धवल आक्रोशित हुँदा राप्रपा अध्यक्ष थापा तर्सिए


धवल आक्रोशित हुँदा राप्रपा अध्यक्ष थापा तर्सिए

नेपालगन्ज ५ असार : पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र तीव्र अन्तरविरोध बढेको छ । राप्रपाले गठन गरेको केन्द्रिय निर्देशन समिति र केन्द्रिय विशेष समिति नै अन्तरविरोधको ज्वलन्त उदाहरण बन्न पुगेकोछ ।

राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको घोषणा गरेको थियो । केन्द्रीय निर्देशन समिति ५५ सदस्यीय र विशेष समिति २५ सदस्यीय रहेको छ । पार्टीको विधान तथा एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको भनिएपनि पुस्तान्तरणको एजेण्डा उठाउने नेताहरुलाई नसमेटिकन कमिटीलाई पूर्णता दिइएको हो ।

राप्रपाभित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला पछिल्लो समय सो पार्टीले गठन गरेको महत्वपूर्ण समितिमै त्यस्तो धारको नेतृत्व गर्ने नेताहरुलाई ‘आउट’ गरिएको पाइएको छ । जसमध्ये नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत बनेर देशभर ख्याती कमाइरहेका अब्बल नेता डाक्टर धवलशम्शेर राणालाई आउट गरिएकोछ ।

पार्टीको विशेष समितिमा आफूलाई नराखिएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका नेता डाक्टर धवल शमशेर राणा आक्रोशित बनेका छन् । विशेष समितिमा आफू स्वत पर्ने भएपनि पूर्वाग्रह साँधिएको उनको बुझाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘उनीहरुको हतास मानसिकताको उपज हो । राम्रो कुरा उठाउँदा धेरै पटक अपमानित भइयो, पछिल्लो पटक पनि अपमानित गर्ने काम भएको छ’, उनले भने, ‘कार्यकर्ताको माया, हिन्दुराष्ट्र र राजसंस्था फर्काउने अभियानमा निरन्तर लागिरहन्छु, यस्तो अपमानले मलाई केही फरक पर्दैन ।’ उनले नेतृत्व हस्तान्तरणको विषयमा बोल्दा अपमान गर्ने काम हुनु विडम्बना भएको बताए ।

उनले आफूलगायत धेरै नेताहरु अपमानित भएको बताउँदै सबैलाई संयमित रहन समेत अनुरोध गरे । ‘सबै साथीहरुलाई म संयमित रहन अनुरोध गर्दछु । सबै मिलेर पार्टीलाई अवश्यक माथि पुर्याइनेछ’, उनले भने ।

राप्रपाभित्रको यही अन्तरविरोधका बीच धवल शमशेर राणाले अब कमल थापा, पशुपति शमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले पार्टीलाई अघि बढाउनुपर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले आगामी महाधिवेशनबाट आफूलाई अध्यक्षका रुपमा अगाडि पनि सारेका छन् ।

यतिबेला पार्टीमा दोस्रो पुस्तालाई नेतृत्वमा अघि सार्ने एजेण्डा बोकेका नेताहरुलाई छानिछानी कमिटीमा नराखिएको भन्दै सर्वत टिप्पणी हुन थालेकोछ ।

पार्टीभित्र कमिटीहरु धेरै रहेको अवस्थामा शुक्रबार बनाइएको निर्देशन र विशेष समिति अर्थपूर्ण हुने भएपनि छुटाउनै नहुने नेताहरुलाई छुटाइएको भन्दै पार्टीभित्र सार्वजनिक रुपमै टिकाटिप्पणी समेत हुन थालिसकेको छ । यसले राप्रपा थप संकटमा फस्नसक्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।

राप्रपाका एक नेताले त व्यंग्य मिश्रित कटाक्ष गर्दै भनेका छन्, ‘राप्रपा पार्टी तेस्रो , चौथो शक्ति हुँदै शुन्यको अवस्थामा रूपान्तरण हुँदा पनि नेतृत्वले कहिल्यै जिम्मेवारी बोध गर्न सकेन ।’ तुलनात्मक रुपमा तत्कालीन राप्रपा संयुक्तको तर्फबाट समेटिनुपर्ने नेताहरु प्रायः समेटिएको भएपनि कमल थापाको पक्षबाट भने आलोचनात्मक चेत राख्ने नेताहरुलाई छानीछानी आउट गरिएको उनले बताए ।

यस्तै अर्का एक नेताले भने –‘कसैले नेतृत्वको आलोचना गर्दैमा वा युवा पुस्ताको नेतृत्व हुनुपर्छ भन्दैमा पूर्वाग्रही ढंगले कारबाहीको डण्डा चलाइनु गलत भएको बताए ।’
पछिल्लोपटक राप्रपाको नेतृत्व तहनै पूर्वाग्राही ढंगले अघि बढेपछि पार्टीको नेतृत्वमा युवपुस्ता आउनुपर्ने आवाज चुलिदै गएकोछ ।

यसैबीच राप्रपा अध्यक्ष कमल थापाले अब पछाडि फर्केर नहेर्ने भन्दै बरु एक्लै हिँड्ने तर, नकारात्मक सोँच भएकाहरुसँग टाढै बस्ने टिप्पणी ट्वीटरमा गरेका छन् ।

पार्टिभित्रको तीव्र अन्तरविरोधकै बीच शुक्रबार राप्रपाका प्रभावशाली नेता एबम नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर राणालाई आउट गरि बनाइएको विशेष समितिका विषयमा आफ्नो धारणा राखेपछि राप्रपाका अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

‘लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँडदा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो । अब मसंग गल्ती गरेर सच्याउने समय छैन । त्यसैले, अब मेरो पछि कति छन् भनेर हेर्दिन । बरु एक्लै हिड्ँछु, नकारात्मक सोँच भएकाहरुसंग टाढै बस्छु ।’ उनले आफ्नो ट्वीटरमा लेखेका छन् ।