नेपालगन्ज: गत माघ २४ गते दाङमा भएको सडक दुर्घटनामा परि गम्भीर घाईते भएका प्रदेश पाँचका सांसद उत्तरकुमार ओलीको निधन भएकोछ । घाईते ओलीको कोहलपुर स्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार हुननसक्दा उनलाई काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारका लागि लगिएको थियो ।
मेडिसिटी हस्पिटलमा लामो समयदेखि उपचारार्थ ओलीको आज बिहान ३ बजे निधन भएको हो । अस्थायी राजधानी बुटवलबाट गृहजिल्ला दाङ जाँदै गरेको आवस्थामा गत माघ २४ गते उनी सवार कार दुर्घटना भएको थियो । यात्रुबाहक बससँग सांसद ओली चढेको बा१८च ६८३६ नम्बरको कार घोराही–३ को मसोट खोला पुल नजिकै एकआपसमा ठोक्किँदा सांसद ओली गम्भीर घाइते भएका थिए ।
दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित ओलीको पार्टीको केन्द्रिय नेतृत्व तहसम्म बलियो पकड थियो । ओलीको निधनले नेकपा दाङ यतिबेला शोकमा डुबेको छ । घाइते ओलीको टाउको, खुट्टा र मुटुमा गम्भीर चोट लागेको थियो ।
२०५६ सालमा तत्कालीन नेकपा एमालेको सदस्यता प्राप्त गरेका ३६ वर्षका सांसद वली एकाएक पार्टी राजनीतिमा चर्चामा आएका थिए ।
उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रदेश ५ मा निर्वाचित सांसद ओली दाङ क्षेत्र ३ को ‘ख’ बाट गएको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।