कोरोना महामारीसँग जुध्न छाडेर उपनिर्वाचन भएको भन्दै नेपालगन्जका मेयर राणाले मतदान बहिष्कार


कोरोना महामारीसँग जुध्न छाडेर उपनिर्वाचन भएको भन्दै नेपालगन्जका मेयर राणाले मतदान बहिष्कार

नेपालगन्ज १७ जेठ : लुम्बिनी प्रदेशको रिक्त एक सिटमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । अब प्रदेशतर्फ ३ र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेको छन् ।

कोरोना महामारीका बीच राष्ट्रियसभाको उपनिर्वाचन भएको भन्दै बाँकेको नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर धवलशमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिष्कार गरेका छन् । कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिएका हुन् ।

देशमै सबैभन्दा बढि कोरोनासँग जुझिरहेको बाँकेमा अहोरात्र संक्रमित, संक्रमितको उपचार र आइसोलेसन ब्यवस्थापनमा दिनरात खटिरहेका नेपालगन्जका मेयर डाक्टर राणाले उपनिर्वाचन भन्दा पनि कोरोना महामारीसँग जुध्ने पहिलो प्राथमिकता भएको भन्दै उपनिर्वाचन बहिष्कार गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’
राणा राप्रपाबाट नेपालगन्जको मेयर चुनिएका प्रभावशाली नेताका रुपमा परिचित छन् । विकासप्रेमी र जनप्रेमी नेताका रुपमा प्रख्यात मेयर राणाको यस्तो निर्णयलाई नेपालगन्जबासी मात्र नभएर देशभरीबाट प्रसंशनीय कार्य भएको भन्दै स्वागत भइरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

वागमती प्रदेशमा भएको उपनिर्वाचनमा राप्रपाले एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा (बादल)लाई समर्थन गरेको थियो । तर, गृहमन्त्री थापा एमाले माधव नेपाल पक्षसमेत आबद्ध विपक्षी गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थिए ।

लुम्बिनी प्रदेशको उपनिर्वाचनमा राप्रपाले ह्वीप जारी गरेको छैन । यद्यपी नेपालगन्जका मेयर राणाले पार्टीबाट कुनै निर्देशन र निर्णय नआएको जनाएका छन् ।

राप्रपाको कमल थापा निकट मानिने राणाले भने ‘पार्टीद्वारा कुनै निर्णय नगरेको र निर्देशन पनि नदिएको भन्दै मेरो प्रथम रोजाई र आवश्यकता कोरोना भाइरस संक्रमणको चेन तोड्नु हो । म त्यही कार्यमा व्यस्त छु ।’

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव भएको हो ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका पालिका प्रमुख र उपप्रमुख मतदाता छन् । भोट खसाल्न प्रदेशसभा सदस्य, पालिकाका प्रमुख–उप्रमुख र कोरोना संक्रमित जनप्रतिनिधिहरुका लागि अलग–अलग स्थान निर्धारण गरिएको छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

सोमबार १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन् । यस्तै प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गरेका छन् ।

यस्तै कोभिड तर्फको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीय तहतर्फका २१ जनप्रतिनिधि गरी २४ जनाले मत खसालेका छन् । यससँगै हालसम्म स्थानीय र प्रदेशतर्फ गरी २९२ जनप्रतिनिधिले मत खसालेका छन् । जसमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले मतदान गरेका छैनन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । यस्तै मतदानलगत्तै निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।