फुलटेक्रा माविद्वारा भवन निर्माणको विवरण सार्वजनिक

८९ लाख १३ हजार ७०९ रुपैयाँ खर्च


फुलटेक्रा माविद्वारा भवन निर्माणको विवरण सार्वजनिक

नेपालगन्ज ३१ साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ फुलटेक्रास्थित प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय फुलटेक्रा माविले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण सार्वजनिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत वर्माको सभापतित्व एंव जिल्ला समन्वय समितिका संयोजक समेत रहेका विद्यालयका कानूनी सल्लाहकार अजय श्रीवास्तवको प्रमुख आतिथ्यतामा नयाँ भवन तथा शौचालय निर्माणको विवरण सार्वजनिक गरिएको हो ।

निर्माण सम्बन्धि प्रगति, निर्माणको क्रममा आई परेका समस्या तथा आर्थिक विवरण बारे विद्यालय व्यवस्थापन समितिका सदस्य ओम प्रकाश श्रीवास्तवले प्रकाश पारेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै अजय कुमार श्रीवास्तवले स्थानीय नगरपालिकाले प्रस्ताव गरेमा यस विद्यालयलाई सक्दो सहयोग प्रदान गर्ने वचनबद्धता व्यक्त गरेका थिए ।

बाँकेको स्थानीय निजी गुठी श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारी विशेष रुपले जग्गादाता माधवराम वर्मा, ओम प्रकाश श्रीवास्तव बिच करिब दुई वर्षदेखिको सकारात्मक वार्ताको परिणामस्वरुप केही शर्त सहित करिब सात करोड मूल्य बराबरको जग्गाको भोगाधिकार विद्यालयलाई निःशुल्क प्राप्त भएको जानकारी दिइएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

तत्कालीन बिनौना गाउँबासी स्वर्गीय लौघर महतोद्वारा फुल्टेक्रा गाउँमा रहेको दुई कोठे भवन विद्यालयलाई प्रदान गरि संवत २०११ सालमा कक्षा ८ सम्मको फुल्टेक्रा मिडिल स्कूलको नामले विद्यालयको स्थापना भएको जानकारी गराइएको थियो ।

जग्गा प्राप्ति पछि कम्तीमा पनि १७ कोठाको नयाँ भवन, शौचालय, निर्माणस्थलको जग्गा अत्यन्त खाल्टोमा रहेकोले माटो पटान तथा बाउण्ड्री वालको लागि दाताको खोजी गर्ने अनुरोध गरिएको छ ।

सोही अनुसार पालिकाले चारकोठे दुईवटा भवन र शौचालय दुईको लागि आर्थिक सहयोग उपलब्ध गराएको हो । भवन निर्माणका लागि प्रति ४ कोठाको एक भवनका लागि ३६ लाख तथा शौचालय निर्माणका लागि ७ लाख दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीवास्तवले बताए ।

प्रति भवनमा ४ कोठा रहेकाछन् । दुई तले भवन निर्माणका लागि प्रति भवन ३६ लाख गरि ७२ लाख जनश्रमदान २ लाख ९८ हजार ७३२ गरि लाख ९७ हजार ४६४ रुपैयाँ खर्च भएकोछ ।

यस्तै शौचालय निर्माणका लागि १४ लाख, जनश्रमदान ६९ हजार ८१७ गरि कुल १४ लाख ६९ हजार ८१७ रुपैयाँ खर्च भएकोछ ।

यसैगरी विद्यालय क्षेत्रमा माटो पटानका लागि नेपालगन्ज उपमहानगरपालिकाबाट ३ लाख २५ हजार र जनसहभागिता तर्फबाट १८ हजार ७८ रुपैयाँ गरि कुल ३ लाख ४३ हजार ७८ रुपैयाँ खर्च भएकोछ ।

विद्यायलयको भवन, शौचालय र माटोपटानका लागि ८६ लाख ८८ हजार ७ रुपैयाँ प्राप्त भएपनि कुल ८९ लाख १३ हजार ७०९ रुपैयाँ खर्च भएको विद्यालयले जनाएकोछ ।
भवन निर्माणकार्यको लागि स्टीमेटमा नभएको तर, निर्माणको क्रममा नभै नहुने कार्य जस्तै पानीको व्यवस्थापन, विद्युत, पाईप, निर्माण स्थलमा निर्माणको काम आरम्भ गर्दा माटो पटान आदिमा लाग्ने खर्च विद्यालयले आफैले वेहोरेको उनको भनाइ छ । उक्त कार्यक्रममा जग्गादाता माधमराम वर्मालाई सम्मान गरिएको थियो ।

माविसम्म अध्यापन हुने फुल्टेक्रा विद्यालयमा ३५० जना विद्यार्थी संख्या रहेकोछ । भने मावि शिक्षक ४ जना, निमावि शिक्षक ४ जना, प्रावि शिक्षक ६ जना, बालविकास एक जना, एक जना लेखापाल र २ जना कार्यालय सहयोगी कर्मचारी रहेकाछन् ।

कार्यक्रममा जग्गा दाता संस्थाका अध्यक्ष माधबराम वर्मा, वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली बहादुर खडका, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, नेपालगन्ज उपमहानगरपालिकाका प्राविधिक प्रमुक भुपेन्द्र बोहरा, इन्जिनियर चन्दन दास, सहायक इन्जिनियर शुभम वैश्य, विद्यालयका पदाधिकारी र स्थानीय हरुको उपस्थिति रहेको शिक्षक विरेन्द्र यादवले जानकारी दिए ।