पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो

नेपालगन्ज। सञ्चारमाध्यमका समाचारकक्षबाटै शुक्रबार प्रहरीले धामाधम पत्रकारहरूलाई गिरफ्तार गरेर कसैलाई प्रहरीको साइबर ब्यूरो र अपराध अनुसन्धान कार्यालय लग्यो। सँगसँगै समाजिक सञ्जाल अनि सञ्चार क्षेत्रबाट त्यसको ब्यापक विरोध र आलोचना भयो।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकै सरकार छ। यो पार्टीकै नेता, सांसद अनि स्वंय पार्टीले पनि त्यसको विरोधमा समाजिक सञ्जालमा लेखे। प्रेस काउन्सिलदेखि पत्रकार महासंघसमेतले विज्ञप्ती जारी गरे। प्रमुख प्रतिपक्ष पार्टी नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पनि त्यसो विरोध गरे। 

अनि प्रधानमन्त्री कार्यालयका प्रेसविज्ञ दीपा दाहालले समाजिक सञ्जलमार्फत प्रधानन्त्री कार्यालयको ध्यानाकर्षण भएको भन्दै गिरफ्तार गरिएका सबै पत्रकारहरूलाई तत्काल रिहा गर्न आदेश गरेको सन्देश जारी गरिन्। तत्कालै गिरफ्तार भएका सबै पत्रकारहरू रिहा भए। तर यो बीचमा गृहमन्त्रालय अनि त्यस अन्तर्गत रहेको प्रहरी प्रधान कार्यालयलेसमेत कुनै प्रतिक्रिया दिएन। 

तत्कालै सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा लेखे ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’

शुक्रबार दिउँसोदेखि प्रहरी संगठनका उच्च अधिकारी तथा न्यायालय मुछिएका समाचार लेख्ने पत्रकारहरूलाई प्रहरीले खोजीखोजी समाउन थालेको थियो। केही दिनयता सरकारले आइजिपी दानबहादुर कार्कीलाई हटाउने, हाल थुनामा रहेका बिचौलिया इनम सापकोटासँग प्रहरी उच्च अधिकारीहरू र न्यायाधीशको सम्बन्धबारेमा नेपालका विभिन्न सञ्चारमाध्यमहरूले समाचार लेखिरहका छन्। 

ती समाचारहरू बाहिरिएपछि बिहारबारमात्रै नेपाल प्रहरीले विज्ञप्ती निकालेर अपुष्ट समाचार नलेख्न पत्रकारहरूलाई कडा चेतावनी दिएको थियो। त्यस्तै प्रहरी संगठनका अधिकारीहरूलाई पनि अनुसन्धानमा रहेका विषयमा बाहिर नबोल्न भनिएको थियो। त्यसअघि प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्कीले सबै प्रदेशका डिआइजीहरूलाई पनि बोलाएर छलफल गरेका थिए। 

शुक्रबार नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयबाट साधा पोशाकका प्रहरीले नेपाल प्रेस अनलाइनका पत्रकार विश्वमणि सुवेदीलाई समाचारकक्षबाटै नियन्त्रणमा लगेको थियो। उनलाई साइबर ब्यूरोको कार्यालयमा पुर्‍याइएको छ। पछि अनलाइनका सञ्चालक अनि प्रधानसम्पादकलाई समेत साइबर ब्यूरोले फोन गरेर उपस्थित हुन बोलाएको थियो। सुवेदीसँगै मोटिभेट न्यूजका सम्पादक शोभराज बराललाई पनि प्रहरीले लगेको थियो।
दिउँसोदेखि नै प्रहरीको एउटा टोली पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई खोज्न पुगेको थियो। उनलाई साइबर ब्यूरोको आदेशमा लिन आएको भन्दै उनिहरू पत्रिकाको समाचारकक्षमै दुईघण्टासम्म बसेका थिए।

मैनालीले नयाँ पत्रिकामा न्यायाधीश, आइजिपीहरू र बिचौलिया सापकोटाको सम्बन्धबारे समाचार लेखेका थिए। त्यस्तै दियोपोस्ट अनलाइनका सम्पादक सुदीप विश्वकर्मालाई पनि खोज्दै प्रहरी कार्यालयमा पुगेको थियो। 
प्रहरीस्रोतका अनुसार बिना प्रमाण प्रहरी र न्यायालयमाथि अनावश्यक लाच्छना लगाउने समाचार लेख्ने पत्रकारहरूलाईस्रोत पुष्टीलगायतका विषयमा सोधपुछ गर्न उनिहरू खोजी गरिएको थियो।