बागलुङ २४ माघः ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् ।
ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । उनका अनुसार फलफूल खेतीमा सङ्घीय सरकार, गाउँपालिका र किसानको समेत लागत साझेदारी छ । किसानले विभिन्न ठाउँमा गरी छ हजार ८०० ओखर, एक हजार ६०० किबी र ५०० बदामका बिरुवा लगाएका छन् ।
सात सय ५० हेक्टरमा ओखरखेती गरिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो । टर्कीबाट ल्याइएका दाँते ओखरका कलमी बिरुवा दुई हजार ८०० र नेपालमै खरिद गरिएको चार हजार बिजु बिरुवा किसानलाई वितरण गरिएको उहाँको भनाइ छ । टर्कीबाट ल्याउँदा रु ५५० मूल्य परेको ओखरको कलमी बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको छ । यस्तै नेपालकै बिजु बिरुवा किसानले रु ७५ मा पाएका छन् । कृषि प्राविधिकको अध्ययनबाट ओखरखेतीका लागि ताराखोलाको माटो र हावापानी उपयुक्त देखिएपछि खेती शुरु गरिएको हो ।
‘न्यूनतम दुई रोपनी क्षेत्रफलदेखि माथि ओखर खेती गर्ने किसान हुनुहुन्छ’, शाखा प्रमुख शर्माले भने,‘रु ५५० पर्ने ओखरको बिरुवा किसानले जम्मा रु २५० मा पाउनुभएको छ ।’ पँधेराखोला र बराहखोलामा ठूलो मात्रामा ओखर खेती गर्ने योजनामा किसान छन् । न्यूनतम दश बिरुवासम्म लगाउने किसानले मात्र अनुदान पाएको गाउँपालिकाले जनाएको छ ।
ओखरसँगै किबी र बदामका बिरुवा पनि किसानलाई अनुदानमा वितरण गरिएको छ । हाल आठ हेक्टरमा रहेको किबी खेती विस्तारका लागि यो वर्ष थप एक हजार ६०० बिरुवा अनुदानमा बाँडिएको हो । रु तीन सय पर्ने किबीको बिरुवामा पनि किसानले ५० प्रतिशत अनुदान पाएका छन् । यसअघि किबी पकेट क्षेत्रमा समेटिकाबाहेक वडा नं ३ को बराहखोला, पँधेराखोला, वडा नं २ को खुल्डाँडा, हल्पु, नागबेली खोला, वडा नं ५ को औलादी, मपेस, सिपपलगायतका ठाउँमा किबी खेती शुरु गरिएको हो ।
यस्तै ताराखोलामा पहिलोपटक बदाम खेती पनि शुरु गरिएको छ । किसानलाई बदामका ५०० बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रु पाँच सय पर्ने बदामको बिरुवा अनुदान छुटमा किसानले रु २५० मा पाएका छन् । बिरुवा रोप्नका लागि एक खाल्डो बराबर रु ३० अनुदान किसानलाई उपलब्ध गराइएको छ ।
शाखा प्रमुख शर्माका अनुसार ५०० किसानले ओखर, ५० जनाले किबी र ५० जनाले बदाम खेती शुरु गरेका हुन् । फुलफूल खेतीका लागि सङ्घ सरकारबाट रु सात लाख, गाउँपालिकाको रु सात लाख र बाँकी किसानको लगानी परेको छ ।
फलफूल खेतीले किसानको जीवनस्तर उकासिने गाउँपालिकाका अध्यक्ष घर्तीको विश्वास छ । ‘कृषि र पशुपालनसँगै स्थानीय उत्पादनमा आधारित उद्यम, व्यवसायबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ’, उनले भने । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि गाउँपालिकामा औद्योगिक ग्राम निर्माणको काम पनि अघि बढेको छ । -रासस
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा