सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल एपिएफ र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोली ।( तस्विरः सद्भाव)
नेपालगन्ज : बाँकेस्थित नेपाल–भारत दशगजा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल एपिएफ र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा गस्ती गरेका हुन् ।
दशगजा क्षेत्रमा शान्ती सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी गण बाँकेका गणपती सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहको कमाण्डमा २५ जना र भारतीय एसएसबी ४२ बटालियन नानपारा बहराईचका कमाण्डर प्रविन कुमारको कमाण्डमा १५ जनाको टोलीले संयुक्त गस्ती गरेका थिए ।
दुबै टोलीले बाँकेको जानकी गाँउपालिका वडा नम्बर १ शिवपुरीस्थित मुख्य सीमा स्तम्भ नम्बर ६५५/९३६० देखि डडुवा गाँउपालिका–६ मुन्सीपुरुवास्थित सहायक सीमा स्तम्भ नम्बर ६४९/१०० सम्म संयुक्त गस्ती गरेको सशस्त्र प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।
सशस्त्र प्रहरी गणको मातहतमा रहेका जिल्लाका सबै विओपीले पनि नियमित रुपमा मासिक र पाक्षिक रुपमा एसएसबीसँग संयुक्त गस्ती गर्ने गरेका छन् । संयुक्त गस्ती फाल्गुन दुई गतेसम्म जारी रहने एसपी शाहले बताए ।