नेपालगन्ज : बाँके प्रहरीले चालु आर्थिक वर्षको पुस मसन्तसम्ममा लागू औषधको ओसार पसारमा संलग्न रहेको अभियोगमा एक सय १९ मुद्दा दर्ता गरेको छ । एकसय ८२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा एक सय ६७ जना नेपाली पुरुष, ५ महिला, ९ जना भारतीय र १ जना बंगलादेशी नागरिक रहेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा ८४ वटा मुद्दा र त्यसमा संलग्न एक सय २९ जना मानिस नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगन्जले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको व्यूरोका ईन्चार्ज तथा प्रहरी निरिक्षक वीरबहादुर थापाले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट २ सय ६९ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर, ३९ किलो ३ सय ५६ ग्राम चरेश, २ किलो ७ सय २० ग्राम गाँजा, ५ लिटर ८ सय मिलिलिटर कोरेक्स, ५ हजार २ सय ७६ टे्ब्लेट नाईट्रोजोपाम र २४ टेब्लेट स्पास्मो बरामद गरेको छ ।
तथ्याकअनुसार लागू औषध वसारपसारमा आर्थिक वर्ष २०७२÷०७३ मा ९७ वटा मुद्दामा १ सय ८ जनालाई नियन्त्रणमा लिएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा लागू औषध वसार पसारको १ सय ३७ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा १ सय ८० जनालाई नियन्त्रणको थियो ।
यसैगरी आथिक वर्ष २०७४/०७५ लागू औषध वसारपसारमा संलग्न भएको आरोपमा १ सय ४५ मुद्दा दर्ता गरी ३ सय १० जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाईएको छ । प्रहरीका अनुसार नेपालबाट गाँजा, अफिम र चरेश भारत तर्फ लैजाने र भारतबाट ब्राउन सुगर, नाईट्रोजोपाम ट्याब्लेट, स्पास्मो टेब्लेट र कोरेक्स जस्ता लागू औषधहरु नेपाल भित्रिने गरेको छ ।
लागू औषधको कारोबारी तथा सेवनकर्ता अवस्था किशोर किशोरीको संलग्नता ८० दशमलभ ५२ प्रतिशत रहेकको छ । १० देखि ३५ वर्ष उमेर समूहका ८० प्रतिशत भन्दा बढी रहेका छन् । चालु अथिक वर्षको पुस मसान्तसम्म प्रहरी नियन्त्रणमा रहेकाको अवस्था १८ वर्ष भन्दा मुनीका ९ दशमलव ७३ प्रतिशत, १८ देखि २५ वर्षका ५८ दशमलव ४० प्रतिशत, २५ देखि ३५ वर्षका २२ दशमलव १२ प्रतिशत, ३५ वर्षदेखि ४५ वर्षसम्म ५ दशमलव ३० प्रतिशत र ४५ वर्ष माथी ४ दशमलव ४२ प्रतिशतको संलग्नता रहेको तथ्याकंले देखाएको छ ।