देउवाको हिन्दु डिपार्चर


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
देउवाको हिन्दु डिपार्चर

‘म हिन्दू हुँ, हिन्दु हुँ, हिन्दु हुँ‘ भन्दाभन्दै हलभरि खचाखच कार्यकर्ताको चर्को ‘हुटिङ’सँगै देउवा एकपटक मुस्कुराए। साउन ३१ गते। नेपाली काँग्रेस ९मूल पार्टी०बाट अलकति अलग भएको एउटा समूहले आयोजना गरेको ‘राष्ट्रिय’ भेला समापन हुँदै थियो। सिङ्गापुरमा रहेका देउवालाई कुर्दासम्म कुरेर साउन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लावालस्करसहित देउवालाई निवासमा पुर्‍याएको त्यही समूहले २९ गते ‘राष्ट्रिय सम्मेलन’ आयोजना गरेको थियो। 

खासगरी विशेष महाधिवेशनलाई स्वीकार्न नसकेका काँग्रेसीहरू अहिले देउवाको नाममा एक ठाउँमा उभिएका छन्। अनि त्यसको नेतृत्वमा औपचारिक नाम भने डा. सशांक कोइरालाको राखिएको छ। 

त्यो भेलाका प्रमुख अथिति थिए पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा। खासगरी एउटा पार्टीभित्र सलबलाइरहेको फरक समूहले आयोजना गरेको यो सम्मेलन पार्टीकै आन्तरिक समस्यामा अलमलिइरहेकाहरूको भेला थियो। पार्टीकै आन्तरिक गन्थन(मन्थन नै भेलाका मुख्य कुरा थिए। तर जब देउवा बोले अनि राष्ट्रिय बहस नै अर्कोतिर मोडिएको छ। विशेष महाधिवेशनपछि नेपाली काँग्रेसभित्रको विवादहरू त छताछुल्ल भएकै छन्। त्यसमाथि देउवा फर्किएपछि त्यो विवाद अब कस्तो मोडमा जाला भन्ने अझैं हेर्न बाँकी नै छ। पार्टीका नेता कार्यकर्ताबीच ‘नेपाली काँग्रेस’ फुट्छ कि फुट्दैन भन्ने चिन्ता छ। तर आम नागरिकलाई भने देउवाको त्यो बोलीले अचम्मित पार्‍यो। उसै पनि निकै कम बोल्ने र बोलेर सित्तिमित्ति विवादमा नआउने देउवाले त्यो दिन धर्मका बारेमा बोले। 

भाषण गर्दै जाँदा उनि आफैंले भने धर्मको विषयमा बोल्नै उनको कुनै योजना थिएन। तर जाँदाजाँदै कसैले उनलाई एउटा कागजको टुक्रा दियो। त्यसमा धर्मको बारेमा बोलिदिन भनिएको थियो। देउवाले नै सुनाएअनुसार सायद त्यही हलभित्रबाट कसैले देउवासम्म त्यो चिट पुर्‍यायो कि?

अनि देउवाले निकै चिच्याएर भने ‘म हिन्दू हुँ, हिन्दु हुँ, हिन्दु हुँ‘!’ त्यसपछि कार्यकर्ताको हुटिङसँगै सिङ्गो हल जुरुक्कै उठ्यो।  
‘साथीले लेखेर दिनुभएको छ । सनातन हिन्दुका बारेमा केही बोलिदिनुपर्‍यो भन्नुभएको छ। म हिन्दु हुँ। ब्रतबन्ध पनि हिन्दु संस्कार अनुसार भएको हो। बहिनीको बिहे पनि हिन्दु संस्कार अनुसार भएको हो, मैले बिहे पनि गुहेश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ। नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ। म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु। म हिन्दु हुँ। बुद्धका प्रति माया छ। संसारले मानेको छ। वैज्ञानिक धर्म पनि भनेको छ। म हिन्दु हुँ तर कसैको खिलाप छैन’ देउवाले भने ‘म हिन्दू हुँ, हिन्दु हुँ, हिन्दु हुँ‘!’

यतिमात्रै होइन त्यो सानो कागजको चिर्कटोको प्रभाव यहाँसम्मै पुग्यो कि काँग्रेसीहरूको त्यो राष्ट्रिय सम्मेलनका घोषणाका बुँदाहरू नै फेरिए। देउवाले अन्तिम समयमा आएर धर्मका कुरा पनि उनिहरूले पारित गरेको प्रस्तावभित्र राख्न लगाए। 

त्यो भेलाको उद्घाटन र समापन पनि देउवाले नै गरे। ३१ गते भेलाको समापन थियो र त्यसमा विभिन्न समसायिक, राजनीतिक र धार्मिक प्रसशङ्गहरू पनि थिए। 

सुरुमा भेलाको अन्तिम दिन सार्वजनिक गर्नेगरी एउटा घोषणापत्र तयार पारिएको थियो। जसमा विभिन्न राजनीतिक, सामाजिक, आर्थिक र दैनिक जनजीवनसँग जोडिएका कुराहरू समेटिएका थिए। र त्यो २० बुँदमा तयार पारिएको एउटा निश्कर्ष थियो। जसको १६ नम्बर बुँदामा ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै सबै धर्म–सम्प्रदायलाई आफ्नो धर्म र संस्कृतिको पालना तथा संरक्षण गर्ने स्वतन्त्रता सुनिश्चित गर्ने’ भन्नेखालका कुरा समेटिएको थियो। 

तर देउवाले अन्तिम समयमा निश्कर्षका ती बुँदाहरू समेटिएको कागज नै रोकिदिए। त्यसको सट्टामा बरु सबै कुरा संश्लेषण गरेर पाँच बुँदामा समेटिएको एउटा संक्षिप्त प्रस्ताव कार्यक्रम सञ्चालकलाई पढ्न लगाइयो। त्यो पाँच बुँदे प्रस्तावको ३ नं बुँदामा लेखिएको छ ‘नेपालको सनातनदेखि चली आएको धर्म, संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हाव नेपालमा रहि आएके धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलि आएको हिन्दु, बौद्ध, किँरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनतान धर्मलाई राष्ट्रको रुपमा अघि बढाउने‘।’

पहिला नै तयार गरिएको २० बुँदे प्रस्तावलाई रोकेर नयाँ लेखिएका कुराहरू पढ्न थालेपछि नेता बिमलेन्द्र नीधि त त्यो कागज खोस्न नै झम्टिए। अनि उनलाई अर्का नेता प्रकाशशरण महतले सम्झाउँदै पर लगे। त्यो नोंकझोंकका बीच पनि हलमा ती प्रस्ताव पेश भए। त्यसै कारण अर्को दिन उक्त समूहले आयोजना गरेको पत्रकार सम्मेलन पनि रोकियो। कुनै बेला खुमबहादुर खड्कादेखि शंकर भण्डारीहरूले काँग्रेसभित्र छिराएको ‘हिन्दू राज्य’को मुद्दालाई जीवनको उत्तरार्द्धमा देउवाले फेरि ब्यूँताउन खोजेका छन्। 

देउवाको यो धार्मिक ‘यू-टर्न’ पछि नेपाली काँग्रेसभित्र अर्को बहस सुरु भएको छ। 

लगभग साढे पाँच महिना विदेशमा बसेर फर्किएका देउवाको हाउभाऊ देख्दा लाग्छ, उनि निकै ‘कन्फिडेन्ट’ लिएर फर्किएका छन्। तर त्यो ‘कन्फिडेन्ट’को राज भने अझै खुलाइसकेका छैनन्। 

२०८२ साल भदौ २३(२४मा भएको जेनजी आन्दोलनको बेला सारा देश जल्दै गर्दा देउवाको निजी घरमात्रै होइन, उनको व्यक्तिगत राजनीतिक जीवनसमेत ध्वस्त भयो। अरु राजनीतिक दलका नेताभन्दा उनलाई व्यक्तिगत जीवनमा निकै चोट पर्‍यो। आठ दशक सत्ता र शक्तिको रापमा जीवन बिताएका देउवालाई त्यो आन्दोलनका क्रममा कुटपिटसमेत गरियो। पत्नी आरजुसमेतलाई नेपाली सेनाले उद्धार गरेर सैनिक अस्पताल पुर्‍यायो। सैनिक अस्पतालमा तीन साताजति उपचार गरेपछि देउवा परिवार थप उपचारका लागि सिङ्गापुर हिँडे। त्यसपछि बीचमा उनि फर्किए तर गत फागुन २१ गतेको चुनावभन्दा केही दिनअघि उनि फेरि सपरिवार सिङ्गापुर गए। अनि लगभग साढे पाँच महिनापछि उनी एक्लै फर्किएका छन्। उनकी पत्नी र छोरा उतै विदेशमै छन्। 

त्यो फागुनको चुनाव आउँदासम्म नेपाली काँग्रेसभित्र ऐतिहासिक परिवर्तन भइसकेको थियो। विशेष महाधिवेशन आह्वान गरेर गगन थापा सभापति भइसकेका थिए। चुनावमा टिकट बाँड्ने ठाउँमा अब नेपाली काँग्रेसका नयाँ पुस्ता पुगिसकेको थियो। देउवालगायत कैयौ पुराना नेताहरूले टिकट पाएनन्। कतिले गगनको हस्ताक्षर स्विकार गर्न सकेनन् र टिकट लिन मानेनन्। चुनावमा ‘स्वतन्त्र’ हावाको लहर यति बेगले चल्यो कि गगन अनि केपी शर्मा ओलीसमेत कैयौ पुराना राजनीतिक खेलाडीहरूले जीवनमा निकै पीडापूर्ण हार बेहोर्नुपर्‍यो। 

योबीचमा नेपाली काँग्रेसभित्र आफ्नै आन्तरिक मुद्दा र बहसहरू चर्किसकेका थिए। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई नै आधिकारिकता दियो। त्यसलाई नमान्ने पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेसीहरू अदालत त पुगे तर अदालतले पनि आयोगकै निर्णयलाई मान्यता दियो। तर देउवा फर्किने नै भएपछि फेरि ती काँग्रेसीहरूले त्यसको पुनरावलोकनका लागि निवेदन दिए। अदालतले त्यसपछि काँग्रेस विवादको यो मुद्दालाई पूर्ण इजलासमा लगेको छ। अर्थात यो फेरि अब बिचाराधीन भयो। 

यही बीचमा देउवाको भव्य स्वागतसँगै अर्काथरि काँग्रेसीले राष्ट्रिय भेला आह्वान गरेर देउवालाई सभापतिकै हैसियतमा नयाँ काँग्रेसी घरमा भित्र्याए। यता सानेपाले भने भदौ २४ गते वडास्तरबाट १५ औं महाधिवेशनका कार्यक्रमहरूलाई अघि बढाइसकेको छ। 

अब के हुन्छ?
यसको निर्णय अब सर्वोच्च अदालतको पूर्ण इजलासले सुनाउनेछ। त्यतिञ्जेल गत पुसको अन्तिममा भएको नेपाली काँग्रेसको विशेष महाधिवेशन नै आधिकारिक हो। अर्थात् त्यतिञ्जेल नेपाली काँग्रेसको सभापति गगन थापा नै हुन्। 

देउवाको हिन्दु डिपार्चरको अर्थ के हो?
यो उनको कुनै राजनीतिक चाल होइन। न काँग्रेसीले अब अपाउने बाटो नै हो। मात्रै देउवाले एउटा विशाल नेपाली समुदायको सहानुभूतिमात्रै लिन खोजेका हुन् र धार्मिकरुपमा उनको ‘पोजिशन’ देखाउनमात्रै हो।