७० किलो वन्यजन्तुको सिकुटीसहित दुईजना पक्राउ


७० किलो वन्यजन्तुको सिकुटीसहित दुईजना पक्राउ

गुलरिया(बर्दिया): वन्यजन्तुको सुकुटी र भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरिएकोछ । बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले उनीहरुलाई आईतबार पक्राउ गरेको हो ।

शनिबार राति राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट करिब ६ किलोमिटर उत्तरपश्चिम निकुञ्जको कोर ईलाकामा पर्ने गिठ्ठे खोला नजिक निकुञ्ज कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोली र ५/६ जनाको समूहमा रहेका सिकारीबीच गोली हानाहान समेत भएको निकुञ्ज प्रसासनले जनाएको छ ।

सहायक संरक्षण अधिकृत अशिमकुमार थापाका अनुसार सुरक्षाकर्मीलाई देख्न साथ तस्करहरुले गोली प्रहार गरेपछि सेनाले जवाफी फायर गरेका थिए । उनका अनुसार दुवैतर्फ फायर भए पनि कुनै मानवीय क्षति भएन ।

निकुञ्जका सुरक्षकर्मीको टोलीले तस्करको खोजी गर्दै जाँदा सिकारीहरु वन्यजन्तुको मासु भाग लगाएर प्याक गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
दुईजना सिकारी बन्दुकसहित थिए । सुरक्षाकर्मीलाई देख्नासाथ उनीहरुले गोली चलाए । सुरक्षाकर्मीले पनि जवाफमा गोली चलाएपछि उनीहरु भागेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

निकुञ्जका अनुसार पक्राउ पर्नेमा सुर्खेतको बराहाताल गाउँपालिका–३ नरसिहंकाडाका ३४ वर्षीय चक्रबहादुर विष्ट र २४ वर्षीय गणेश तिवारी रहेकाछन् ।

उनीहरुको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, वारुद करिब २०० ग्राम, हसियाँ पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायतका सामग्री बरामद गरिएको छ ।

यतिबेला संयुक्त सुरक्षाकर्मीले फरार रहेका सिकारीहरुलाई पक्राउ गर्न खोजी कार्य जारी राखेको छ ।

अबैध चोरी शिकार मुद्दाको अनुसन्धान गर्नका लागि निकुञ्ज कार्यालयका रेञ्जर हर्षबहादुर सिंहलाई अनुसन्धान अधिकारी तोकी अनुसन्धान कार्य अघि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ ।