नेपालगन्जमा छात्रा कलेज सञ्चालनका लागि समिति गठन


नेपालगन्जमा छात्रा कलेज सञ्चालनका लागि समिति गठन

नेपालगन्ज ३० साउन : नेपालगन्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेज सञ्चालनका लागि सञ्चालक समिति गठन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सञ्चालक समितिका अध्यक्ष विजय गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरे ।

सो अवसरमा नगर प्रमुख राणाले महिला कलेज सञ्चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदँै उपमहानगरपालिकाको परियोजना भएपनि यसको सञ्चालन उपमहानगरपालिकाको प्रत्यक्ष नियन्त्रण भन्दा स्वायत्त होस् भन्ने चाहना आफुहरुको रहेको बताए ।

उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज सञ्चालन गर्न लागिएको राजनीतिक प्रभाव विना निष्पक्ष भएर काम गर्न आग्रह गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिकाले मंगलप्रसाद उच्च माविमा कलेज स्थापनाका लागि ४० कोठे भवन तयार पारेको छ । यस वर्र्ष बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालन अनुमतिका केही दिनमै प्रस्तावनापत्र मध्यपश्चिम विश्व विद्यालयमा पेश गरिने नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख वहादुर थापाले बताए ।

नेपालगन्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो ।

मधेसी आयोगका सदस्य समेत रहेका गुप्ता अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा रविन्द्र कर्ण, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौसलकुमार धोवी, मोहम्मद खालिद ईकवाल ईराकी, चन्द्रशेखर पाण्डे, दीपाली टण्डन गुप्ता रहेकाछन् ।

समितिको सदस्य सचिव क्याम्पस प्रमुख र शिक्षा महाशाखाबाट पनि समतिमा प्रतिनिधित्व हुनेछ ।

यसैगरी नगर प्रमुख डाक्टर धवल शम्शेर राणाको संयोजकत्वमा डाक्टर एम किदवाई, डाक्टर कौशलकुमार वर्मा, परवेज अली सिद्धिकी र सशी स्वार रहेको सल्लाहकार समिति गठन गरिएको छ । उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा अनूगमन समिति गठन भएको छ ।