कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो


सेतोखरी सेतोखरी   २२ मिनेट अगाडि
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो

काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा भासिएको सडक मर्मतका लागि सरकारले बिहीबारदेखि काम सुरु गरेको छ। अस्थायीरुपमा सञ्चालन गर्नका लागि कम्तीमा १५ दिन लाग्ने बताइए पनि लगभग १ महिनाजतिमा यो बाटो अस्थायीरुपमा सञ्चालन हुनसक्ने देखिएको छ। 

रसुवामा आएको बाढी पछि भदौ १४ गते उक्त सडकखण्ड भासिएको थियो। त्रिशुलीले बाटो जोडिएको कृष्णभीरसम्मै कटान गरेपछि बाटो नदीमा भासिएको हो। 

बिहीबार पूर्वाधारमन्त्रालयले दिएको जानकारीअनुसार अहिले दुबैतिरको माटो पन्छाउने काम भइरहेको छ। त्यसका लागि भासिएको सडकको दुबैतर्फ १८(१८ जना परिचालन गरिएको छ। त्यस्तै दुबैतर्फ रुख कटानको काम पनि भइरहेको छ। 
‘पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्। रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ। सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको छ’ मन्त्रालयले भनेको छ। 

पूर्वपश्चिम राजमार्गबाट काठमाडौं जोडिएको यो मूल सडक भासिदा अहिले काठमाडौं उपत्यकामा आपूर्ति ठप्पप्राय छ। बैकल्पिकरुपमा प्रयोगमा ल्याइएको हेटौडा सडकखण्डबाट ठूला र मालबाहक सवारी साधन पास गराउन मुस्किल छ। किनकि यो निकै घुमाउरो र साँघुरो सडक हो। सबै सवारी यही बाटोबाट चलाउनुपर्ने हुँदा यहाँ अहिले अत्यधिक सवारी चाप छ। 

कृष्णभीरको बाटो नै खसेपछि काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चि नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् ।

दुई दशकअघि कृष्णभीरको पहिरो आफैमा भयानक थियो। यहाँ पहिरो खस्दा दुई हप्तासम्म पनि यात्रुहरू सडकमै अलपत्र हुन्थे। लामो प्रयासपछि सरकारले २०६० सालमा कृष्णभीरको पहिरो नियन्त्रणका नयाँ उपाय अपनाएर केही थामथुम भयो। त्यतिबेला पहिरो नियन्त्रणका लागि बनाइएका पर्खाल र संरचनाको आयु २० वर्ष अनुमान गरिएको थियो। नभन्दै अहिले आएर बाटो नै नदीमा मिसियो। कृष्णभीरको पहिराबारेका कैयौ गीत र कहानीसमेत बनेका छन्।

विज्ञहरूका अनुसार यो सडक सञ्चालनमा आउन महिनौ लाग्नसक्छ। तर बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले भने भदौ महिनाभित्रै उक्त सडक सञ्चालनमा ल्याउने जनाएका छन्। यद्यपि अस्थायी संरचना बनाएर आंशिकरुपमा यो सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भौतिक मन्त्रालयले जनाएको छ। 

यसअघि पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका पूर्वाधार विकास मन्त्रालयको बैठकले विभिन्न निर्णय पनि गरेको थियो। 

बैठकले तत्काल विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा ुग्याबियन ब्रेस्ट वालुमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने,  ट्र्याक खोल्ने कार्यसँगै ुसेक्रिफिसियल ग्याबियन बक्सु तथा बोल्डर हिलसाइडबाट तल खसाल्ने कार्यसमेत गर्ने, कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने, कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने, माथि उल्लिखित विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र ९एमओयू० गर्नेलगायतका निर्णयहरू बैठकले गरेको थियो। 

सडक विभागले पनि उक्त बाटो खोल्नका लागि विभिन्न विकल्पहरूको अध्ययन गरिरहेको छ। बाटो भासिएलगत्तै अनुगनमा पुगेका सडक विभागका अधिकारीहरूले त्यसको तत्कालीन र दीर्घकालीन समाधानका उपायहरूको खोजी भइरहेको बताएका छन्। 

सडक विभागका सहसचिव चुणाराज ढकालले नदीको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेको र माथिल्लो भागमा समेत चिरा परेर पहिरो खसेका कारण बाटो बनाउन जटिलता भएको बताएका छन्। ‘राजमार्ग खुलाउन सडक विभागले यसलाई उच्च प्राथमिकता दिएको छ। यो राजमार्ग नेपालकै लाइफलाइन भएकाले विज्ञहरूको रायअनुसार सकेसम्म १० देखि १५ दिनमा खुलाउन प्रयत्न गरिरहेका छौं’ उनले भनेका छन्। 

उनले आगामी दिनमा नदी करिडोरमा बन्ने सडकलाई दिगो र विपद्प्रतिरोधी बनाउन सडकको उचाइ बढाउने, अग्ला पुल, वैकल्पिक लिंक र आवश्यक स्थानमा साना सुरुङ निर्माण गर्ने नीति लिनुपर्ने आवश्यकता औँल्याए।