नेपालगन्ज। सल्लान जिल्लामा प्रकोपकै रुप लिएको स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
यो सरुवा रोगबाट सबैभन्दा धेरै प्रभावित गाउँपालिका पनि दार्मा नै हो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी प्रतीक भट्टका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ।
कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ।
यसैगरी, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार मल्लको असोज २८ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। जिल्ला अस्पतालबाट घर फर्किएका उनलाई पछि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए।
वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। जिल्लामा संक्रमितको संख्या उल्लेख्य रहेकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन्।
स्क्रब टाइफस संक्रमित माइट (एक प्रकारको भुसुना)को टोकाइबाट सर्ने रोग हो। यसको जोखिम कम गर्न घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउने, बुट तथा पञ्जा प्रयोग गर्ने र घरवरपरका झाडी सफा राख्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन्।
ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। समयमै उपचार नपाएमा स्क्रब टाइफसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
भट्टका अनुसार स्क्रब टाइफस नियन्त्रणका लागि कार्यालयले जिल्लाव्यापी विभिन्न सचेतनामूलक तथा सेवामूलक कामहरू गर्दै आएको छ। त्यसका लागि संघीय स्वाथ्य मन्त्रालयले नमुना परीक्षणहरुको काम गरिरहेको छ भने प्रदेश स्वास्थ्य निर्देशनलाय र स्वास्थ्य मन्त्रालयले पनि स्थानीयसँग समन्वय गरिरहेका छन्।
खासगरी लक्षणहरू देखा परेको लामो समयसम्म पनि स्वास्थचौकी नपुर्याइए र अरु पनि रोगले च्यापेकाहरूको यसरी मृत्यु हुने गरेको छ।
‘सामान्यतया यो रोग त्यतिधेरै घातक होइन। यसकै कारण मृत्यु भइहाल्छ भन्ने हुँदैन। सामान्य ज्वरोको उपचारबाटै यो निको भइहाल्ने रोग हो। तर यहाँ धेरै लामो समयसम्म स्वास्थ्य चौकी नलैजाने अनि घरेलु उपचारमै भर पर्दा त्यसले ज्यानसमेत लिने गरेको छ’ उनले भने ‘त्यसमै पनि अरु रोगले च्यापिरहेको हुन्छ। लक्षण स्क्रब टाइफसकै देखा पर्छ अनि मृत्यको कारण पनि त्यही नै हुन्छ।’