डेढ क्वीन्टल ब्रोईलर कुखुरा बरामद


डेढ क्वीन्टल ब्रोईलर कुखुरा बरामद

अवैध कुखुरा तस्करिमा प्रयोग गरिएको मोटरसाईकल ।( तस्विर: सद्भाव)

नेपालगन्ज : भारतीय प्रतिबन्धित ब्रोईलर कुखुरा तस्करले बाँकेका विभिन्न स्थानबाट दिनहुँ अवैध रुपमा भित्र्याउने गरेका छन् । दिनहुँ तस्करी भईरहँदा पनि सरोकारवाला निकाय मौन बसेका छन् । प्रहरी चौकी राधापुरले बुधबार बिहान खजुरा गाउँपालिका वडा नम्बर १ बेलडाँडाबाट ठुलो परिमाणको ब्रोईलर कुखुरा बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको हो । तस्करले दिनहुँजसो ठुलो परिमाणको कुखुरा अबैध रुपमा भित्र्याउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

‘तस्करीमा प्रहरीको पनि कही न कही मिलेमतो छ,’ एक स्थानीयले भने ‘सेटिङ मिल्दासम्म प्रहरीले तस्करहरुलाई छाडिदिन्छ, जब पैसाको कुरा मिल्दैन तब कुखुरा समात्छ ।’ तस्करले प्रयोग गरेको भे ७ प २८४३ नम्बरको मोटरसाईकल सहित त्यसमा लोड गरिएको डेढ क्वीन्टल ब्रोईलर कुखुरा बरामद गरेको चौकीका ईन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक जंगबहादुर एमसीले बताए । बरामद गरिएको कुखुरा पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जमा बुझाइएको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

ब्रोइलर कुखुरा ओसार्ने कार्यमा संलग्न टोपबहादुर राना फरार रहेको प्रहरीले जनाएको छ । ‘बिहानपख गस्तीमा हिडेको बेलामा भारतबाट कुखुरा ल्याएर आउँदै रहेछ, हामीलाई देख्ने वित्तिकै मोटरसाईकल पल्टाएर भागिहाल्यो,’ एमसीले भने ‘फरार ब्यक्ति पेशेवर हो, यसअघि पनि बोईलर कुखुरा बोकेको उसको मोटरसाईकल हामीले बरामद गरिसकेका छौं ।’ करिव दु्ई महिनासम्म कुखुरा ओसारपसार बन्द भएपनि बुधबार पुनः बरामद गरिएको प्रहरी चौकीले जनाएको छ ।