नेपाली काँग्रेस ईतिहासमा सीमित नहोस्


नेपाली काँग्रेस ईतिहासमा सीमित नहोस्

धर्मेन्द्र झा

आदरणीय बीपी,
जय नेपाल !

आज साउन ६ । तपाईंको स्मृति दिवस । नेपाली कााग्रेसका समर्थकहरुले तपाईंलाई महामानवको उपाधि दिएका छन् । तर, तिनैले तपाईंका महान् विचार अनुसरण गर्न कन्जुस्याइँ गरिरहेका छन् ।

२०३९ सालमा आजैका दिनमा तपाईंले यस धर्तीबाट सदाका लागि महाप्रस्थान गर्नुभयो । क्यान्सरजस्तो असाध्य रोगबाट पीडित तपाईंका त्यो यात्रा सहयोगी नै बन्यो होला । तर, नेपाल र नेपालीका लागि तपाईंको देहत्याग एक किसिमले अभिशाप नै बन्न पुग्यो ।

Kids Festival 2022
kanti aarogya hospital
add

मधेसलाई उचित सम्बोधन गर्नुपर्ने तपाईंको सल्लाह नमान्दा काँग्रेसले आफ्नो पकड क्षेत्र गुमायो । तपाईंले सबै नेपालीलाई एक शूत्रमा आबद्ध गर्ने देखेको सपना साकार गर्ने प्रयत्न तपाईंका उत्तराधिकारीबाट नहुँदा आज जहाँ एकातिर नेपालको राष्ट्रियता कमजोर हुने अवस्था छ भने अर्कोतिर नेपाली नागरिक सत्ताबाट भेदभावको सिकार भएका छन् । यसको जिम्मेवारी लिन आज कोही पनि तयार देखिएका छैनन् । सत्ता देश र जनताको कल्याणका लागि साधन हुनुपर्ने हो । तर, आज राजनीतिकर्मीहरु सत्तालाई साध्य मानिरहेका छन् ।

नेपाली काँग्रेसका संस्थापक

तपार्ईंले नेपाली काँग्रेसको स्थापनामा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेको ईतिहास साक्षी छ । यसै पार्टीका माध्यमबाट तपाईंले नेपालको कायापलट गर्ने योजना बनाउनुभयो । कुनै पनि योजना बनाउँदा जनतालाई केन्दमा राख्नुपर्ने यहाँको सल्लाह कसैले मानेको छैन । प्रत्येक नेपालीको पहुँचमा टिनले छाएको घर, एक हल गोरु, एउटा दुहुनो गाई हुुनुपर्ने प्रस्ताव पछिल्ला दिनमा हराएर गयो ।

भनिन्छ–‘शरीर नश्वर हुन्छ, आत्मा मर्दैन । यसो हो भने वर्तमान नेपालको अवस्था हेर्दा निश्चय पनि तपाईको आत्मा दुःखी हुँदो हो । आज कताकता लाग्छ, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मूल नारा र दर्शन रहेको तपाईंको पार्टीले नै यी सबै दर्शन बिर्सिसकेको अवस्थामा अन्य पार्टीलाई यी विषयमा सहमत बनाउने हैसियत काँग्रेसले गुमाएको छ ।

क्रान्तिका महानायक

ईतिहास साक्षी छ, २००७ सालको क्रान्तिको महानायकका रुपमा नेपाली जनताले तपाईंलाई स्वीकारेका छन् । तपाईंकै नेतृत्वमा भएको राणाविरुद्धको क्रान्तिमा सम्पूर्ण नेपाली होमिएका थिए । क्रान्तिपछि देशमा प्रजातन्त्र स्थापना गर्ने, देशको आर्थिक विकास गर्ने, आमजनताको जीवनस्तरमा आमूल सुधार गर्ने र सामाजिक न्यायको स्थापना गर्ने अपेक्षा नेपालीले राखेका थिए ।

क्रान्ति सफल भएपछिका दिनदेखि नै जनअधिकारविरुद्धका षडयन्त्र सुरु भए । क्रान्तिका परिणाम धेरैले मन पराएनन् । जनता शक्तिसम्पन्न भएको राजसंस्थाले पनि मन पराएन । क्रान्तिको महत्वपूर्ण उपलब्धिका रुपमा नागरिक स्वतन्त्रतालाई मानिएको थियो तर राजतन्त्र र तिनका आसेपासेले परिवर्तनलाई सहजै स्वीकार गर्न सकेनन् ।

तपाईंले नेतृत्व गरेको क्रान्तिविरुद्ध तत्कालीन राजा र यहाँका कम्युनिस्टहरु मिलेको कुरा धेरैले आँकलन गरेका थिए । तपाईं स्वयंले पनि यो तथ्य स्वीकार्नुभएको थियो । त्यसैले पनि होला तपाईं वामपन्थीसँगको सहकार्यमा लोकतान्त्रिक आन्दोलन सफल हुन सक्दैन भन्ने निष्कर्षमा पुग्नुभएको थियो । तपाईंले भारतका तात्कालीन उपप्रधान र गृहमन्त्री सरदार वल्लभभाई पटेललाई लेखेको पत्रमा पनि वामपन्थीबारे व्यक्त गर्नुभएको दृष्टिकोणले यही कुरा पुष्टि गर्छ ।

दुर्भाग्य ! तपाईंको पार्टीले २०४६ को जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनका लागि तिनै वामपन्थीको सहयोग लिन पुग्यो । यस अवस्थामा तपाईंले नेपाली काँग्रेसको सिद्धान्तका रुपमा प्रतिपादन गरेका विचार क्रमशः असान्दर्भिक बनाइए । देशले अहिले त्यसैको परिणाम ब्यहोरिरहेको छ ।

जननिर्वाचित प्रथम प्रधानमन्त्री

२०१५ सालमा सम्पन्न प्रथम आमनिर्वाचनबाट जनताले तपाईंको पार्टीलाई दुई तिहाइको विजय प्रदान गरेका थिए र तपाईं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । तर, तपाईको कार्यकाल १८ महिनाको मात्र हुन पुग्यो । नेपालमा लोकतन्त्र हठात समाप्त पारियो ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले तपाईंलाई अपदस्थ गरेर बन्धक बनाएपछि देशमा पञ्चायती व्यवस्थाका नाममा एकतन्त्रीय शासन स्थापना गरे । तीस वर्षसम्म चलेको यो व्यवस्था धेरै हदसम्म वामपन्थी दर्शनबाट प्रभावित थियो । प्रजातान्त्रिक समाजवादसम्बन्धी तपाईंका धारणालाई तत्कालीन विश्वले नै स्वीकार गरेको थियो ।

विश्व समाजवादी आन्दोलनको नेतृत्वकर्तामध्ये तपाईंको वैचारिक उचाइ दिनप्रतिदिन बढिरहेको थियो । यो कुरा नेपालभित्र र बाहिर धेरैलाई मन परिरहेको थिएन । तपाईं अपदस्थ हुनुमा निश्चय पनि देशी विदेशी चलखेल प्रमुख कारक थियो । त्यस बेला निम्तिएको राजनीतिक अस्थिरता कुनै न कुनै रुपमा आजपर्यन्त नेपालमा छ ।

तपाईंलाई अपदस्थ गरिएपछिका तीस वर्षसम्म चलाइएको शासनमा लोकतन्त्रका कुनै मूल्य–मान्यताको अनुसरण गरिएन । जनताका अधिकार सुरक्षित हुन सकेनन् । मानवअधिकार सधैं चुनौतीपूर्ण अवस्थामा रह्यो । प्रेसलाई बन्धक बनाएर राखियो । लोकतान्त्रिक संरचना निर्माणलाई अवरुद्ध गरियो । २०४६ को जनआन्दोलनपछि तपाईंको पार्टीले धेरै समय देशको शासन सञ्चालन त गर्यो तर, काँग्रेसको मूल सिद्धान्त बिर्सियो । यही कारण हो, वामपन्थीहरु अहिले लोकतन्त्रका नाममा एकदलीय शासनको अभ्यास गरिरहेका छन् ।

देश निर्माणका स्वप्नद्रष्टा

तपाईंले देश निर्माणको जुन सपना देख्नुभएको थियो त्यो विविध कारणले पूूरा हुन सकेनन् । तपाईंको सपना पूरा गर्ने तदारुकता नेपाली काँगे्रसकै नेता तथा कार्यकर्ताले पनि देखाउन सकेनन् । तिनले मौका नै नपाएका त होइनन नि । तर, प्राप्त अवसरको सदुपयोग गर्न सकेनन् । नेताहरु गुटबन्दीमा व्यस्त रहे र छन् । गुट र उपगुटका नाममा खुद्रे समूहको उपस्थितिले काँग्रेस अत्यन्त कमजोर बनेको छ ।

एकले अर्कोलाई निषेध गर्ने क्रम बढेको छ । तपाईंले त्यही बेला समावेशीकरणको नीति अख्तियार गर्नुभएको हो । देशका सबैथरि पहाडी, मधेसी, हिमाली, जनजाति, महिला, दलितलाई खोजीखोजी अवसर प्रदान गर्नुभएको हो । तर, अहिले निषेधको राजनीति झांगिएको छ । नातावाद र कृपावाद मौलाएको छ । अहिले कांगे्रसले देशभित्र मात्र होइन बाहिर पनि साख गुमाएको छ ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सम्बन्धमा निकै कमजोर बन्न पुगेको काँग्रेसले राष्ट्रियताका मुद्दा विपक्षीलाई सुम्पिएजस्तो देखिएको छ । अधिकांश नेताकार्यकर्ता पार्टीका नाममा कमाउ धन्दामा लागेको आरोप छ । तर, ती नेताकार्यकर्ता यस्तो आरोपको खण्डन गर्न सक्ने अवस्थामा छैनन् ।

पार्टी सरकारमा हुँदा भए गरेका नियुक्तिका लागि पनि आर्थिक चलखेल हुने गरेको सुनिएको हो । यस्तै निर्वाचनमा उम्मेदवार बनाउन पनि अर्थको निकै ठूलो भूमिका हुने गरेको आरोप सम्बद्धहरुबाटै लाग्ने गरेको छ । यस्तोमा जनताका समस्या समाधान र देश निर्माणबारे सोच्ने फुर्सद कसलाई छ ?

अन्त्यमा

नेपाली काँग्रेस आज ईतिहासकै सर्वाधिक कठिन मोडमा छ । वैचारिक र सांगठनिक दुवै दृष्टिले कमजोर साबित भइरहेको काँग्रेसका लागि तपाईंको आदर्शको सच्चा अनुशरणले एक नयाँ ऊर्जा प्रदान गर्न सक्छ । तर, काँग्रेस त्यसतर्फ खासै गम्भीर रहेको पाइँदैन । काँग्रेस आज विगतमा जनाधार बलियो रहेकै क्षेत्रमा कमजोर बनेको छ ।

दोस्रो र तेस्रो पुस्ताका नेपाली जनताबीच काँग्रेस आकर्षणको केन्द्र बन्न सकिरहेको छैन । पार्टी गुट उपगुटमा विभाजित भई निजी र वर्गीय स्वार्थमा चुर्लुम्म डुबेको छ । सैद्धान्तिक धरातल अस्पष्ट रहेको आरोप लागिरहेको छ । यस्तोमा प्रश्न उठ्छ, काँग्रेसले देशमा सबै अटाउने लोकतन्त्रको विकास र संवद्र्धन कसरी गर्न सक्छ ?

स्थिति अझै पनि नियन्त्रण बाहिर गइसकेको छैन । काँग्रेसका नेताहरुले वर्तमानको काँग्रेस र देशको भविष्यको लोकतन्त्रबारे गम्भीर देखाएनन् भने देश सधंैका लागि वामपन्थी कब्जामा जाने निश्चित छ । अहिले पार्टी महाधिवेशनको संघारमा छ । हे महामानव ! तपाई आफ्ना पार्टीका नेतालाई सद्बुद्धि प्रदान गर्नुस् र पार्टीलाई सुदृढ र सक्षम बनाउन उत्प्रेरित गर्नुस् ।

तपाईंको आज्ञाकारी