नेपालगन्जसहित सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै


नेपालगन्जसहित सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै

नेपालगन्ज १ वैशाख : बाँकेको नेपालगन्जसहित देशका सातै प्रदेशमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालन हुने भएकोछ ।

देशका सातै प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएपछि यो कार्य बाँकेको नेपालगन्जमा पनि सञ्चालन हुनेछ ।

नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीन बीच हिजो मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो ।

एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

उनले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सर्फमर, अनलाइन विलिङ प्रणालीको जडान गरिने जानकारी दिए ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा राखिने छ । काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिने छ ।

प्रदेश नम्बर १ को झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् ।

यस्तै प्रदेश नम्बर २ को पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

बागमती प्रदेशको धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २, मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २ तथा मुङलिन÷कुरिनटारमा ४ र काभे्रको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

यसैगरि गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङजामा १/१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् ।

लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसनहरु रहनेछन् । जसमा बाँकेको नेपालगन्जमा १, दाङको भालुवाङ तथा दाङमा १/१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट÷सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन् । जसमा कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहनेछन् ।