दार्चुला जीप दुर्घटना : मृत्यु हुने सवैको सनाखत


दार्चुला जीप दुर्घटना :  मृत्यु हुने सवैको सनाखत

दुर्घटनाग्रस्त जीप ।

दार्चुला : ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा फाल्गुन १५ गते एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाएको एक साता नवित्दै पश्चिम नेपालमा सडक दुर्घटना हुँदा ११ जनाले अनाहकमा ज्यान गुमाउनु परेको छ ।

नेपाली आकाश सुरक्षित मानिदै आएपनि विशिष्ट ब्यक्तिसहितको हेलिकोप्टर दुर्घटनाले सरकारलाई झकझकाइरहेका बेला पश्चिम नेपालमाको दार्चुलामा भएको सडक दुर्घटनाले सडक सुरक्षा सम्बन्धि चिन्ता र चासोमाथि प्रश्न उठाएकोछ ।

दार्चुला सदरमुकाम खलङ्गा बजारबाट दुहुँ गाँउपालिकाको हिकिलातर्फ जाँदै गरेको म१ ज २८० नम्बरको जीप राताकाठा भन्ने ठाँउमा दुर्घटना हुदाँ ११जनाको मृत्यु भएको थियो ।

शुक्रबार राती दार्चुलामा भएको सो जीप दुर्घटनामा परी ज्यान गुमाउने सवै मृतकको सनाखत भएकोछ । जीप दुर्घटनामा परी मुत्यु हुनेमा दुहूँ गाउँपालिका वडा नम्बर एकका २४ वर्षीय धनबहादुर बम, ७१ वर्षीया धना बम, ४५ वर्षीया गोमती बम र ५३ वर्षीया मानमती भट्ट रहेकाछन् ।
त्यस्तै दुहूँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, उनकी १५ वर्षीया छोरी निर्मला बडाल र सोही स्थानकी ३५ वर्षीया पारुली धामीको पनि दुर्घटनामा परी ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतका अनुसार दुहूँ गाउँपालिका ४ की अन्दाजी ५५ वर्षीया अम्मरा बम, ७ वर्षीया आयुशा बम, बैतडी दोगाडाकेदार गाउँपालिका–६ सित्तडका प्रताप चन्द र २१ स्नेहा बमको पनि शव पहिचान भएको छ ।

दुर्घटनामा जीप चालक दीपक सिंह धामी गम्भीर घाइते छन् । गम्भीर घाईते उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको थियो । घटनास्थल एकदमै भिरालो छ, रातको समय भएकाले सुरक्षाकर्मीहरुलाई उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए ।