समुदायका समस्याप्रति सरोकारवालाको प्रतिबद्धता


समुदायका समस्याप्रति सरोकारवालाको प्रतिबद्धता

नेपालगन्ज २२ साउनः स्थानीय समुदायका समस्या तथा समाधानका पहलका बारेमा छलफल गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, विपत तथा सडक व्यवस्थापन र वाताबरण लगायतका विभिन्न सवालहरुमाथी छलफल गरि कार्यन्वयनका लागि पहल गरिएको हो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रद्वारा बिहीबार आयोजित साझा सभामा उठेका सवालहरुमाथी छलफल गरि भएका समस्यालाई सम्बोधन गर्न प्रतिबद्धता गरिएको थियो ।

कार्यक्रममा बाँकेको डुडुवा गाउँपालिकामा शिक्षा क्षेत्रतर्फ अम्रहवा विद्यालयमा विद्यार्थीको न्यून संख्या, नियमित शिक्षक अनुपस्थित, विद्यार्थी ड्रपआउट, मदरसा शिक्षामा कक्षा स्वीकृति, विषयगत शिक्षक दरबन्दी, दिवा खाजा कृषितर्फ कृषक अनुदान, रासायनिक मल वितरण, सिचाईका समस्या, कोरोनाविरुद्धको खोपको व्यवस्थापन, गाउघर किल्निक तथा खोप व्यवस्थापन, भेरी डिस्टलरीबाट निस्कने दुर्गन्धीत फोहरले पारेको असर, टिप्पर आतंक तथा राप्ती र डुडुवा पुल जीर्ण र आवतजावतमा यात्रुलाई सास्ती लगायतका विषयमा समुदायका सहभागिहरुले आ–आफना समस्याहरु राखेका थिए ।

सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले मुलुक संघीय पुर्नसंरचनामा गएको खुशीको कुरा हो तर स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनका लागि कानून, नीति, नियमको प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारका काम कारवाही गुणस्तरीयता तथा प्रभावकारिताका बारेमा अनुगमन गर्न जरुरी रहेको भन्दै स्थानीय तह अन्र्तगत पनि अनुगमनको प्रभावकारी संन्यत्र निमार्ण गरि कार्य गर्नुपर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

डुडुवाका कार्यपालिका सदस्य लिलावती यादवले कार्यक्रममा उठेका विभिन्न सवालहरुलाई विषयगत शाखाबाट समाधान हुन नसकेका सवाललाई कार्यपालिका बैठकमा छलफल गरि समाधान तर्फ पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

सभामा आएका सवाल तथा समस्याहरु प्रति जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादव, कृषि ज्ञान केन्द्रका अधिकृत रामप्रकाश यादव, गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जय कर्ण, कृषि शाखा प्रमुख सुशिल शर्मा, स्वास्थ्य शाखा फोकल पर्सन हेमन्त शर्माले आएका कुराप्रति जवाफ दिदै कार्यन्वयनका लागि प्रतिबद्धता ब्यक्त गरेका थिए ।