नेपालगन्ज : बाँके प्रहरीले भन्सार छलि अबैध चोरी पैठारी कार्यमा आफ्नो निगरानी बढाएकोछ । जिल्लाका विभिन्न नाकामा बढ्दो चोरीनिकासी तथा भन्सार छलि अबैध सामान ओसार पसार कार्यलाई निस्तेज तथा नियन्त्रण गर्न बाँके प्रहरीले सक्रियता बढाएको हो ।
डुडुवा गाउँपालिका वडा नम्बर २, बेतहनीबाट ठूलो मात्रामा भन्सार छलि अबैधरुपमा नेपाल भित्र्याएको सामान बरामद गरेको बाँके प्रहरीले पुनः राप्ती सोनारी गाउँपालिकाको पिप्रहवाबाट ठूलो मात्रामा माछासहित अबैध सामान नियन्त्रणमा लिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७, पिप्रहवामा केहि मानिसहरुले भारतबाट अबैध रुपमा मालसामानहरु चोरी पैठारी गरी ओसार पसार गरिरहेका भन्ने गोप्य सूचनाको आधारमा तत्काल ईलाका प्रहरी कर्यालय भगवानपुरबाट प्रहरी टोलि खटि गई चेकजाँज गर्दा उक्त सामान बरामद गरेको हो ।
प्रहरीले एक क्विन्टल मंगुर जातको माछा, तीन क्विन्टल भेली(रक्सी बनाउन प्रयोग गरिने), पुरी नम्किन १२ पोका, ईम्लिपप २ पोका, सुपरपावर सुर्ति २ बोरी, जलजिरा १ पोका, बिडी २ बोरी, कालिममि ५ पोका, आरडी सुपारी २६ पोका, फोर इभन बिस्कुट १ पोका, सागर चियात्ति ५ पोका, आमरस पापड ५ डिब्बा, लाला चौधरी दालमोट १ पोका, फ्रुट बबलगम १ डिब्बा, राहाद गुलमंजन २ पोका, मस्ट बबलगम ३ डिब्बा, क्रिमरोल १ डब्बा, गोमति दालमोट ३ पोका र हंगमा दालमोट ४ पोका बरामद गरेको छ ।
पिप्रहवाघाट स्थित राप्ती नदिको किनार नजिकै रहेको बाटोको छेउमा बेवारिसे अवस्थामा अन्दाजी ९० हजार ३४० रुपैयाँ बराबरको अबैध सामान बरामद गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।
यसैबीच प्रहरीले बरामद गरेको एक क्विन्टल मंगुर जातको माछा शनिबार बिहान ११ः४० बजे स्थानीय मानिस तथा प्रतिनिधिहरुको रोहबरमा ईलाका प्रहरी कार्यालय भगवानपुरको पेरीमिटर भित्र रहेको खाली जग्गामा खाल्टो खनि पुरी नष्ट गरिएको बाँके प्रहरीले जानकारी दिएकोछ ।