नेपालगन्ज : दाङमा बस र जिप एक आपसमा ठोकिदाँ भएको दुर्घटनामा परि गम्भीर घाईते भएका पाँच नम्बर प्रदेशका सांसद उत्तरकुमार ओलीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ ।
बिहीबार बेलुका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाकरका लागि भर्ना भएका घाईते सांसद ओलीको यहाँ उपचार सम्भव नभएपछि शुक्रबार १ बजेतिर श्री एयरको हेलिकप्टरबाट काठमाण्डौं लगिएको नेकपाका नेता रविन्द्र लम्सालले सद्भावलाई जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाईते भएका सांसद ओलीको टाउको र छातिमा गम्भिर चोट लागेको छ । उनलाई काठमाण्डौंस्थित मेडिसिटी हस्पिटलको चिकित्सक सहितको टोली हेलिकप्टरमा आई काठमाण्डौ लगिएको नेता लम्सालले जानकारी दिए ।
‘सांसद ओलीको अवस्था हिजोको भन्दा आज सुधार आएको कोहलपुरका चिकित्सकले बताएका छन् । टाउकोमा रगत जमेको बताएकाले थप उपचारका लागि उहाँलाई भर्खर हेलिकप्टरबाट काठमाण्डौं पठायौं ।’ सद्भाव डटकमसंग लम्सालले भने ।
घोराही–लमही सडकमा बिहीबार बेलुका पौने ५ बजेतिर उक्त दुर्घटना भएको थियो । दाङ्गको घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा परि रूकुम पश्चिम खलंगा नगरपालिका वडा नं.२, मुसिकोट निवासी अन्दाजी २७ वर्षीया रमिता शर्माको मृत्यु भएकोछ । घोराही उपमहानगरपालिका वडा नं.३ स्थित मसोट खोलाको ओरालोमा कारलाई जोगाउन प्रयास गर्दा बस तल खसेको थियो ।