नेपालगन्ज ५ जेठ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै आचारसंहितको पालना गर्न अपील पनि गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा विज्ञप्ति निकालेर मत मागेकै दिन आयोगले यस विषयमा चासो देखाएको हो ।
प्रधानमन्त्री ओलीले मौन अवधिको उल्लंघन गर्दै विज्ञप्तिमार्फत आफ्ना उमेदवारलाई भोट मागेका थिए । त्यसपछि आयोगले विज्ञप्ति निकाल्दै कारबाही गर्ने चेतावनी दिएको हो । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनमा केहि व्यक्तिहरुले आचार संहिता उल्लंघन गरेको भनी आपत्ति समेत जनाएको छ ।
राष्ट्रिय सभाको रिक्त एक सिटका लागि भोलि बिहीबार हुन लागेको निर्वाचनका लागि आयोगले जेठ ३ गते राती १२ बजेपछि मौन अवधि सुरु भईसकेको जनाएको छ । तर, त्यसविपरित केहि व्यक्तिहरुले प्रचार प्रसार जारी राखेको भनी आयोगले आपत्ति जनाएको छ ।
आयोगले आचार संहिता कसले उल्लंघन गरेको भन्ने प्रष्ट्याएको छैन ।
‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न नसक्ने भनि आलोचना पनि गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन । अतः निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयाोगले कानूनबमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ । निर्वाचन आचारसंहिता एक कानूनी आधार र नैतिक बन्धन पनि भएकोले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने आयोगको कार्यमा सहयोग पु¥याइदिनुहुन सम्बन्धित सबैमा आयोग पुनः अपिल गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।
आयोगले भोलि (बिहीबार) हुने वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी पनि दिएको छ ।