नेपालगन्ज: गिरिजाप्रसाद कोइराला फाउन्डेसन अष्ट्रेलियाको सल्लाहकारमा सल्यानका राजीव नरसिङ् केसी नियुक्त भएका छन् ।
गरिजाप्रसाद कोइराला फाउण्डेसनकी केन्द्रिय अध्यक्ष सुजाता कोइरालाद्वारा हस्ताक्षरित सल्लाहकारमा नियुक्त गरेको पत्र गत बुधवार केसीलाई पठाइएको छ ।
गिरिजाकी छोरी सुजाता कोइराला अध्यक्ष भएको यो फाउण्डेसन नेपालका विभिन्न जिल्ला लगाएत विभिन्न बाहिरी देशहरुमा विस्तार गरिएको छ । अष्ट्रेलियाको पर्थमा सपरिवार बस्दै आएका केसी नेपाली काँग्रेसको राजनीतिमा २०४९ साल देखि लागेका हुन् ।
सल्यानको बागचौर नगरपालिका ८ कोटमौला स्थाई र नेपालगन्ज स्थित बाँकेबयिया घर भएका केसी नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् ।
उनी २०५७ साल देखि २०६८ साल सम्म नेविसंघ सल्यानको अध्यक्ष भए । पारिवारिक पृष्ठभूमी नै काँग्रेस भएकाले केसीलाई राजनीतितिर तानेको थियो । त्यसैले त तत्कालिन माओवादीले द्वन्द्वको समयमा २०५५ सालमा राजीवका बुवालाई सल्यानमै हत्या गरे ।
त्यसपछि राजिव झन काँग्रेस राजनीतिमा सक्रिय भए । शाही कदमको विरोध गरेको भन्दै उनलाई पटक–पटक पक्राउ गरि हिरासतमा समेत राखियो । महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्ज र आरआर क्याम्पस काठमाण्डौंमा केसीले नेविसंघको तर्फबाट सक्रिय राजनीति गरे ।
केसी सल्यान जिल्लामा नेपाली काँग्रेसको महत्वपूर्ण व्यक्ति भित्र पर्छन् । काँग्रेस राजनीति मात्र नभएर उनी नेपालमा रहँदा सक्रिय पत्रकार पनि हुन् ।
केसी काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस यूनियनको महत्वपूर्ण व्यक्तिका रुपमा चिनिन्छन् । साथै केसी काँग्रेसी पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघको केन्द्रिय राजनीतिमा समेत सामेल भैसकेका छन् । उनले २०६३ मा सल्यान एफ एमको समेत स्थापना गरे ।