नेपालगन्ज। सहर पसेका अनि विदेशिएकाहरू गाउँघरतिर फर्किने याम हो दसैं। घरपरिवारसँग ठूलो पर्व मनाउन फर्किनेहरूका लागि भने कर्णालीका बाटाहरू कहिल्यै सुरक्षित भएनन्।
यसपालि दसैंको मुखसम्मै वर्षा भइरहँदा कर्णाली राजमार्गका कतिपय बाटा अनि पुलहरू भत्किएका छन्। मुख्य राजमार्गमै ठाउँठाउँमा पहिराले बाटो लगेको छ। जसका कारण कर्णालीका जिल्लाहरू एक आपसमा विच्छेद भएका छन्।
यसले गर्दा जोखिम मोलेर गाउँ पुग्नुपर्ने बाध्यता छ। दसैंमा हुने यात्रु चापका कारण हिमाली जिल्लामा हवाइ उडानसमेत पाउन गाह्रो हुन्छ। जुम्ला, दैलेख, कालिकाेटलगायतका जिल्लामा पर्ने याे सडकखण्डका धेरै ठाउँमा सडङ्क अवरुद्ध छन्।
कर्णालीको दक्षिणी क्षेत्रमा सडकका कारण सास्ती भोगिरहेका कर्णालीवासीलाई उत्तरतिर हिमपातका कारण अर्को प्राकृतिक नाकाबन्दी भोग्नुपरेको छ।
हिमपातका कारण बन्द भएको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक खुलाउन अझैं केही दिन लाग्ने भएको छ। यो दसैंभरि लगभग खुल्ने छैन। हुम्लाको नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेको छ।
योजना प्रमुख बेलबहादुर नेपालीले सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ। मौसमले साथ दिए मङ्गलवार सम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए।
सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको करिब ९५ किलोमिटर सडकखण्ड हिमपातका कारण अवरुद्ध भएको छ।
लामो दूरीको सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रमा रहेका पर्यटक तथा स्थानीयवासी प्रभावित भएका छन्। चीनको ताक्लाकोट क्षेत्रमा व्यापार तथा रोजगारीका लागि पुगेका हुम्लासहितका नेपालीलाई समेत घर फर्किन समस्या भएको छ।
चीनको पुराङ क्षेत्रमा रहेका नेपालीलाई हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्न सडक अवरुद्ध हुँदा कठिनाइ भएको छ। दसैं मनाउन घर फर्किने तयारीमा रहेका नेपाली सडक खुल्ने प्रतीक्षामा छन्। हिल्सा नेपाल–चीन सीमावर्ती क्षेत्र हो। सडक बन्द हुँदा दैनिक आवतजावत तथा सामान ढुवानी प्रभावित भएको छ। सडक सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा रोकिएका नेपालीलाई घर फर्किन सहज हुने अपेक्षा गरिएको छ।
हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यका जाने सडकसमेत हिमपातका कारण अवरुद्ध भएको छ। सल्लीदेखि नालुपास हुँदै लिमी भ्याली जोड्ने सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयवासीको जनजीवन प्रभावित भएको हो।
नाम्खा गाउँपालिकाको न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेपछि लिमीका तिल, हल्जी र जाङलगायत गाउँको आवतजावत प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीलाई उपचारका लागि बाहिर लैजान तथा अत्यावश्यक कामका लागि गाउँबाहिर जान समस्या भएको छ।
दसैंमा कर्णाली-कहर: माथितिर हिउँले छेक्यो, यता पहिराले
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे