जुवा खेल्दै गरेका जिल्ला समन्वय प्रमुख ओलीसहित पाँच जुवाडे पक्राउ


जुवा खेल्दै गरेका जिल्ला समन्वय प्रमुख ओलीसहित पाँच जुवाडे पक्राउ

नेपालगन्ज : जुवा खालबाट जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेकाछन् । रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गेजेन्द्रबहादुर ओलीसहित पाँच जना जुवा खेल्दै गर्दा पक्राउ परेका हुन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ पातुखोलास्थित भरत घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

रुकुम पूर्वका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक कपिल शाहीका अनुसार शुक्रबार दिउँसो ३ बजेतिर जिल्ला समन्वय समिति प्रमुख ओली, पृथा उत्तरगंगा गाउँपालिका वडा नम्बर– ५ का २९ वर्षीय सुभाष घर्तीमगर, सोही गाउँपालिका वडा नम्बर– १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसिकोट नगरपालिका वडा नम्बर– १ का ३७ वर्षीय कमल गिरी पक्राउ परेका हुन् ।

जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका उनीहरूका साथबाट २५ हजार नगद, तीन जोडी तास पनि बरामद भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

गोप्य सूचनाका आधारमा घर्तीको घरमा छापा मार्दा जिल्ला समन्वय प्रमुख ओलीसहित पाँच जना पक्राउ परेको र उनीहरूलाई थुनामा राखेर आवश्यक अनुसन्धान भइरहेको शाहीले बताए ।

पक्राउ परेका पाँचै जनाविरूद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको (जुवा) मुद्दा चलाउने तयारी गरिएकोछ ।