समाचारकक्षबाटै धमाधाम पत्रकार उठाउँदै प्रहरीको टोली


सेतोखरी सेतोखरी   ८ घण्टा अगाडि
समाचारकक्षबाटै धमाधाम पत्रकार उठाउँदै प्रहरीको टोली

नेपालगन्ज। प्रहरी संगठनका उच्च अधिकारी तथा न्यायालय मुछिएका समाचार लेख्ने पत्रकारहरूलाई प्रहरीले खोजीखोजी समाउन थालेको छ। केही दिनयता सरकारले आइजिपी दानबहादुर कार्कीलाई हटाउने, हाल थुनामा रहेका बिचौलिया इनम सापकोटासँग प्रहरी उच्च अधिकारीहरू र न्यायाधीशको सम्बन्धबारेमा नेपालका विभिन्न सञ्चारमाध्यमहरूले समाचार लेखिरहका छन्। 

ती समाचारहरू बाहिरिएपछि बिहारबारमात्रै नेपाल प्रहरीले विज्ञप्ती निकालेर अपुष्ट समाचार नलेख्न पत्रकारहरूलाई कडा चेतावनी दिएको थियो। त्यस्तै प्रहरी संगठनका अधिकारीहरूलाई पनि अनुसन्धानमा रहेका विषयमा बाहिर नबोल्न भनिएको थियो। त्यसअघि प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्कीले सबै प्रदेशका डिआइजीहरूलाई पनि बोलाएर छलफल गरेका थिए। 

शुक्रबार नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयबाट साधा पोशाकका प्रहरीले नेपाल प्रेस अनलाइनका पत्रकार विश्वमणि सुवेदीलाई समाचारकक्षबाटै नियन्त्रणमा लगेको थियो। उनलाई साइबर ब्यूरोको कार्यालयमा पुर्‍याइएको छ। त्यस्तै मोटिभेट न्यूजका सम्पादक शोभराज बराललाई पनि प्रहरीले लगेको छ। 

दिउँसोदेखि नै प्रहरीको एउटा टोली पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई खोज्न पुगेको छ। उनलाई साइबर ब्यूरोको आदेशमा लिन आएको भन्दै उनिहरू पत्रिकाको समाचारकक्षमै बसिरहेको नयाँ पत्रिकाका पत्रकारहरूले बताएका छन्। 

मैनालीले नयाँ पत्रिकामा न्यायाधीश, आइजिपीहरू र बिचौलिया सापकोटाको सम्बन्धबारे समाचार लेखेका थिए। त्यस्तै दियोपोस्ट अनलाइनका सम्पादक सुदीप विश्वकर्मालाई पनि खोज्दै प्रहरी कार्यालयमा पुगेको छ। 
प्रहरीस्रोतका अनुसार बिना प्रमाण प्रहरी र न्यायालयमाथि अनावश्यक लाच्छना लगाउने समाचार लेख्ने पत्रकारहरूलाई स्रोत पुष्टीलगायतका विषयमा सोधपुछ गर्न उनिहरू खोजी गरिएको हो।