नेपालगन्ज : प्रहरी प्रधान कार्यालयले ‘एक प्रहरी चौकी एक मोटरसाइकल’को अवधारणा अघि सारेको बेला बाँकेको नेपालगन्जमा सुरक्षा गस्तीका लागि प्रहरीलाई साईकल प्रदान गरिएको छ ।
साधन स्रोतको अभावमा प्रहरी गतिविधि गर्न असहज भएपछि यहाँको वडा कार्यालयले अस्थायी प्रहरी चौकीलाई मंगलबार साइकल प्रदान गरेको हो । यद्यपी प्रहरी प्रधान कार्यालयले ‘एक प्रहरी चौकी एक मोटरसाइकल’को अवधारणा अघि सारेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ ले अस्थायी प्रहरी पोष्टका १४ हजार बराबरको दुई वटा साइकल प्रदान गरेको छ । वडाको बजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सहयोग गरिएको वडा अध्यक्ष सुरेन्द्र गुप्ता बताउँछन् । जनताको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको हौसला स्वरुप सहयोग गरिएको उक्त साधनले आफनो क्षेत्रमा गस्त गर्नका लागि सहज हुने प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बसन्त केसीले बताएका छन् ।
चौकीमा कम्तीमा एक मोटरसाइकल अनिवार्य भन्ने अभियानका साथ बाँके प्रहरीले जिल्लाका अधिकाशं चौकीमा मोटरसाइकल व्यवस्था गरिसकेको बाँके प्रहरी प्रमुख एसपी अरूण पौडेल बताउँछन् । अपराधीहरुले पनि अपराधको तरिका परिवर्तन गरेको, कतिपय अवस्थामा तत्काल प्रहरी पुग्नुपर्ने अवस्थाका लागि मोटरसाइकलको अवधारणा अघि सारेको उनी बताउँछन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कारबाही मानव अधिकार मैत्री बनाउन पाँच वटा ‘वाटर क्यानन’ खरिद गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक प्रहरी चौकी एक मोटरसाइकलको अवधारणा अनुसार ३ सय ४० वटा मोटरसाइकलका लागि विनियोजन भएको बजेट अनुसार खरिद कार्यको बोलपत्र मूल्यांकनको चरणमा रहेको छ ।