काँग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध


काँग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके घटनाका वास्तविक अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभाको आईतबारको बैठकमा काँग्रेसले बाँके घटनामा संलग्न भनी पीडितले किटानी जाहेरी गर्न जाँदा स्थानीय प्रशासनले अस्वीकार गरेको भन्दै तत्काल जाहेरी दर्ता गरी वास्तविक दोषीलाई कारवाहीको प्रतिवद्धता जनाउन सरकारसँग माग गरेको हो ।

बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपनि काँग्रेसका सांसदहरुले किटानी जाहेरीको निवेदन दर्ता गर्न माग गर्दे बैठक अवरोध गरेका हुन् ।

राष्ट्रियसभामा नेपाली काँग्रेसका संसदीय दलका नेता सुरेन्द प्रसाद पाण्डेले योजनाबद्ध रुपमा बाँके घटना गराइएको तथा किटानी जाहेरी दर्ता गर्न पनि अस्वीकार गरिएको भन्दै तत्काल जाहेरी दर्ता गराउन माग गरे ।

Kanti Aarogya Hospital Nepalgunj

उनले यस्ता घटना र घटनाप्रति सरकारले देखाएको कार्यशैली दोहोरिँदै जादा राजनीतिक दलहरु राज्य आंतकको शिकार बन्दै जानुपर्ने अवस्था श्रृजना हुने भन्दै वास्तविक दोषीलाई कारवाहीको प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने बताए ।

काँग्रेस सांसदहरुको अवरोध जारी रहेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।