डेढवर्षपछि सिंहदरबारमा फर्किनेछु : ओली
नेपालगन्ज २९ असार : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकाछन् ।
सर्वोच्च अदालत, संवैधानिक ईजलासको सोमबारको फैसला अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सोमबार सर्वोच्च अदालतले आज ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
यसैबीच, नवनियुक्त प्रधानमन्त्री देउवालाई आज बेलुकी प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गराउन लागिएकोछ । प्रधानमन्त्रीका रुपमा उनलाई शपथ गराउन लागिएको हो ।
यतिबेला उनको सपथ ग्रहणका लागि तयारी भइरहेको बुझिएकोछ । परमादेशका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुका ६ बजे शपथ ग्रहण गराउने भएकी हुन् ।
यता सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा मङ्गलबार देशबासीका नामा सम्बोधन गर्दै विदा भएका छन् ।
विदाइ सम्बोधनमा ओलीले सर्वोच्च अदालतको फैसलाप्रति आक्रोश पोखेका थिए । ओलीले विश्वमै पहिलो पटक बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका थिए । ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् ।
करिब एक घण्टा लामो सम्बोधनका क्रममा ओलीले आफूलाई डेढ वर्षपछि सिंहदरबारमा फर्किन कसैले नरोक्ने दाबी गरे ।
उनले आफ्नो सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी समेत गरेका थिए । उनले सरकारमा नरहे पनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने पनि बताए ।
प्रतिनिधि सभा चुनावपछि झण्डै दुई तिहाइ बहुमतको समर्थनमा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका थिए । पछिल्लो समय उनले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत पाएका थिएनन् ।
त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।