नेपालगन्ज। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले फेरि अर्को एउटा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अन्तर्गत विश्वकप छनोटका खेलहरू आयोजना गर्ने राष्ट्रका रुपमा अब नेपाल पनि चिनिनेछ। त्यसैअन्तर्गत आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ श्रृङ्खलाका आगामी प्रतियोगिता काठमाडौंमा हुने भएको छ।
उक्त प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए र बी का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ।
खेल नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म आयोजना गर्ने जनाएको छ।
यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरका लागि छनोट हुनेछन्।
यसैबीच नेपाल र भारत ‘ए’ बीचको शृङ्खला भने अनिश्चितकालका लागि सरेको छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ‘ए’ बीच निर्धारित क्रिकेट शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र नेपाल क्रिकेट संघ (क्यान) बीचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने क्यानले जनाएको छ।
लगभग १८ दिनसम्म चल्ने यो प्रतियोगितालाई नेपालले अन्तर्राष्ट्रिय क्रिकेटका क्षेत्रमा हासिल गरेको एक महत्वपूर्ण उपलब्धी भन्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
र लेखेका छन् ‘एउटा ठूलो सपना हासिल गर्नका लागि यो एउटा कदम हो। हामी निरन्तर अघ बढिरहने छौं। विश्वास गरिरहनेछौं र अझ ठूलो लक्ष्यमा पुग्नेछौं।’
नेपाल लिग २ मा शीर्ष ४ मा पर्न नसकेपछि सिधै क्वालिफायरमा जान पाएको छैन। अब यो प्लेअफमा राम्रो प्रदर्शन गरेर शीर्ष ४ मा परेमा मुख्य क्वालिफायरमा जानसक्ने सम्भावना भने बाँकी नै छ। त्यहाँबाट विश्वकपको यात्रा तय गर्न सकिनेछ। घरेलु मैदानमा हुने यो प्रतियोगिता समग्र नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण हुनेछ। यसले लिग २ र च्यालेन्ज लिगबीच प्रमोसन–रेलिगेसन पनि निर्धारण गर्छ ।