नेपालगन्ज। बाँकेको अम्बे स्टील कम्पनीभित्र आगलागी भएको छ। जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ।
फलाम इन्जिनमा प्रयोग हुने तेल भरिएको उक्त ट्याङ्कीमा सर्ट सर्किट भएर आगलागी भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब साढे १ बजे ट्याङ्कीमा आगलागी भएको थियो। एक्कासि आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुराबाट खटिएको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको र आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी कम्पनीले दिएको छ। उक्त घटनामा मानवीय तथा अन्य कुनै भौतिक संरचनामा क्षति भने नभएको प्रहरीले जनाएको छ।