दुर्घटनाग्रस्त सांसद ओली सवार कार
दाङ : दाङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने प्रदेश सांसद उत्तरकुमार ओली सहित १४ जना घाइते भएका छन् ।
दाङको घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई ठक्कर दिँदा रमिता शर्माको मृत्यु भएको हो ।

रूकुम पश्चिम खलंगा नगरपालिका वडा नं.२, मुसिकोट निवासी अन्दाजी २७ बर्षीया शर्माको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिए । घोराही उपमहानगरपालिका वडा नं.३ स्थित मसोट खोलाको ओरालोमा कारलाई जोगाउन प्रयास गर्दा बस तल खसेको थियो । त्यही बसमा च्यापिएर रुकुम पश्चिम निवासी शर्माको मृत्यु भएको प्रजिअ रिजालले बताए ।
घोराही–लमही सडक खण्डमा बिहीबार बेलुका पौने ५ बजेतिर बसले कारलाई ठक्कर दिएको थियोे । दुर्घटनामा परि सांसद ओलीको टाउको र खुट्टामा चोट लाग्दा गम्भीर घाईते भएको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सांसद ओलीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगन्ज पठाइएकोछ । अन्य घाइतेको फ्लोरेन्स अस्पताल लमहीमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लमहीले बताएको छ ।
सांसद ओली बुटवलबाट तुलसीपुरस्थित घरतर्फ फर्कदै थिए । उनको कारमा सांसद ओली र अर्का युवा लिला विक मात्रै सवार रहेको बुझिएको छ । कार सांसद ओलीले आँफै चलाएको भन्ने खुल्न आएको छ ।