कोहलपुर २६ मंसिर: पछिल्लो समय कोहलपुर क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन् । एक महिनामा नगरभित्रका १० वटा पसलमा चोरी भएका छन् ।
चोरीका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षित वातावरणमा व्यवसाय संचालन गराउन विशेष सुरक्षा नीति लागू गर्न माग गरेका छन । मंगलबार राती मात्रै ईलाका प्रहरी कार्यालय कोहलपुरको मुखैमा रहेको एक ईलेक्ट्रोनिक्स पसलमा चोरी भएको छ ।
न्यूरोडमा रहेको पप लाईफ ईलेक्ट्रोनिक पसलमा चोरी भएको पसलका संचालक प्रदिप भट्टराईले जानकारी दिए । उक्त पसलको उत्तरतर्फको सटर फोडेर ७ लाख मूल्य बराबरका ३५ वटा मोवाईल सेट चोरी गरिएको भट्टराई बताउँछन् ।
ईलाका प्रहरी कार्यालयदेखि करिव एकसय मिटरको दुरिमा रहेको उक्त पसलको ताला फोडेर मोवाईल लगाएतका ईलेक्ट्रोनिक्स सामानहरू चोरी हुँदा समेत प्रहरी वेखवर भएको उनले बताए । पसलमा रहेको सिसि टिभिमा चोरी हुँदै गरेको भिडियो समेत रेकर्ड भएको पसल संचालक भट्टराईले जानकारी दिए ।