1563012415Duban_Flood.jpg
बाँकेमा राप्ती नदीको बाढी र डुबानवाट प्रत्येक वर्ष नागरिकहरु हताहत हुन्छन्, आर्थिक नोक्सानी पनि हुन्छ । फरक यति मात्र हो, कुनै वर्ष क्षतिको अवस्था धेरै हुन्छ भने कुनै वर्ष अलि थोरै हुन्छ ।

बाँकेबासीका लागि अभिषाप बनेको लक्ष्मणपुर बाँध र कलकलवा मार्जिनल तटबन्ध

भारतले बाँकेको होलिया नजिकै कएतर्फीरुपमा १३ किलोमिटर लामो कलकलवा मार्जिनल तटबन्ध निमार्ण गरेको छ । सन १९९९ देखि सुरु भई सन् २०० मा सम्पन्न भएको सो तटबन्ध साढे २२ किलोमिटर लामो, ५ मिटर उचाई र ५ मिटर चौडाई छ । उक्त तटबन्धका कारण नेपालबाट दक्षिण तर्फ बग्ने खोलानालाको प्राकृतिक प्रवाह रोकिँदा १८ वर्षदेखि नेपाली भूमि डुबानमा पर्दै आएकोछ । 

यस्तै भारतले नेपालको सीमानजिक राप्ती नदीमा लक्ष्मणपुर बाँध बनाएकोछ । सन् १९८० मा सुरु भएको उक्त निमाण कार्य सन् १९८५ मा सम्पन्न भएको हो । यी तटबन्ध र बाँधका कारण वर्षेनी बाँकेका ३० हजार हेक्टर भूमि डुबानमा पर्नुका साथै ४ हजार ५ सय घरपरिवारका २७ हजार ७ सय ५० ब्यक्ति प्रत्यक्ष प्रभावित हुँदै आएकाछन् ।

Uddar_rapti_nadi-1720363397.jpg
यतिमात्र होइन भारतले नेपाल–भारत सीमानाका दशगजासँगै सटाएर ५ मिटर उचाई भएको ३० मिटर चौडा बाँधजस्तो सडक निमार्ण गरेकोछ । डुडुवा गाउँपालिका–६ नयाँवस्ती लगायतको केही किलोमिटरको स्थानमा मात्र उक्त बाँध जस्तो सडक बनाउन बाँकी छ ।

सरकारले बाढी र डुबानको विपत आएको समयमा नागरिकको उद्दारका लागि आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राख्ने गरेकोछ ।

Laxmanpur-bandh_india_2-1720442714.jpg
नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरित राप्ती नदीमा बनाएको सिचाँईका लागि बाँध ।

नदीमा जल प्रवाहको स्तर खतराको चिन्हभन्दा माथि आएमा सायरन बजाउने, सूचना प्रवाह गरेर सर्तकता अपनाउने, सुरक्षित स्थानमा स्थान्तरणको व्यवस्था मिलाइने गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र, बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले बताउँछन् । 

यी सबै प्रयासले बाढी र डुबानबाट हुने क्षति कम त गर्न सकिएला, तर दीर्घकालिन समाधानका लागि नेपाल सरकारले भारत सरकारसँग लक्ष्मणपुरको बाँध र तटबन्धका विषयमा वार्ता गरि निकास निकाल्नु सबैभन्दा उपयुक्त हुन्छ ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पहिलो भारत भ्रमणमा पनि डुबान समस्या वार्ताको एजेण्डा थियो । तर, १८ वर्ष पुग्दा पनि भारतले नदी नियन्त्रणका लागि सिन्को भाँचेको छैन । सो क्षेत्रबाट चुनाव जित्नेहरुको मुख्य एजेण्डा नै बन्ने गरेपनि राप्ती तटिय क्षेत्रका बासिन्दाको समस्या ज्यूँका त्यूँ छ । 

laxmanpur_dam_noksani-1720444043.jpg
यसअघि भारतले नेपाल–भारत सीमा क्षेत्रमा पर्ने होलिया नजिकको पिलर नम्बर ५४ (हाल डुडुवा गाउँपालिका–१ देखि उत्तरपश्चिम कचनापुर र उत्तरपूर्व विनौनासम्म) पक्की तटबन्ध निर्माण गर्ने भनिएको थियो । 

राप्ती नदीको दुवैतिर ३५ किलोमिटर पक्की र ६ किमी माटोको तटबन्ध निर्माण गर्ने सहमतिसहित भारतले बजेट स्वीकृत गरेको बताइएको थियो ।

यसका लागि नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले डीपीआर अनुरुप कहाँकहाँ र कसरी निर्माण सुरु गर्ने ? त्यसको पनि पुनः स्थलगत अध्ययन गर्ने बताइएको थियो । तर,राप्ती नदी तटिय क्षेत्रका जनता वर्षेनी उही नियती भोग्न बाध्य छन् ।

Narainapur_rapti_nadi_katan_nirixan-1717826584.jpg
यस्तो छ बाँधको ईतिहास

भारत सरकारद्वारा निर्माण गरिएको लक्ष्मणपुर बाँध र त्योसँगै निर्माण गरिएको २२.५ किमि लामो कलकलवा तटबन्धमा अन्तर्राष्ट्रिय कानून विपरीत छ भन्ने कुरा नेपाल सरकार र स्थानीय समुदाय सबैलाई थाहा छ ।

नेपाल–भारत सीमासँगै जोडेर भारतले राप्ती नदीमा सन् १९८१ मा सुरु गरी सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बांधको निर्माण गरेको देखिन्छ भने आर्थिक वर्ष १९९९–२००० मा २२.५ कि.मि. कलकलवा मार्जिनल तटबन्ध निर्माण काम समापन भएपछि बाँके जिल्लाको सबैभन्दा बढि होलिया, बेतहनी, फत्तेपुर, गङ्गापुर र मटैहियामा डुबान र कटान, पटान समस्या अत्यधिक रूपमा वृद्धि हुँदै आएको छ । 

लक्ष्मणपुर बाँध र यसको २२.५ किमि लामो कलकलवा मार्जिनल तटबन्ध निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती क्षेत्रका बासिन्दाहरू हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन् । 

Dasgaja_nepal-2081-1720442766.jpg
नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक भारतले निर्माण गरेको बाँध जस्तो सडक । 

दशगजामा नेपालको सहमिती विनै संरचना निर्माण

नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट ३ देखि ५०० सय मिटरसम्म मात्रको दूरीमा बनाइएको कलकलवा मार्जिनल तटबन्ध निर्माण गरिएको छ र नेपाली भूभागबाट बग्ने सानाठूला खोला र खहरेहरूलाई प्राकृतिक रूपमा बग्ने पानीको अवरोध सृजना भएको र राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाइमा कुनै किसिमको अवरोध नहोस् भन्ने दीर्घकालीन उद्देश्यका साथ २२.५ कि.मि लामो कलकलवा मार्जिनल तटबन्ध निर्माण गरिएको र नेपालबाट यसको व्यापक विरोध हुन थालेपछि उक्त कलकलवा मार्जिनल तटबन्धलाई जोड्ने बाटोको रूपमा परिणत गरिएको हो । 

राप्ती नदी नेपाल हँुदै भारत गएको हो र भारत प्रवेश गर्ने वित्तिकै नहर बनाएर राप्तीको पानी उपभोग गर्ने एकलौटी अधिकार भारतलाई छैन । सीमाबाट ८ किमिको दूरीसम्ममा त्यस्तो संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनै पर्दछ । तर, राप्तीको बाँध निर्माणमा भारतीयपक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन । 

दशगजाबाट कलकलवा बाँधको दूरी आधा किमिभन्दा पनि कम छ । लक्ष्मणपुर बाँध पनि दशगजा क्षेत्रबाट ४ किमिभन्दा बढी दूरीमा छैन । त्यसैले त्यहाँ नेपालको हक त मिचिएकै छ, त्यसले नेपालका साविक ५ वटा गाविसका ३३ गाउँलाई नै डुबाउने काम गरेको छ । 

आफ्नो एकलौटी निर्णयद्वारा उत्पन्न यो समस्या समाधान गर्ने जिम्मेवारीबाट भारत पन्छिन पाउँदैन । यो समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकार समक्ष आफ्नो अधिकार मिचिएको र यो भारत सरकारको मिचाहा प्रवृत्तिलाई सच्याउँदै तत्काल क्षतिपूर्तिका लागि माग गर्नुपर्दछ ।

1561567675Rapti_Katan_banke.jpg