घाईते बाछाको उपचार गरिदैं ।
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–२१, साविक पुरैनाको बिर्तागाउँमा रहेको गौशालामा १६ वटा गाई मरेपछि उपमहानगरपालिको शुक्रबार मात्रै आँखा खुलेको छ ।
गाई मरेको खबर चौतर्फी आएर उपमहानगरको प्रतिष्ठामाथी प्रश्न खडा भईसकेपछि उपमहानगरपाकिाले गाई बचाउँ अभियान शुरु गरेको हो । नत्र अहिलेसम्म गौशाला मर्मत, सुधार तथा व्यवस्थापन र चौपायलाई आवश्यक खुराकमा उपमहानगरपालिका उदासिन भईरहेको थियो ।
यहि माघ १४ गतेदेखि सञ्चालनमा ल्याएको उक्त गौशालामा दैनिक जसो गाई मर्नथालेपछि उपमहानगरपालिकाले शुक्रबारदेखि ‘गाई बचाउन’ अभियान शुरु गरेको छ । गाईको उपचार, स्वाास्थ्य परीक्षणका लागि पशु चिकित्सकको टोली बिर्तागाउँ पुगेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले गाई बचाउन पराल, भुस, ढुटो, नुनमात्रै होइन, शक्तिप्रवद्र्धक खनिज ढिक्काकै व्यवस्था गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेले बताए । प्रत्येक गाईलाई एक÷एक वटा पुग्ने गरी खनिज ढिक्का राखेको उनले जानकारी दिए ।
गाईले यसलाई टोक्न सक्दैनन्, चाट्ने मात्रै हो उपमहानगरपालिकाका पशु शाखाका इन्चार्ज भोजराज रावलले भने ‘यसले शक्ति बढाउने काम गर्छ । अहिले त्यहाँ एउटा बाछीमात्रै बिरामी छ । अरु सबै निरोगी छन् ।’ उपमहानगरपालिकाका अनुसार, दश दिनमा आठ वटा गाई मरेका छन् । पशु शाखाका इन्चार्ज रावलले छाडा पशु व्यवस्थापनमा भनेर छुट्याइएको चार लाखमध्येबाटै गौशालामा राखेका गाईको स्याहार गर्न माथिबाट आदेश आएको बताए ।
गौशालामा तीन जना कर्मचारी खटाइएको छ । गौशालाका इन्चार्ज राकेश भारतीका अनुसार, उनीसँग एकजना नगर प्रहरी र सहयोगी छन् । भारतीले यसअघि फूल्टेक्रामा रहेको काञ्जीहाउस रेखदेख गर्ने गरेका थिए । अहिले एउटा बाछीको अवस्था गम्भीर छ । त्यसलाई उपचार त गरियो छ । तर मर्नेजस्तो छ, भारतीले भने, ‘अरुको अवस्था राम्रै छ ।’ बिर्ताको गौशालामा ल्याइएका गाईलाई केही महिना नेपालगन्ज –१५, पिप्रहवाको टंकपसरीमा राखिएको थियो । त्यहाँ राख्दा आवश्यक खानेकुरा नपाएर सबैको स्वास्थ्य अवस्था बिग्रिएको रावलले बताए । ‘टंकपसरीमा पुसको जाडोमा गाईलाई आवश्यक खानेकुरा खान नदिएर राखियो । साह्रै कमजोर भए । त्यही गाई यता ल्याउदा दैनिकजसो नै मरे, रावलले भने, अहिले त खाने, बस्नेदेखि औषधीसम्मको व्यवस्था मिलाएका छौं । अब मर्दैनन् ।’ खुल्ला सीमा भएकाले भारतबाट छाडा पशु आउने गर्दछन् । त्यसै पनि नेपालगन्जमा छाडा छोडेर गाई पाल्नेको कमी छैन । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुलाई नियन्त्रणमा लिदै गौशालामा राख्ने तयारी गरेको छ ।
नेपालगन्ज सहरभरी छाडा चौपायको बिगबिगी छ । चौपाय व्यवस्थापनका लागि उपमहानगरपालिका ढोक्रो मात्रै बजाउँछ । सहरभरी एउटा पनि व्यवस्थित गौशाला छैन् । यतिबेला फूल्टेक्रामा रहेको काञ्जीहाउस उपमहानगरकै लापरवाहीले बन्द छ । यसको मर्मत गरी सञ्चालन गर्ने तर्फ उपमहागरको अझै ध्यान जान सकेको छैन् । बिर्तागाउँको गौशालामा पशु राख्न शुरु भएपनि त्यहाँ पशुका लागि बस्नको समेत उचित व्यवस्थापन नहुँदा अहिले पशुचौपायाले अकालमै ज्यान गुमाईरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका रमिते बनिरहेको छ ।
उपमहानगरपालिकाले बिर्तागाउँ नजिक बनाइरहेको गौशाला पुरा नहुँदै छाडा पशु चौपाया राख्न थालेपछि अहिले समस्या आएको छ ।निर्माणाधीन गौशालामा ६२ पशु चौपाया छन् । गौशालामा पशुचौपायाको हेरचाह गर्न तीन जना कर्मचारी छन् । तर, ती कर्मचारीको काम तलब भत्ता पचाउँने भन्दा अरू नभएको स्थानीय बताउँछन् ।